नरग्राम माविमा भ्रष्टाचार - Pahilo Online

नरग्राम माविमा भ्रष्टाचार

विद्यालय व्यवस्थापन समितिका सदस्य भन्छन्, विद्यालयको सटरभाडादेखि भौतिक संरचना निर्माणमा लाखौं अनियमितता भएको छ

writer

विराटनगर । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको आरोप लागेको हो । अनियमितताको विषयमा लेखापरीक्षण गर्नेहरूले नै लेखा प्रणाली अव्यवस्थित रहेको र मनपरी भएको दाबी गरेका छन् ।

विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्दा होस् या आन्तरिक आम्दानीमा मनपरी गरेको विद्यालय व्यवस्थापन समितिकै सदस्य तथा पदाधिकारीले बताएका छन् । विद्यालयको गत आर्थिक वर्ष २०७२/०७३ को आय–व्यय विवरणमा २ लाख ६९ हजार ५ सय ७२ रुपैयाँ बराबरको रकमको खर्च विवरण देखाउन नसकेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिले अनियमितता र खर्च विवरणबारे असन्तुष्टि चुलिएपछि निर्माण गरेको सामाजिक लेखा परीक्षण समितिले सो बराबरको रकम बेजुरु भएको जनाएको हो ।

‘भवन निर्माणका क्रममा भएका खर्च उल्लेख गर्ने कुनै कागज प्रमाण नहुँदा लेखा समितिले बिना आधार र प्रमाण खर्च लेखिदिएको छ,’ सामाजिक लेखा परीक्षण समितिका सदस्य भोजराज घिमिरेले भन्नुभयो, ‘कागजका आधारमा होइन मुखको आधारमा खर्च लेखिएको छ, कतिपय ७२ सालको खर्चको बिल अहिले ल्याइएको छ ।’ विद्यालयले निर्माण गरेको भवन तथा भौतिक सम्पत्ती खरिद गर्दा भ्याट बिल मार्फत कारोबार गरिएको छैन । सामान खरिद गर्दाको भौचर पनि छैन ।

विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु चालिसेले प्रधानाध्यापक राजनीतिमा लागेका कारण विद्यालयको अवस्था बिग्रिरहेको बताउनु भयो । ‘विद्यालयका प्रअले बिहान देखि बेलुका सम्म राजनीति गर्दा ठिक्क हुन्छ,’ चालिसेले भन्नुभयो, ‘भएका निर्णय प्रायजसो उहाँकै इच्छामा भएको छ विद्यालयको हितमा एउटा पनि भएको छैन ।’

उहाँले विद्यालयले खरिद गरेको ल्याबको सिलिण्डर हराएको, विद्यालयको भवन निर्माणका क्रममा चरम लापरबाही भएको र ट्वाइलेट निर्माण सम्पन्न नगरी पैसा निकासा गरेर खाएको दाबी गर्नुभयो । स्थानीय नेता जित नारायण थापाले शिक्षकको तलबबाट कट्टा गरेको १४ लाख भन्दा बढी रकमको खर्च नदेखाइएको बताउनु भयो । ‘विद्यालयले करारमा राखेका २ जना शिक्षकको तलबबाट आधा कट्टा गरिएको ३ वर्षको पैसा कहाँ खर्च भयो देखिएको छैन,’ थापाले भन्नुभयो, ‘न आयदेखाइएको छ, न व्ययको हिसाव छ, ब्रम्हलुट मच्चाइएको छ यहाँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद कोइरालाले आफूले स्कुलमा सुशासन र शैक्षिक गुणस्तर कायम गर्न लागेको बताउनु भयो । आफू नेतृत्वमा आएपछि अनियमितताको शंका लागेर छानविन गर्दा २ लाख ६९ हजार बराबरको रकम बेरुजु देखिएको बताउनु भयो । ‘अनियमितताको शंका लागेर सामाजिक लेखा परीक्षण समिति बनाइयो, छानविन गर्दा अनियमितता पाइएको छ,’ उहाँले भन्नुभयो, ‘पहिलेका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा धेरै अनियमितता भेटिएको छ ।’

विद्यालयले आफ्नो साढे ५ विगाहा जग्गा ठेक्कामा दिएको छ । विद्यालयको भवनको ७ वटा सटर भाडामा लगाएको छ । तर, २ लाख १५ हजारमा लगाइएको सटर भाडा विद्यालयको आम्दानीमा भने १ लाख २० हजार मात्रै दाखिला हुने गरेको व्यवस्थापन समितिकै सदस्यको दाबी छ । आर्थिक वर्ष २०७३÷०७४ मा विद्यालयमा बनेको भवन ४८ लाख लगत स्टिमेटको हो । तर, ६५ लाख रुपैयाँ खर्च गरिएको छ । यस्तै साढे ५ लाख रुपैयाँ पर्ने विद्यालय परिसरमा निर्माण भएको शौचालय निर्माण नै नसकी साढे ६ लाख रुपैयाँ सकेको विद्यालय व्यवस्थापन समितिकै पदाधिकारी तथा सदस्यले बताएका छन् । नैतिकताको पाठ पढाउने विद्यालयमा भएको अनियमितता र भ्रष्टाचारको छानविन हुनुपर्ने उनीहरुको माग छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes