
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ ।
मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विनालगानी साझेदार बनेको पाइएको छ । व्यवसायीहरुले शक्ति र पदको आडमा फागोलाई शेयरको हिस्सा दिएका छन् । उर्लाबारीका केही निजी विद्यालय र अस्पतालमा पनि मेयर फागो बिनालगानी साझेदार छन् ।
मेयर फागोका भाञ्जा सुरेन्द्र लिम्बू मुख्य सञ्चालक रहेको उर्लाबारी १ स्थित पूर्वेली क्रसर उद्योगमा विनालगानी फागोले १२ प्रतिशत साझेदारी पाएका छन् । पदको आडमा मेयर फागोले मापदण्ड विपरित सो क्रसर उद्योगलाई सञ्चालन गर्न अनुमति दिएवापत शेयर प्राप्त गरेको स्रोतले जनाएको छ । क्रसर सञ्चालन समूहका अध्यक्ष गोविन्द भट्टराईका अनुसार पूर्वेली क्रसर करिब ७ करोड रुपैयाँ लगानी गरी सञ्चालनमा आएको हो ।
सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहेपनि बक्राहा खोलाकै धारमा डेढ महिनाअघि सो क्रसर उद्योग सञ्चालन गरिएको छ । गुम्बा, विद्यालय र मानव वस्तीकै बीचमा क्रसर सञ्चालन भएको विषयमा जानकारी गराउँदा उर्लाबारी १ का वडाअध्यक्ष मचिन्द्र कार्कीलाई मेयर फागोले हप्किदप्की गर्दै थर्काएका थिए ।
सो क्रसर खुलेसँगै स्थानीयबासीको बालीनाली धुलोले ढाकिएको छ भने दिनहुँ गुड्ने ट्रिफरका कारण ग्रामीण सडकको अवस्था दयनीय बनेको छ । विद्यालय जाने बालबालिकाहरु ट्रिफरका कारण दुर्घटनाको जोखिममा पर्ने गरेका छन् भने धुँलोको कणका कारण मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने अवस्था छ ।
नगरपालिकामा आउने सेवाग्राहीसँग सेटिङकै भरमा विनालगानी मेयर फागो विभिन्न ब्यवसायिक संस्थामा साझेदार बन्ने गरेका छन् । उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले सार्वजनिक कार्यक्रममा मेयरको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएका छन् ।
केही साता अघि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र प्रदेश सांसद कुशल लिम्बूसहित मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायतको टोलीले मेयर फागोको अगुवाईमा भएको सोल्टी र मिक्लु खोला दोहनको निरीक्षण गरेका थिए । ती खोलामा च्यानल निर्माणको नाममा नगरपालिकाबाट लाखौं बजेट छुट्याएर झ्वाम पारी गिटी बालु क्रसर उद्योगलाई फागोले बिक्री गरेको सार्वजनिक भएको थियो ।