यसरी भयो सनम शाक्यको हत्या (ठकुरीले प्रहरीलाई दिएको बयान) - Pahilo Online

यसरी भयो सनम शाक्यको हत्या (ठकुरीले प्रहरीलाई दिएको बयान)

writer

पहिलो अनलाइन

विराटनगर । साढे ३३ किलो सुन तस्करी र उर्लाबारी शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका मध्ये एक हुन् काभ्रेपलान्चोकका टेकराज मल्ल ठाकुरी ।

उनी मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको विश्वास पात्र हुन् । पक्राउ परेका अभियुक्त ठाकुरीलाई अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर मोरङ अदालतमा बुधबार गरेको छ ।
उनी सहित ६ जनाको बयान बिहीबार सुरु भयो । अदालतले अभियुक्तहरुको बयान लिन सुरु गरेको पहिलो पटक टेकराजसहित अन्य ६ जना बयान लिएको छ ।

ठकुरीले प्रहरीलाई दिएको बयान

२०६२ साल तिर काठमाण्डौँमा आई काकाको घरमा बस्दै आएको थिए । २/३ महिना बसेपछि काम बिना बसेर नहुने सोची काकाको घरबाट निस्की कामको खोजीमा हिडे । पछिल्लो समयमा काठमाडौंको न्युरोड स्थितमा रहेको पार्किङमा पार्किङको शुल्क उठाउने कामको सुरुवात गरे । यस्तै क्रममा मेरो एक जना नजिककै सुनको पसल रहेको बेनु श्रेष्ठसँग चिनजान भयो । उसको सुन पसल रहेछ । उसैको सुन पसलमा काम गर्ने क्रममा गोरे भन्ने चुडामणी उप्रेती बेनुमार्फत चिनजान भयो र गोरेसँग काम गर्न सुरु गरे । एकदिन गोरे र बेनु श्रेष्ठको कुराकानी ठकुरीले सुने । गोरेले श्रेष्ठसँग भनेका थिए, ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ ।’

त्यसपछि श्रेष्ठले आफूलाई विदेश जाने हो भनेर सोधेको ठकुरीको बयानमा उल्लेख छ । सुरूमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाउ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन् ।

‘बेनुले मलाई पटक पटक तिमी विदेश जाउ राम्रो कमाइ हुन्छ भनेर आश देखाउथे । विदेशमा बस्ने गरी जान्नँ भनेपछि उनले लामो समय बस्नु पर्दैन । दुबई गएर १० र १५ दिन बस्ने त्यसपछि फर्किने हो । तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ,’ उनले बयानमा भनेका छन् ।

दुबई जान राजी भएपछ श्रेष्ठले उनलाई गोरेकहाँ पठाए । तिनकुनेमा गोरे र मल्लको भेट भयो । तिनकुनेमा देख्दा गोरेले आफूलाई तलदेखि माथिसम्म हेरेको र एकपटक फनक्क घुम्न लगाएको पनि बयानमा ठकुरीले भनेका छन् ।

‘७ दिन भित्र पासपोर्ट बनाई मलाई भेट्नु भनेपछि हामी छुट्टियौं,’ उनको बयानमा उल्लेख छ । पासपोर्ट बनाएको ३ महिना पछि ५ र ७ जनाको समूहसँगै मल्ल दुबई उडे । विमानस्थलमा संजय खरेल उनलाई लिन आएका थिए । उनीहरू नजिकैको कोठामा पुगे । संजय र शिवकुमार गुबाजु बसिरेका थिए, केहीबेरमा गोरे पनि आइपुगे ।

१५ दिनपछि गोरेको खबर आयो ल तँ नेपाल फर्की । उनी फर्किने तरखर गर्दै थिए, शिवानी खरेल नामकी एक युवती आइन् । उनले साथमा झोला पनि बोकेर ल्याएकी थिइन् । उनैले मल्ललाई दुबई एयरपोर्टदेखि नेपालको विमानस्थलसम्म आँउदा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सिकाइन् । ‘तैँले बोकेको झोलामा ४ किलो सुन छ, नेपालको एयरपोर्ट पुगेपछि टिजी भन्ने सानु बनलाई दिनु भनिन्।,’ उनको बयानमा भनेका छन् ।

सुरूमा मल्लसँगै शिवानी पनि आएकी थिइन् । विमानस्थलबाट उनलाई थाहै नदिई बाहिर निस्किइन् । विमानस्थलमा चेकजाँच हुनुअघि नै विमानस्थलका कर्मचारी सानु बनलाई ठकुरीले चार किलो सुन बुझाएका थिए । झन्डै १० वर्ष अघि ४ किलो सुन नेपाल भित्र्याएर ठकुरीले तस्करी थालेका थिए । त्योबापत् उनले ६० हजार रूपैयाँ पाए । ठकुरीले बयानमा भनेका छन, ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए । ६० हजार रूपैयाँ दिए । र फेरि पनि जानुपर्छ है भने ।’

३ दिनपछि सुन बोक्न ठकुरी फेरि दुबई गए । यसपालि उनी एक्लै थिए । बेनु श्रेष्ठले जसोजसो भनेका थिए त्यसै गरे । दुबईमा गोरेलाई भेटे । १५ दिन त्यहीँ बसे । पछि गोरेले उनलाई ५ किलो सुनको झोला दिए । गोरेले नै उनलाई दुबईको विमानस्थलसम्म र्पुयाइदिए । त्रिभुवन विमानस्थलमा आइपुगेपछि मल्लले झोला जाँच हुनुअघि सानु बनलाई नै दिए । ‘त्यसपछि पनि उनीहरूले भने बमोजिम कहिले ७, कहिले ८ किलो बोक्दै ल्याउँथें, एकपटक १६ किलो पनि ल्याएको थिएँ,’ उनले बयानमा भनेका छन् ।

केही समयपछि बेनु श्रेष्ठ र गोरेको ‘पाटनरसिप’ छुट्यो । ठकुरी गोरेसँग काम गर्न थाले । काम गर्दै जाँदा उनले मलाई एकदमै विश्वासिलो पात्र मानेर गाडीमा लिएर हिँड्ने, उसैको गाडी चलाउन दिने गर्थे । चाहिएको पैसा पनि दिन्थे,’ ठकुरीले भनेका छन् ।

गत माघ ९ गते मल्ल र रोहित आचार्य दुबईबाट साढे ३३ किलो सुन बोकेर आए । यसपालि पनि एयरपोर्टमा सानु बनलाई जिम्मा लगाए अनि आ–आफ्नो घर गए । बेलुकामात्र सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने खबर पाएको बयान उनले दिएका छन् ।

सुन हराएको खबरपछि उनले भविन राई, लाक्पा शेर्पा र टुकबहादुर मगरलाई भेटे । भारतमा रहेका गोरेलाई जानकारी पनि गराए । उनैले भने बमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे । सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे । सानुले दुइटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए ।

उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए । भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौं आइपुगे । रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौं आए । सबैलाई बोलाएर सोधीखोजी गरियो तर सुन फेला परेन ।

६ र ७ दिनपछि गोरे भारतबाट आए । सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनि सोधपुछ गरे । अनुसन्धान थाले । ‘त्यो ठाउँबाट सुन लुटियो भन्ने कुराको विश्वास भएन यिनीहरुले यहाँ भनेनन् भारतमा लगी सोधपुछ गर्नुपर्छ भनेर गोरेले योजना बनाए,’ ठकुरीले बयानमा भनेका छन् ।

काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँ खर्क पुर्याए । सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो । सबै काठमाडौं फर्के । भुर्जुन भोटेको खोजबिन हुँदै थियो सानु बन परिवारसहित गायब भए ।

त्यही बेला सनम शाक्य सालाको बिहे छ भनेर गोरेसँग विदा भए । भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो । गोरेले सुन प्रहरीले समात्यो सबै जना सेभ बस्नु भने । सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले । ‘सानु बनको टिममा एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौं,’ मल्लले बयानमा भनेका छन, ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो । म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्यौं ।’

सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोट्भित्र पठाइयो । मगरले सानु बन बाहिर नआउने भने । सानु बनलाई बोलाउन मगर फेरि गए । तर पनि बन आएनन् । केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु बनको मृत्यु भयो भन्ने खबर आयो ।

यसरी भयो सनम शाक्यको हत्या

सानु बनको ट्याङकरले किचेर मृत्यु भएपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पूर्वतर्फ हानिए । उनीहरू पूर्वतिर आएकोे मोहन काफ्ले र सनम शाक्यले थाहा पाए । उनीहरु भागेर आसामतिर गए । यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए । परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए ।

सिलगुढीमा गोरेको सनम र मोहनसँग भेट भयो । त्यहाँ अलिअलि कुटपिट पनि भयो । अरूसँग पनि सोधखोज गर्दा मोहन, सनम, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्कीमाथि गोरेको शंका बढ्यो । उनले कुरा निकाल्न नयाँ उपाय लगाए सबै जना पिकनिक जाने । उर्लाबारी नजिकैको जंगलमा पिकनिक गए । त्यसपछि धरानमा रहेको निर्वाना क्लबमा बसे । उनीहरू जहाँजहाँ बस्थे गोरेले सुन पत्ता लगाउन एकअर्कालाई कुट्न लगाउँथे । कहिले सनमले पिट्थे कहिले पिटाइ खान्थे ।

एकले अर्कालाई पिट्दा खासमा सुन हराउनमा सनम, नरेन्द्र र मोहनको हात छ भन्ने निष्कर्षमा गोरे पुगे । ‘भविन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौंमा नै रहेको बतायो । सुन हराएको जानकारी पाउँदासमेत पूर्व छु भनी सनमले ठगेको मोहन र नरेन्द्रलाई थाहा भएको पत्ता लाग्यो । सालोको बिहेमा उर्लाबारी जान्छु भनी तर सनम निशासिंह ठकुरीसँग काठमाडौंको होटलमा बसेको कुरा खुल्यो ।

त्यसपछि पनि गोरेले उनीहरूलाई सँगै लिएर हिँडे । उनीहरू फरकफरक गाडीमा हिँड्थे । ‘फागुन १८ गते उर्लाबारी १ कान्छी चौक सोल्टीखोला नजिकको चउरमा पुग्दा गोरे पहिले नै पुगिसकेका रहेछन,’ ठकुरीले भनेका छन, ‘मोहन काफ्लेको हात खुट्टा बाँधी गोरेले पाइपले कुट्दै थियो । सनम र नरेन्द्र म चढेको गाडीमा थिए । उनीहरूलाई पनि गाडीबाट निकालेर हातखुट्टा बाँधी पाइपले कुट्न थाले ।’

मान्छेले देख्ने भएपछि काफ्ले र शाक्यलाई जंगलमा लगियो । रूखमा बाँधेर कुटियो । फेरि गाडीमा राखेर करेन्ट लगाइयो ।

सनम बेहोस भए तर सुनबारे मुख खोलेनन् । ठकुरीले गोरेलाई भने सनम त बेहोस भयो । सुनबारे नबोलेसम्म करेन्ट लगाउन नछोड्नु भन्ने गोरेको निर्देशन थियो ।

‘सनमको सास बन्द भयो । म¥यो कि भनी हेर्दा धड्कन नचलेपछि मर्न त दिनु हुन्न भनेर हतारहतार ड्राइभरलाई ग्लुकोज लिन पठाएँ,’ उनले बयानमा भनेका छन, ‘ग्लुकोज लिएर आउँदासम्म सनम मरिसकेको थियो । अब के गर्ने भन्ने सल्लाह भयो ।’

केहीले सनमको लास कोशी वा त्रिशुलीमा फाली दिनुपर्छ भने । कसैले काल्पनिक एक्सिडेन्टजस्तो बनाएर छाडी दिनुपर्ने बताए ।

‘तर गोरेले जंगलमै खाल्डोमा पुर्न पर्छ भनेर लाक्पा शेर्पा र टुकबहादुर मगरलाई खाल्डो खन्न लगायो । अलिकति खनेपछि उसले कता फोन र्गयो र खाल्डो खन्न छोड्दे भन्यो,’ ठकुरीले भनेका छन् । उनीहरू गाडीमा लास बोकेर धरानको निर्भाना कन्ट्री क्लब पुगे । कोही बियर खान थाले, कोही गफमा भुले ।

मल्लको बयान अनुसार उनीहरूको योजना धरानबाट बिहानमात्र हिँड्ने थियो तर कसैले गोरेलाई फोनमा सनम मरेको कुरा उर्लाबारीमा थाहा भइसकेको सुनायो । अरू तितरबितर भए । गोरे र मल्लचाहिँ सँगै थिए ।

शनमको करेन्ट लगाउँदा लगाउँदै मृत्यु भएपछि शव लुकाउन जिम्मा गारेले ठकुरीलाई दिए । उनले शाक्यको लाश माथि तौलिया राखी बिरामी भएको जस्तो देखाई ठकुरीले गाडी धारनको निर्भाना कन्ट्री क्बल तिर लगे । ठकुरीसँगै सुरेन्द्र गौतम, टुक बहादुर मगर, रोहित आचार्य, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पा अन्य गाडीमा कन्ट्री क्लबमा आए ।

क्बलमा पुगेपछि कोहि वियर खान थाले कोहि गफ गरेर बस्न थाले । शनम मरेको खबर उर्लाबारीमा हल्ला भएको जानकारी पाएपछि भबिन राई, रुस्तम मिया, रोहित आचार्य र राजन भन्ने ड्राइभरलाई गोरले ३÷३ हजार दिएर काठमाण्डौ पठाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीले घटनाबारे कसैलाई जानकारी नदिने गोरेलाई भनेपछि मे १ च ५३९५ नं.को टाटा हाईलेक्स गाडी लिएर उनीहरु घर गए ।

एकछिनमा गोरेले संजेल (सई बालकृष्ण संजेल) मामालाई फोन गरे । सनमको मृत्यु भएको जानकारी गराए । ‘मामा केस मिलाइदिनु तपाईंलाई २ करोड दिन्छु’ भन्दै फोन राखे । ‘फोन राखेपछि गोरेले मलाई सनमको लास जिम्मा लेऊ तिम्रो परिवारलाई ५० लाख दिन्छु र सेटल पनि गरिदिन्छु भने । मैले हुन्छ भनें,’ मल्लको बयानमा उल्लेख छ । लास जिम्मा लगाउँदा गोरेले अपराध महाशाखाका प्रहरीसँग सबै कुरा भइसकेको र टोली नआउन्जेलसम्म धरानमा लास घुमाउँदै बस् भने ।

‘महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउछन् । तैंले चिन्ता लिनु पर्दैन । तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो भनी मलाई विश्वास दिलायो त्यसपछि म गाडी लिएर निस्कें,’ उनले बयानमा भनेका छन् ।

गोरेले मामा भन्ने सई संजेल डिएसपी प्रजित केसीसँगै आए । उनीहरूसँग एक रात होटलमा बसेको बयान पनि ठकुरीले दिएका छन् । ‘इटहरीको स्वास्तिका होटेलको कोठा नम्बर ५०६ मा केसी, ५०९ मा प्रहरी जवान मेष राना, प्रहरीको गाडी चालक र म बस्यौ ं। संजेल मामा ५१० बसे,’ उनले बयानमा भनेका छन् ।

प्रहरी टोलीसँग लास कतै जंगलमा लिएर फाल्ने कुरा भयो । ‘दुहवी आएपछि केसीले मेष रानालाई फोन गरे । उनले जंगल खोजेर लासको व्यवस्थापन गर्न भने । त्यसपछि हामी दुहवी बजारबाट दाहिनेतर्फ गयौं,’ उनको बयानमा उल्लेख छ । जंगल नभेटिएपछि विराटनगरतर्फ आउँदै गर्दा आफूसँगै बसेका प्रहरीले हतकडी लगाएर पक्रेको ठकुरीले बयान दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes