
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर विष्ट अनुसन्धानमा उत्कृष्ट ठहरिएका छन् । मोरङमा पछिल्लो समय भएका विभिन्न अपराधिक क्रियालपमा सफल अनुसन्धान गरेको भन्दै हवल्दार विष्ट १ नम्बर प्रदेशबाट ‘पुलिस अफ द मन्थ’ ले सम्मानित भएका हुन् ।
प्रदेश नम्बर १ विराटनगर प्रहरी नायब महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाहले विष्टलाई उत्कृष्ट प्रहरी भएको शुक्रबार घोषणा गरेका हुन् । मोरङ जिल्लामा भएका जघन्य प्रकृतिका अपराध, कर्तव्य ज्यान, ठगी, गोली प्रहार, लुटपाटमा उनले सफल अनुसन्धान गरेको बताइन्छ । हवल्दार विष्टले भाइबरमार्फत चिठ्ठा प¥यो भन्दै लाखौं रूपैयाँ ठगी गर्ने गिरोहका मुख्य नाइकेलाई ठूलो परिणाको नगदसमेत पक्राउ गरेका थिए ।
उनले विराटनगरमा २० वर्षीय विनोद यादवलाई हत्या गरेको घटना होस् या कटहरी गाउँपालिकाको सासु–बुहारी हत्या हाण्डको विषयमा पनि सफल अनुसन्धान गरेका थिए ।
उनै विष्टको कमाण्डमा प्रहरीले पछिल्लो समय धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले धर्मगुरु श्रीनिवासाचार्यले आफैंले आफैंलाई गोली प्रहार गर्न लगाउने अभियुक्त पक्राउ गर्न समेत सफल भएको थियो । प्रहरी हवल्दार विष्टलाई यसअघि पनि प्रदेश प्रहरीले सफलता पूर्वक अनुसन्धान गरेको भन्दै उत्कृष्ट प्रहरीबाट सम्मान पाएका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्सान र हौसला प्रदान गर्न प्रत्येक महिना पुलिस अफ द मन्थबाट सम्मान गर्दै आएको छ ।