अबैध काम नपाएपछि गाउँपालिका घेराउ - Pahilo Online

अबैध काम नपाएपछि गाउँपालिका घेराउ

कृषि प्रयोजनका ट्याक्टरको दुरुपयोग

writer

पहिलो अनलाइन

विराटनगर । कृषि प्रयोजनका लागि भनेर भन्सार छुटमा ल्याइएका ट्याक्टरको दुरुपयोग बढेको छ । सरकारले कृषि प्रयोजनका लागि १३ प्रतिशत कर छुट दिएको थियो ।

कर छुटमा ल्याइएका ९० प्रतिशत ट्याक्टरहरू बालुवा, ढुंगा, गिट्टी, इँटा ओसार पसारमा लगाइएको छ्याप्छ्याप्ती पाइन्छ । किसानका खेत र बारीमा काम गर्ने ट्याक्टर अहिले सडकमा भेटिन्छन् । त्यसमध्ये पनि अवैध ढंगले सञ्चालन भइरहेका क्रसर उद्योगले ट्याक्टरको दुरुपयोग गरिरहेका छन् ।

विराटनगरका युवा व्यवसायी प्रसान्त तातेडका अनुसार मोरङमा मात्रै प्रत्येक वर्ष १ हजार र कोशी अञ्चलभरीमा १५ सयको हाहारीमा नयाँ ट्याक्टर थपिने गरेका छ्न । कृषि प्रयोजनको लागि छुटमा भित्रिएका ट्याक्टर दुरुपयोग भएपछि सरकारले चालु आर्थिक वर्षदेखि ट्याक्टरमा कर छुट दिन बन्द गरेको छ ।

तर, चालू आर्थिक वर्षभन्दा अगाडि बिक्री भएका अधिकांश ट्याक्टरहरु कृषि प्रयोजनमा खरिद गरिएको थियो । ‘किसानले फुर्सदको समयमा बालुवा गिट्टी बोकेको हुनसक्छ, तर कर छुट भएका ट्याक्टरले त्यसो गर्नु हुँदैनथियो,’ तातेडले भन्नुभयो, ‘इँटा उद्योग र हाइड्रोपावर तथा अन्य आयोजनाले खरिद गरेका ट्याक्टर भने कर तिरेरै खरिद गरेको पाइएको छ ।’

अबैध काम नपाएपछि गाउँपालिका घेराउ

यसैबीच कृषि प्रयोजनमा ल्याइएका अधिकांश ट्याक्टर व्यवसायीले ढुंगागिट्टी बोक्न पाउनुपर्ने माग गर्दै आइतबार केराबारी गाउँपालिका घेराउ गरेका छन् । गाउँपालिकाले अबैध ढंगले चुरे तथा खोलाबाट ढुंगा गिट्टी उत्खनन्को कार्य अत्याधिक बढेपछि उक्त कार्य रोक्न आदेश दिएको थियो । आदेशको विरोध गर्दै ट्याक्टर व्यवसायीले क्रसर व्यवसायीको उक्साहटमा लागेर गाउँपालिका घेराउ गरेका हुन् ।

ट्याक्टर व्यवसायीले खोला दोहन र चुरे क्षेत्रमा पनि ढुंगा संकलन गर्न पाउनुपर्ने माग राखेका छन् । कृषि प्रयोजनका ट्याक्टर यसै पनि दुरुपयोग भएको आरोप लागिरहँदा उल्टो ढुंगा–गिट्टी उत्खनन् र बोक्न पाउनुपर्ने माग नाजायज भएको स्थानीयको भनाइ छ । ट्याक्टर व्यवसायीले गाउँपालिका कार्यालय आइतबार बिहान ९ बजेदेखि घेराउ गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष रोहित कार्की स्वयं र अन्य तीन जना वडाध्यक्ष क्रसर उद्योगका मालिक रहेका कारण आफ्नै कार्यालय घेराउ गर्न ट्याक्टर व्यवसायीलाई उक्साउन अप्रत्यक्ष रुपमा लागेको स्थानीय बताउँछन् । शनिबार साँझ सुन्दरहरैंचा नगरपालिकास्थित दुलारीमा रहेको गोकर्ण रिर्सोटमा क्रसर सञ्चालक र केही ट्रिपर व्यवसायी समेतको जमघट भएको थियो । रात्रिभोज र मदिरासहितको सो जमघटकै योजनामा गाउँपालिका घेराउ गरेको स्रोतको दावी छ ।

क्रसर र ट्रिपर सञ्चालकहरुले खोला बन्द गर्न नदिने र बन्द गरे विकास निर्माणको काम नै प्रभावित पारिदिने गरी अघि बढ्ने विषयमा योजना बनाएको बुझिएको छ । उनीहरुले गाउँपालिकाले बन्द गराएको खदम खोला सञ्चालनमा ल्याउनका लागि गाउँपालिकामा दबाब सिर्जना गर्ने र सहमतिको वातावरण बनाएर पुनःखोला सञ्चालनमा ल्याउने तयारी गरेका छन् । योजनाअनुसार ट्रयाक्टर व्यवसायीलाई आन्दोलनका नाममा अगाडि सारिएको स्थानीय बताउँछन् ।

शनिबार उनीहरुले गाउँपालिका उपाध्यक्ष शान्ति भुजेलको निवास घेराउ गरेका थिए । भुजेलकै पहलमा क्रसर बन्द गराउने पत्र काट्न अध्यक्ष कार्की बाध्य भएका थिए । ट्याक्टर सञ्चालकले गाउँपालिका अध्यक्ष कार्कीको घर भने घेराउ गरेका छैनन् ।

गाउँपालिका घेराउबारे प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले कानून अनुसार अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । केरावारी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको उहाँको भनाइ छ । ‘हुल–हुज्जत गर्न खोजे र भौतिक आक्रमणमा उत्रिए प्रहरी शान्ति सुरक्षा कायम गर्न कठोर बन्नसक्छ,’ उहाँले भन्नुभयो ।

खोलाबाट उत्खनन् रोक्ने पत्र गाउँपालिका अध्यक्ष रोहित कार्कीको नाममा काटिएको थियो । तर, ट्याक्टर व्यवसायीले कार्कीको घर घेराउ नगरेको विषयलाई स्थानीयले अर्थपूर्ण रुपमा लिएका छन् ।

उनीहरुले क्रसर सञ्चालक समेत रहेका कार्कीलाई दोहन रोक्न चौतर्फी दबाब बढेपछि दोहन रोक्न पत्र काटेका थिए । तर, आफ्नोसहित अन्य क्रसरलाई समस्या हुने देखेपछि कार्की र व्यवसायी भीम पौडेललगायतको उक्साहटमा खोला दोहन जारी राख्न ट्याक्टर सञ्चालकलाई प्रयोग गरिएको स्थानीयले दाबी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति बनाएर छानविन थालेपछि मात्रै कार्कीले खोलाबाट उत्खनन् रोक्न पत्र काटेका थिए । खदम खोलामा सञ्चालित तीनवटै क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा छन् । महादेव क्रसर, कृष्ण क्रसर र ओम क्रसर मापदण्ड विपरित खोला क्षेत्रमै सञ्चालनमा रहेका छन् ।

जनप्रतिनिधिले नै सञ्चालन गरेका ती क्रसर उद्योगले वर्षौदेखि मापदण्ड विपरित खोला तथा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी गर्दै आएको छ । खोला क्षेत्रबाट उत्खन्न गरिँदै आएको ढुंगा गिटी ओसारपसारमा भने कृषि प्रयोजनाका लागि भनी भन्सार छुटबाट भित्राइएका ट्रयाक्टरको प्रयोग हुने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes