गोरेको बयान लिइँदै - Pahilo Online

गोरेको बयान लिइँदै

writer

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएको चुँडामणी उप्रेती (गोरे)लाई आज अदालतमा बयान लिइँदैछ । गोरेको बयान सकिएपछि सम्भव भए आजै वादी र प्रतिवादीको तर्फबाट थुनछेक बहस हुने अदालतले जनाएको छ । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरेलाई जिल्ला अदालत मोरङमा हिंजो अर्थात मंगलबार पेश गरिएको थियो ।

मंगलबार बिहान काठमाडौंबाट पक्राउ परेका उनलाई मंगलबार नै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो । काठमाडौंको गौरिघाटमा पक्राउ परेका अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाईन्सको उडानबाट हिंजै विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा हाजिर गराउँदा मंगलबार समय अभाबले उनको बयान लिन र थुनछेक सुनुवाई गर्न नसकिएको भन्दै अदालतले बुधबार हाजिर गर्नेगरी हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

मोरङ जिल्ला अदालतमा गोरेसहित ६३ जनाविरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ । गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग छ ।

२८ जना कारागार चलान

यसैबीच ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका २८ जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

थुनछेकको बहसमा जिल्ला अदालतले पक्राउमध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बरबहादुर थापालाई मात्र साधारण तारेखामा छोड्न मंगलबार आदेश दिएको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो । कारागार चलान हुनेमा निलम्बित एसएसपी दिवेश लोहनी, निलम्बित एसपी विकासराज खनाल, निलम्बित डिएसपी संजय राउत, प्रजित केसी, निलम्बित सई बालकृष्ण संजेल, भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरीलगायतलाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ ।

प्रहरी जवानद्वय अमरबहादुर थापा र विष्णबहादुर खड्का भने तारेखमा छुटेका छन् । घटनामा मुछिएका फरार एसएसपी श्याम खत्रीका ड्राइभर खड्काले राजीखुसीले तस्करी गरेको नदेखिएको भन्दै तस्करबाट लिएको भनिएको १५ हजार धरौटी लिएर छोड्न आदेश भएको श्रेस्तेदार गौतमले जानकारी दिनुभयो ।

यस्तै तारेखमा छाडिएका अमरबहादुर थापा खत्रीका अंगरक्षक हुन् । खड्काले आफ्नो बयानमा थापाले पनि तस्करीको सुन स्कर्टिङमा गर्ने बयान दिएको तर, प्रमाणित नभएको र रकम लिएको नदेखिएको भन्दै सहअभियुक्तको पोलका आधारमा थुनामा राख्न र धरौटी लिन नमिल्ने ठहर गरेको छ । उनी साधारण तारेखमा छुटेका छन् । सुन तस्करीको अभियोगमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये ३२ जना फरार छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes