एक वर्षभित्रमा विराटनगरमा रेल गुड्ने - Pahilo Online

एक वर्षभित्रमा विराटनगरमा रेल गुड्ने

आउँदैछ रेल...

writer

विराटनगर । विराटनगरमा रेल आउला ? त्यो सपनामै सीमित होला कि ? धेरैले गर्ने प्रश्न हो । तर, अबको १ वर्षभित्रमा विराटनगरबासीले रेल कुदेको हेर्न पाउनेछन् ।

प्रारम्भिक चरणमा मालबहाक रेल आउनेछ । नेपालतर्फको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए अबको १ वर्ष अर्थात २०१९ मार्च महिनासम्ममा विराटनगरमा रेल आउनेछ । भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । अहिले नेपालतर्फ धमाधम लिक विछ्याउने काम भइरहेको छ ।

कुल ३ सय ७३ करोड भारतीय रुपैयाँको लगानीमा बन्ने रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । निर्माण कम्पनीका मेनेजर डाइरेक्टर प्रदीपकुमारले आउँदो अक्टोबरसम्ममा नेपालको सीमासम्ममा रेल आउने जानकारी दिनुभयो । ‘नेपालमा जग्गाको समस्या समाधान भए आउँदो मार्चसम्ममा कटहरीसम्म रेल कुदेको तपाईहरुले हेर्न पाउनुहुनेछ,’ प्रदीपकुमारले भन्नुभयो ।

नेपालमा निर्माणाधिन अवस्थामा रहेको एकीकृत भन्सार जाँच चौकी छेउमा भने आउँदो अक्टोबरसम्ममा रेल आउनेछ । उक्त स्थानमा अहिले धमाधम रेल स्टेशन निर्माण भइरहेको छ । प्रदीपकुमारका अनुसार बथनाहादेखि १/२ दिनदेखि रेलको लिक बिछ्याउने काम सुरु हुँदैछ । बिचको रेल्वे लाइन निर्माणको काम धमाधम भइरेको छ ।

गत मार्च मसान्तसम्ममा आयोजनाको रकममध्ये २ सय १३ करोड रकम खर्च भइसकेको छ भने ६० करोड बराबरको रकमको काम कटहरी स्टेशनको जग्गा विवादले रोकिएको छ । जग्गा विवाद समाधान हुनेवित्तिकै उक्त रकम खर्च गर्ने क्रम सुरु हुनेछ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा काम हुन सकेको छैन ।

मुआब्जा विवाद समाधानको प्रयास भइरहेको नेपाल पक्षले जनाएको छ । ‘जिल्ला अदालतको जग्गाधनीले दिएको मुद्दाको पक्षमा फैसला गरेको छ, त्यसको पुनरावलोकनका लागि भन्दै सरकारले पुनः उच्च अदालतमा मुद्दा दायर गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भन्नुभयो, ‘अदालतको फैसला नआउँदा मुआब्जा वितरणको समस्या समाधान हुन सकेन, जसले गर्दा काम रोकिएको हो ।’

सरकारले निर्धारण गरेको जग्गाको मूल्यांकनका आधारमा मुआब्जा नलिने र चलनचल्तिका आधारमा मुआब्जा पाउनुपर्ने जग्गाधनीको मागलाई जिल्ला अदालतले सदर गरिदिएको थियो । अदालतको फैसलापछि जग्गाधनीले फैसला अनुसार मुआब्जा पाउनुपर्ने अडान लिएपछि समस्या थप भएको हो । ‘१५/१६ जना जग्गाधनीले अदालतको फैसला अनुसार मुआब्जा पाउनुपर्ने अडान राखिरहेका छन्,’ प्रजिअ आचार्यले भन्नुभयो, ‘मुआब्जा विवाद समाधानका लागि भारतका प्रतिनिधि, रेल्वे लाइन निर्माण कम्पनी, नेपाल पक्ष र जग्गाधनीसँग छलफल गरेर छिट्टै समाधान निकाल्ने प्रयास भइरहेको छ ।’

जिल्ला अदालतको फैसलापछि सर्वोच्च अदालतमा पुगेको मुद्दाको सुनुवाई छिटो भइदिए आयोजनाको काम छिट्टै सम्पन्न हुने सरकारको अपेक्षा छ । सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना लामो समयसम्म मुआब्जा विवादमा गुज्रिएको थियो । सन् २०१३ डिसेम्बरमा सम्पन्न गर्नेगरी भारतीय निर्माण कम्पनी इर्कनले ठेक्का लिएको सो काम विभिन्न अड्चन र ढिलासुस्तीले ७ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकिरहेको छैन ।

तेस्रो मुलुकबाट आयात हुने माल वस्तु कलकत्ता बन्दरगाहबाट विराटनगर नाकासम्म ल्याउन भारत सरकारले मालबाहक रेलको सुविधा भर्खरैदेखि मात्र अनुमति दिएको हो । तर, जोगबनीमा कन्टेनर राख्ने ठाउ“ नभएकाले कलकत्ताबाट रेलले ढुवानी गरेको मालबस्तु हाल बथनाहासम्म मात्रै ल्याउन सकिन्छ । रेलको लिक विछ्याउने काम चा“डै सकियो भने १ वर्षभित्र रेल सीमा क्षेत्रमा मात्रै नभएर कटहरीसम्म आउनेछ र त्यसबाट नेपाललाई ठूलो राहत हुने देखिन्छ ।

विराटनगरका उद्योगी व्यापारीले पटक–पटक बथनाहा–कटहरी रेलमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्यका लागि नेपाल सरकार र भारतीय पक्षसँग माग गर्दै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes