प्रतिवादीको पक्षमा वकिलको लर्को - Pahilo Online

प्रतिवादीको पक्षमा वकिलको लर्को

साढे ३३ किलो सुन र सनम हत्या प्रकरण

writer

पहिलो अनलाइन

विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ल्याएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । मुद्दामा ८ जना सरकारी वकिलको टिममले बहस गर्ने तय भएकोमा पहिलो दिन तीन जना सरकारी वकिलले बहस गरेका छन् ।

बिहीबार सहन्यायाधीवक्ता गोपाल रिजाल, जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठक र उच्च अदालतका निमित्त सहन्यायाधीवक्ता मनोज आचार्यले बहस गरेका छन् । अन्यले शुक्रबार बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ । वादी नेपाल सरकारको पक्षमा सहन्यायाधीवक्ता चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद सापकोटा, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्तीले शुक्रबार बहस गर्नेछन् ।

वादीको तर्फबाट सरकारी वकिलले बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने मोरङ जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार ३० जना प्रतिवादीको तर्फबाट बहस गर्न बिहीबारसम्म ७९ जना कानुन व्यवसायीले मोरङ अदालतमा वकालतनामा दर्ता गराएका छन् । बुधबार ४३ जना वकिलले वकालतनामा गराएका थिए ।

पहुँवाला र पैसावाल प्रतिवादी रहेकोले उनीहरुको पक्षमा बहस गर्ने वकिलको संख्या अझै बढ्नसक्ने देखिएको छ । बहस गर्नुभन्दा केही बेरसम्म वकालतनामा दर्ता गर्न पाउने व्यवस्था छ । एक जना प्रतिवादीले ३ देखि ४ जनासम्म कानुन व्यवसायी राखेका छन् ।

प्रतिवादीको तर्फबाट बहस गर्न अभियुक्तले काठमाडांैदेखि नाम चलेका दर्जन बढि कानुन व्यवसायीलाई ‘हायर’ गरी ल्याएका छन् । नाम चलेका कानुन व्यवसायीले पक्राउ परेका उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारीको पक्षमा बहस गर्ने छन् । बहस गर्न उनीहरू विराटनगर आइसकेका छन् । थुनछेक बहस सुरु भएको पहिलो दिन प्रतिबादीतर्फको कानुन व्ययवसीले इजालस भरिभराउ देखिएको थियो ।

मोरङ, सुनसरी, झापालगायतका जिल्लाबाट समेत प्रतिबादीतर्फका कानुन व्यवसायीले बहस गर्ने भएका छन् । काठमाडौबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, शुशिल पन्त, अधिवक्ता उद्धब केसी, मनिषा बस्नेत, रमिता महर्जनले बहस गर्न अदालतमा वकालतनामा दर्ता गराइसकेका छन् । प्रतिवादीको तर्फबाट बहस गर्ने सबैभन्दा बढी मोरङका कानुन व्यवसायी छन् । मोरङबाट मात्र करिब ३० जना कानुन व्यवसायी रहेको बताइएको छ ।

प्रतिवादीको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरू मोरङका रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ र राजेन्द्र भट्टराईले वकालतना भरेका छन् । त्यस्तै अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, पुरुषतम नेपाल, लक्ष्मण न्यौपाने, मधुसुधन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, डिल्लीराम घिमिरे, अशोक पोखरेल, मोहन कोइराला, टंक उप्रेतीलगायतले अभियुक्तको तर्फबाट बहस गर्नेछन् ।

थुनछेक बहस सकिएपछि प्रतिवादीलाई थुनामा राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर भन्ने विषयमा न्यायाधिशले आदेश गर्नेछन् । सम्भवतः मंगलबारसम्ममा आदेश आइसक्ने कानुन व्यवसायीको भनाइ छ ।

थुनछेक बहस चलिरहँदा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थासमेत अन्य बेलाको भन्दा कडा पारेको थियो । जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार मुद्दा दायर गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes