
विराटनगर । विभिन्न १४ सुत्रिय माग राख्दै अनेरास्ववियु क्रान्तिकारीले मोरङको शिक्षा कार्यालय, प्याब्सन र एनप्याब्सनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । दिउँसो १२ बजे कार्यालयमा पुगेका दर्जनबढी विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी गरेको मोरङ प्रहरीले जनाएको छ ।
विद्यार्थी संगठनले गैर कानुनी रुपमा वृद्धि गरिएको चर्को शुल्क फिर्ता गर्नुपर्ने, शिक्षामा गरिने व्यापार बन्द गर्नुपर्ने, शिक्षा निर्देशिका कार्यान्वयन गनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा ग्यारेन्टी गनुपर्ने माग राख्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
विद्यालयको पूर्वाधार निर्माण गर्दा अनिवार्य अपाङगमैत्री बनाउनु पर्नेलगायतको माग पनि विद्यार्थीको छ । शान्तिपूर्ण ढंगले गरिएका आन्दोलनको माग सुनुवाइ नभएकोकारण तालाबन्दी गरिएको अखिल क्रान्तिकारी मोरङका संयोजक ताजिम अन्सारीले जानकारी दिनुभयो ।
‘यसअघि शान्तिपूर्ण रुपले आन्दोलन गर्दा हाम्रो मागको कुनै सुनवाइ भएन,’ अन्सारीले भन्नुभयो, ‘अहिले पनि यहाँका धेरै निजी विद्यालयले चर्को शुल्क लिने गरेका छन् ।’
गैरकानुनी रुपमा वृद्धि भएको शुल्क फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने अन्सारीको भनाइ छ । विराटनगरका नीजि विद्यालयहरुमा प्रति विद्यार्थी बराबर वार्षिक १ लाख ५० हजार भन्दा बढी लिने गरेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले ध्यान नदिँदा नीजि विद्यालयहरुले मनोमानी शुल्क लिइरहेको अन्सारीको भनाइ छ ।