
विराटनगर । आफैंले पास गरेको प्रदेशसभा नियमावली उल्लंघन गर्दै १ नम्बर प्रदेशसभाका एक सांसद गम्भीर फौजदारी मुद्दाको अभियुक्तको पक्षमा उभिएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गरिएको अवैध सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सांसद लिलाबल्लभ अधिकारी उभिएका हुन् ।
कानुन व्यवसायीसमेत रहेका अधिकारीले आइतबार सो मुद्दाको अभियुक्तको पक्षमा जिल्ला अदालत मोरङमा बहस गरेका छन् । सांसद अधिकारीकै नेतृत्वमा रहेको समितिले तयार गरी पास गरेको प्रदेशसभा नियमावलीमा समाजमा विद्यमान सामाजिक नैतिकता र आचारणको पक्षमा सबै सांसदहरु उभिने स्पष्ट उल्लेख भएपनि विवादित सरकार वादी मुद्दामा सांसद अधिकारी अभियुक्तको पक्षमा उभिएपछि धेरै चकित बनेका छन् ।
जिल्ला अदालत मोरङको इजालसमा जारी थुनछेक बहसमा आइतबार प्रतिवादी नेपाल प्रहरीका निलम्बित सही बालकृष्ण सन्जेलको पक्षमा अधिकारीले बहस गरेका हुन । पहुँच र पैसावाल अभियुक्तको पक्षमा बहस गर्न नाम चलेका वकिलको लर्को लागेको बेला संसद अधिकारी पनि सोही भिड्मा देखिएका हुन ।
राज्य संचालनका तीन अंगमध्ये कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एक अर्काका लागि कानून कार्यान्वयन्यन र विधिको शासन स्थापित गराउन चेक एण्ड ब्यालेन्सको भूमिकामा रहन्छ । सरकारवादी मुद्दामा व्यवस्थापिका संसदका सदस्य नै अभियुक्तको पक्षमा बहसमा उत्रनु अशोभनीय र नैतिकताले नदिने कतिपयको भनाइ छ ।
बहसका क्रममा अधिकारीले सुन तस्करी र सनम शाक्य हत्याको मुख्य अभियुक्त मानिएका सइ सन्जेल राम्रो र इमान्दार प्रहरी भएको दाबा गर्दै उनलाई फसाउन खोजिएको बताए । माथिल्लो निकायबाट आएको निर्देशन बमोजिम प्रहरी अपराधि पक्राउ गर्न आउँदा सञ्जेललाई फसाएको अधिकारीको जिकिर छ ।
प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा केही दिन अगाडी बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुन तस्करी र हत्यामा संलग्नलाई पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग राखेका थिए । तर, त्यही संसदका एक जना सदस्य भने अभियुक्त पक्षमा बहस गर्न आएका चर्चित वकिलहरुको भीडमा पुगेका छन् ।
आइतबारसम्म ५४ जना प्रतिवादीतर्फका कानुन व्यवसायीले प्रतिरक्षा गर्दै बहस गरेका छन् । आइतबार मात्रै ८ जना कानून व्यवसायीले प्रतिवादीको पक्षमा बहस गरे । आइतबार बहस गर्नेमा अधिवक्ता भरतबहादुर थापाले एक दर्जन प्रतिवादीको तर्फबाट बहस गर्नुभयो । उहाँले पूर्व डिआइजी गोविन्द निरौला, निलम्बनमा परेका एसपी विकासराज खनाल, राजेन्द्र कुमार शाक्य, बालकृष्ण श्रेष्ठ, भुजुङ गुरुङ, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, विरेन्द्रमान श्रेष्ठ, समिर तोलाङगे, लालबहादुर मगर र तुलाराम थारुको पक्षमा बहस गर्नुभयो ।
त्यस्तै अधिवक्ता भक्तिनाथ माझी र मधुसुदन चौधरीले कपिलराज पुरी र अम्बरबहादुर थापा मगरको पक्षमा बहस गर्नुभयो । अधिवक्ता मोहन कोइरालाले विकासराज खनालको पक्षमा बहस गर्नुभयो भने अधिवक्ता अशोक पोखरेलले गोविन्द निरौलाको पक्षमा बहस गर्नुभयो । त्यस्तै उद्धबचन्द्र घिमिरे र पुरुषत नेपालले आठ जना एयरलाइन्सका कर्मचारीको पक्षमा बहस गर्नुभयो । घिमिरे र नेपालले गोपाल कुमार श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, समिर प्रसाद तोलाङगे, तक्ले भन्ने पुन्यप्रसाद लामा, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौत र एलबी भन्ने लालबहादुर मगरको पक्षमा बहस गर्नुभयो ।
वादीको तर्फबाट सरकारी वकिलहरुले बहस वैशाख २८ गते सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले २९ वैशाखदेखि प्रतिरक्षा गर्दै बहस गर्न सुरु गरेका हुन् । यो मुद्दाका ६३ प्रतिवादीमध्ये मोरङ प्रहरीको न्यायीक हिरासतमा रहेका ३० जनाको तर्फबाट प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्दै आएको हप्तादिन पुगेको छ । सम्भवतः सोमबारसम्ममा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिने र सरकारी वकिलले प्रतिउत्तर दिने तयारी रहेको सरकारी वकिलको कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिउत्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा सरकारी वकिलको समूह बनाइएको छ । यो समूहमा मोरङका न्यायाधिवक्ता पुण्य पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती छन् । यो बहस सकिएपछि न्यायाधीशबाट अभियुक्तहरुलाई थुनामै राखेर पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्नेबारे आदेश हुनेछ ।