विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीयता असफल बनाउने अनेक चालबाजी भइरहेको बताउनु भएको छ ।
प्रदेशसभाको पहिलो अधिवेशन समापनको अवसरमा बुधबार संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको असफलताका लागि कतिपयले कामना गरिरहेको भएपनि त्यो असफल हुने बताउनु भयो । ‘प्रदेश सरकार र प्रदेशसभा असफल बनाएर संघीयता असफल बनाउने कामना भइरहेको छ,’ राईले भन्नुभयो, ‘संघीयता भनेको विकास र समृद्धिको आधार हो विभिन्न षड्यन्त्रलाई चिर्दै हामी संघीयता कार्यान्वयन गरेरै छाड्छौं ।’
प्रदेशसरकार र प्रदेशसभा अल्मलिएको टिप्पणी पनि आफूले सुनेको भन्दै उहाँले कसैले बनाएको बाटो नहिंडेको र आफैं बाटो बनाउँदै हिंड्नुपरेको अवस्थामा पनि अन्य प्रदेशको तुलनामा १ नम्बर प्रदेशले राम्रो गति लिइरहेको दाबी गर्नुभयो । प्रदेश नम्बर १ मा पक्ष र प्रतिपक्षको जस्तो व्यवहार नभएको भन्दै उहाँले सबैले मिलेर गति दिनुपर्नेमा जोड दिनुभयो । ‘सबै दलको उन्नत किसिमको समझदारी र सहकार्यले प्रदेशको समृद्धि गर्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘सरकारले पक्ष र विपक्षको महसुस गर्नेगरी कुनै काम गरेको छैन ।’
प्रदेशको मातहतमा कुनै पनि संरचना नरहँदा पनि प्रदेश सरकारले बजेट कार्यान्वयनका विभिन्न बाटो पहिल्याइरहेको बताउँदै उहाँले प्रत्येक सांसदहरुलाई जनताको बीचमा जानका लागि आवश्यक व्यवस्था गरिएको बारे जानकारी पनि दिनुभयो ।
श्रीनिवासाचार्यले आफ्नै योजनामा गोली हानेको तिर इंगित गष्र्दै उहाँले प्रदेशको शान्ति सुरक्षा खल्बल्याउन विभिन्न नाटक र प्रपञ्च भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘अनेक तत्वले विभिन्न रंग र भेषमा प्रदेश सरकारलाई असफल बनाउने उद्देश्यले अगाडि आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसखाले घटनाको रहस्य उदांगो भएको छ ।’
मुख्यमन्त्री राईले मूलधारका संचारमाध्यमलाई उचालेर प्रदेश र प्रदेशसभाबीच मनमुटाव ल्याउने गरी राजधानी र नामांकनको विषयमा विवादित समाचार प्रसारण गरिएको आरोप पनि लगाउनु भयो । ‘प्रदेशको नाम र राजधानीको विषय छिटो टुंगो लगाउनु पर्ने छ,’ उहाँले भन्नुभयो, ‘हतार गरेर, भावनामा बगेर वा दबाब र प्रभावको भरमा कुनै पनि निर्णय गर्नु उपर्युक्त छैन, यि विषयको हामी सहमतिबाटै छिनोफाने गर्नेछौं ।’ कुनै पनि महत्वपूर्ण निर्णय गर्दा टाउको गनेर वा लाइन लगाएर फैसला गर्ने पक्षमा आफू नभएको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षीलाई पनि साथमै लिएर सहमतिका साथ अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह पनि गर्नुभयो ।
यसैबीच नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम र राजधानीको विषयमा सत्तापक्षकै सांसदबाट विभिन्न लविङ गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले राजधानीको विषय र नामको विषयमा सहमतिमा टुंग्याउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै वैठकमा बोल्दै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले १ नम्बर प्रदेशको संसदीय गतिविधि ७ वटै प्रदेशभन्दा अगाडि रहेको बताउँदै सरकार र प्रतिपक्ष दुवैले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संसदको हिउँदे अधिवेशन अन्त्य
१ नम्बर प्रदेशसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । प्रदेशसभाको पहिलो अधिवेशन सँगै पहिलो बैठक गत माघ २२ गते बसेको थियो ।
संसद बैठक सुरु भएको ९३ दिन पुगेको छ । जम्मा २२ दिनमा ३९ पटक अर्थात २८ घण्टा १८ मिनेट बैठक व्यस्त रहयो । संसद बैठकमा प्रदेशसभाको काम कारबाहीबारे जानकारी दिँदै सभामुख प्रदीपकुमार भण्डारीले संसद वैठक सुरुभएयता आफ्नै कार्यविधि निर्माणदेखि बाहेक ११ वटा विधेयक पारित गरेको जानकारी दिनुभयो ।
संसदमा प्रस्तुत भएका ९ वटा विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्रालयले प्रस्तुत गरेको हो भने २ वटा विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको थियो । यो अधिवेशनमा चालू आर्थिक वर्षको बजेट पारित गर्ने, सभामुख र उपसभामुखको चयन गर्ने, विषयगत समितिको गठन गर्ने लगायतका काम भएका छन् । यस्तै संसद वैठकमा प्रदेश प्रमुखले १ पटक र मुख्यमन्त्रीले २ पटक सम्बोधन गर्नुभएको थियो ।