धार्मिक द्वन्द्व चर्काउन आफैंलाई गोली प्रहार - Pahilo Online

धार्मिक द्वन्द्व चर्काउन आफैंलाई गोली प्रहार

आफैंमाथि गोली हान्न लगाउने श्रीनिवास पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । धार्मिक द्वन्द्व चर्काउन धर्मगुरु मानिएका पूर्वराजा ज्ञानेन्द्रका निकट श्रीनिवासाचार्यले आफैमाथि गोली प्रहारको घटना घटाएको खुलासा भएको छ ।

गत चैत २५ गते बिहान विराटनगरमा भएको श्रीनिवासाचार्यमाथिको गोली प्रहार उनकै योजनामा भएको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी श्रीनिवास आचार्यकै योजनामा उनकै सहयोगी चितवनका माधव चौधरीले गोली प्रहार गरेको सार्वजनिक गरेको हो । चितवन भरतपुर महानगरपालिका–४ का २९ वर्षीय चौधरीलाई पेस्तोल चलाउने तालिम दिएर श्रीनिवासाचार्यले आपैmमाथि गोली प्रहार गरेको पाइएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उनीमाथि गोली प्रहार गर्न प्रयोग गरिएको पेस्तोल भने नवलपरासीको गैंडाकोट ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको खुलेको छ ।

सुरुवातमै शंकास्पद मानिएको घटनाको अनुसन्धानको क्रममा चौधरी र अधिकारी पक्राउ परेपछि प्रहरीले श्रीनिवासाचार्यलाई पनि पक्राउ गरेको छ । घटनापछि घाइते भएर न्युरो अस्पताल विराटनगरमा उपचार गराएका उनलाई भारत जाने तयारीमा रहेको बेला त्रिभुवन विमानस्थलबाट प्रहरीले आइतबार पक्राउ गरेको हो ।

विराटनगर–१४ स्थितमा जतुवामा रहेको रामजानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत् सप्ताह पुराण वाचन गर्न आएका श्रीनिवासाचार्यमाथि आएकै राति गोली प्रहार भएको थियो । घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित विशेष प्रहरी अनुसन्धान टोली, १ नं. प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान गरी तथ्य सार्वजनिक गरेको हो ।

‘माधब चौधरीले श्रीनिवासाचार्यबाटै बन्दुक चलाउन सिकेर उनीमाथि गोली प्रहार गरेको खुलेको छ’ एसपी बिसीले भन्नुभयो, ‘श्रीनिवास आचार्यले आफूमाथि गोली प्रहार गर्न नवलपरासीका अधिकारीबाट पेस्तोल मगाएको पाइएको छ ।’ हिन्दू राज्य कायम गर्नको लागि विभिन्न चरणमा भएको आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्मगुरूलाई उक्साउनको लागि श्रीनिवासाचार्यले आफैमाथि गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीनिवासचार्यले आफ्नो हातमा गोली प्रहार गर्न भनेको भएपनि मिस भएर कोखमा लागेको पक्राउ परेका चौधरीले बताएका छन् । ‘५ मिटर टाढाबाट हानेको थिए, मिस फायर भएर कोखनजिकै लाग्यो, धर्मगुरु आफैँले पेस्तोल दिएर हामीलाई गोली हान्न भन्नुभएको थियो’ उनले भने ।
प्रहरीले पक्राउ परेका चौधरी र अधिकारीमाथि जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । श्रीनिवासाचार्यमाथि चलाउने मुद्दाबारे भने सरकारी वकिलको कार्यालयसँग परामर्श भइरहेको प्रहरीले जनाएको छ ।

श्रीनिवासमाथि गोली प्रहार भएपछि देशैभर त्यसको विरोधमा विभिन्न प्रदर्शन भएको थियो । सरकारले भने उनको उपचार खर्च सबै बेहोर्ने बताएको थियो । राप्रपा नेपालले हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको दावी गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes