बाम एकताका चार सूत्र - Pahilo Online

बाम एकताका चार सूत्र

writer

डोरप्रसाद उपाध्याय

विगत केही समयदेखि नेपालको राजनीतिक वृत्तमा दुई ठूला कम्युनिष्ट पार्टीहरू ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा.(एमाले) का बीच एकता हुने कुराले निकै चर्चा पाएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने उद्घोषसहित वाम गठबन्धन बनाई चुनावमा गएका यी पार्टीहरूले अपेक्षित जीत हासिल गरेपछि पार्टी एकताको चर्चा अझ बढी सतहमा आएको हो ।

त्यतिबेला नै वाम गठबन्धन र पार्टी एकता दुवैलाई एकथरी व्यक्ति, पार्टी र समूहले उत्पात नै भएको ठानी प्रतिक्रिया व्यक्त गरेका थिए भने अर्काेथरी यति धेरै अत्तालिए कि त्यसको सीमा नै रहेन । जबकि समर्थकहरू पनि त्यति धेरै खुशी र हर्षले उत्पात हुनुपर्ने थिएन भने आत्तिनेहरूमा पनि मुलुकै डुबेसरह रोदन र चित्कारको आवश्यकता थिएन । किनकि दुई पार्टीहरू मिले पनि उही व्यक्ति, उही चरित्र, उही प्रवृत्ति, उही कार्यशैली र उही पुरानै सोच, दृष्टिकोणसहित जस्ताको तस्तै एकतामा प्रवेश गर्ने हुनाले मात्तिने र आत्तिने कुनै कारण थिएन ।

अहिले पनि केही नाम मात्रका शीर्ष नेताहरूलाई छाडेर अरू नेता र कार्यकर्तामा भविष्यप्रतिको चिन्ता, चासो र त्रास थपिएसँगै झनै अन्यौल बढेको छ । उनीहरूले न त एकताको विरुद्ध बोल्न, लेख्न वा विद्रोह गर्न सक्छन् न त एकताकै पक्षमा दृढतापूर्वक उभिएर वकालत नै गर्न सक्छन् । उनीहरु पार्टी छाडेर अन्यत्र जाने पनि कतै विकल्प देख्दैनन्, बरु फड्के किनाराका साक्षीसरह आफूहरू एकताको नाममा कतिबेला बेचिने हो ? मुकदर्शक बनेर त्यसको पर्खाइमा छन् ।

वास्तवमा झण्डै दुई तिहाइ जनमत रहेको नेपालका कम्युनिष्टहरू एक–आपसमा मिल्ने कुरा एक ऐतिहासिक परिघटना हो । विषयको उठान राम्रो नियतबाट गरिएको भए यो एक ऐतिहासिक परिघटना हुने थियो । खराब नियतले एकताको कुरा उठाइएकाले झन् अहिले कार्यकर्ता र कम्युनिष्ट जनमतमा थप आशंका र त्रास थपिएको छ ।

अझ एक दुई व्यक्तिका स्वार्थको मिलनलाई एकताको नाम दिएर सैद्धान्तिक आवरणमा व्याख्या गरिनुले पनि यसमा केही नेताहरूको राजनीतिक र आर्थिक जटिल स्वार्थ लुकेको छ भन्नेहरू पनि नेपालमा नभएका होइनन् । विभिन्न विश्लेषकहरू यसबारे अझ बढी आशंका व्यक्त गरिरहेका छन् । म यो विषयमा जान चाहन्न तर यो एकता के हो ? यो विचार राजनीतिको ध्रुवीकरण हो वा एकता ? एक अर्कामा समायोजन वा विलय के हो ? र आश्चर्यजनक तरिकाले थालनी गरिएको एकतालाई वास्तविक एकतामा बदल्न के गर्नुपर्ला ? मैले यिनै विषयमा थोरै चर्चा परिचर्चा गर्न उपयुक्त ठानेको छु ।

दुई पार्टीबीचको एकता कि ध्रुवीकरण ?

एकता र ध्रुवीकरण झट्ट हेर्दा एउटै अर्थ दिने पदावली जस्तो लागे पनि यसको भावार्थ फरक छ । एकता भन्नाले दुई पार्टीबीचको संगठनात्मक अवस्था उसको जनमत, उसको इतिहासलगायत विविध पक्षहरूको अध्ययन गरी एउटै साझा उद्देश्य प्राप्त गर्न गरिने सांगठनिक पहल हो । तर अहिले हुने भनिएको एकता यी आधारभूत कुराभन्दा भिन्नै छ । त्यसकारण यो एकता दुई बैंक मर्ज भएसरह एक–आपसमा समायोजन हुनुजस्तै भएको छ । किनकि दुई पार्टीहरूको राजनीतिक पृष्ठभूमि फरक छ तर अबको दिशा करिब करिब एउटै हुने भएपछि अलग–अलग रहनुको औचित्यता देखिदैन ।त्यसैले अहिलेको एकताको कुरा आफ्ना व्यक्तिगत स्वार्थहरूलाई अझ बढी संस्थागत गर्न र सिंगो आन्दोलनका हजारौं कार्यकर्तालाई वेवास्ता गरीआफ्ना उद्देश्य पूरा गर्न सकारात्मक पहल मात्र गरिएको तीतो यथार्थता हो भन्नेहरुलाई नै मलजल पुगेको छ ।

यसो गर्नका कारण दुवै पार्टीका शीर्ष नेताहरू आ–आफ्ना पार्टी्भित्रका गुट–उपगुट वा समूहहरूबाट बेलाबेलामा प्रताडित भइरहेका थिए । उनीहरूलाई आफ्नै पार्टी बोझ जस्तो बन्न पुगेकाले आफ्नै पार्टी्भित्रका गुटीय अन्तर्विरोधलाई हल गर्न पनि एक–आपसमा समायोजन गरिदिएपछि केही नयाँपन आउने ठानी माटोमा बालुवा मिसाएसरह हठात आश्चार्यजनक एकताको नाटकको मञ्चन गरिएको हो । त्यसैले त मैले गत असोज १७ गतेको संयुक्त वाम गठबन्धनको कार्यक्रमपश्चात् एकता गर्ने घोषणालाई लिभिङ टुगेदरको रुपमा चित्रण गरेको थिएँ ।

जुन अहिले एमाले र माओवादी केन्द्रबीचको एकता हुन विलम्ब हुनु र अनेक गतिहीनता देखा पर्नुले यो कुरालाई पुष्टि गर्दछ । त्यसकारण यो एकता कुनै वैचारिक उद्देश्य पूरा गर्न, कुनै साझा सङ्कल्पका लागि वा मुलुकको ठूलो कायापलट गर्ने मनसायमा आधारित छैन । बरु यो आफ्नो स्वार्थको आरक्षणको ग्यारेन्टी र सुखद बर्हिगमनको पूर्वतयारीमा आधारित छ भन्नेहरुलाई सही जवाफ दिने तर्क हामीसँग छैन । यहाँ एमाले र माओवादी केन्द्रबीच एकता हुनु नै हुँदैन भन्ने कुरामा कोही पनि सहमत छैन तर आफ्ना मात्रै राजनीतिक, कानुनी र अन्य विविध कुराहरुलाई मात्रै पूर्ण ग्यारेन्टी खोज्ने र अरु नेता तथा कार्यकर्ताबारे पूरै मौन बस्ने नेतृत्वको नियतमाथि शंका मात्र लागेको र सम्मानजनक एकता, बराबरीको एकता, विचार र राजनीतिको एकता निश्चित् व्यक्तिहरूका मोलमोलाइका साधन मात्रै हुन् भन्नेहरुलाई नेतृत्वले कसरी जवाफ दिन्छ ? त्यो त एकतापछि हुने संगठनात्मक समायोजनको खाकापछि मात्रै प्रष्ट हुनेछ । तर त्यसप्रकारको वैज्ञानिक खाका बन्ने कुराको कुनै सुखद संकेत देखा पर्न सकेको छैन ।

आजको एकताको आवश्यकतालाई स्वार्थ अनुरुप प्रयोग गर्ने र मित्थ्यापनमा आधारित गैरवैचारिक ध्रुवीकरणको साधन बनाउनु हुँदैन । ध्रुवीकरणमा त एउटा खास विचार र कार्य्दिशामा समर्थन जनाएर त्यसको विकास, रक्षा र प्रयोगको लागि गरिन्छ । त्यसकारण ध्रुवीकरणले विचारको माग गर्छ भने एकताले संठनको माग गर्छ । ध्रुवीकरण भइदिएको भए यति धेरै किचलो गर्नुपर्ने थिएन । एकताका लागि या त बहुदलीय जनवादलाई कार्यदिशा बनाइन्थ्यो या त एक्काइसौं शताब्दीको जनवादलाई साझा कार्यदिशा बनाएर अघि बढ्न सकिन्थ्यो । त्यो बेला यो कार्यदिशा लागू गर्ने खालको संठन, विधि र नेतृत्वको छनोट हुन्थ्यो ।

यो प्रक्रियामा विचार पहिलो र संगठन दोस्रो पक्ष हुने थियो तर अहिले संगठन पहिलो र विचारको प्रश्न झिनो स्वरमा मात्र व्यक्त भएको छ । यहाँ अझ जनताको बहुदलीय जनवादलाई बहुदलीय शब्द हटाई जनताको जनवाद पदावली राख्ने भित्रभित्रै सहमति भयो भने पनि अनौठो मान्नुपर्ने छैन । यी सबै परिघटनाहरूले यो एकता आवश्यकताको केन्द्रीकरण नभई स्वार्थको केन्द्रीकरण मात्रै बन्न पुगेको यथार्थतालाई जाहेर गरेको छ । हुन त शब्द जे राखे पनि जाने संसदीय व्यवस्थामा नै हो । शब्दले खासै फरक पार्दैन । संसदीय व्यवस्था पुँजीवादको अभिन्न अंग हो । त्यसैले हामी पुँजीवादको राजनीतिक क्रान्ति सम्पन्न भयो भनेका छौं र अब आर्थिक क्रान्तिको खाका कोर्न एकताको पहल गरेका छौं भन्ने नेतृत्वको भनाइलाई विश्वास गर्ने कत्ति पनि आधार छैन । यसकारण पनि अहिले हुने भनिएको पार्टी एकता वास्तविक एकता वा धु्रवीकरण जे नाम दिइए पनि यो एक–आपसमा मर्ज हुने प्रक्रिया मात्र हो । ज्ञात रहोस्, ठूलो चुम्बकका अगाडि सानो चुम्बक समायोजन भई विलय हुन सक्दैन बरु एउटा किनारमा टाँस्सिरहन्छ ।

यो कुरा अहिलेको पार्टी एकतामा पनि लागू हुन्छ । बराबरी र सम्मानजनक हैसियत, सही प्रकारको संगठनात्मक कार्यविधि, पार्टी सञ्चालनका वैज्ञानिक आधारहरूबाट प्राप्त हुनेछ । तर नेपालका कम्युनिष्ट पार्टीहरुमा नेतृत्वको अति केन्द्रीकरणका कारणले यो सम्भव छैन । यहाँ त संगठनात्मक विधि, मूल्य मान्यता र आदर्श सबै ओझेलमा परेका छन् । त्यसकारण यो एकताले त्यो गुमेको कम्युनिष्ट आदर्श, सही संगठनात्मक विधि, मूल्य र मान्यता स्थापित गर्न सक्छ ? नेतृत्वका अगाडि गम्भीर प्रश्न खडा भएको छ ।

अहिलेको हाम्रो पार्टी र संगठनात्मक शैली

अहिले हाम्रा पार्टीहरू निश्चित् मान्यतामा चल्न सकेका छैनन् । गुट–उपगुट नामका इन्जिनहरू र नेतृत्वको निरंकुश निर्देशनहरू पार्टी सञ्चालनका मूलभूत मान्यताहरू हुन् । पार्टीहरू एक प्रकारले निजी कम्पनी जस्ता बनेका छन् । जहाँ विभिन्न तहका पदहरू र मजदुरहरू कार्यरत रहन्छन् । पार्टी नेतृत्वका निजी सचिवालयहरू पारिवारिक जहानियाँ शासनमा आधारित भएर चलेका छन् ।

एउटा इमानदार नेता, कार्यकर्ताले नेतृत्वलाई सहजै भेट्न सक्दैन न त नेतृत्वको दुःख पीडामा सँगै बसेर रुन सक्छ न त खुशीमा हर्ष साटासाट नै गर्न सक्छ । ऊ नेतृत्वकै पक्षमा काम गरे पनि आफूले काम गरेको कुरा नेतृत्वसँग पु¥याउन पनि त्यही सचिवालय बर्लिनको पर्खाल सरह उभिन्छ र सचिवालयका जिम्मेवार व्यक्तिहरु ‘रामको हनुमान हुनुभन्दा पनि हनुमानको पनि हनुमान’ बनेर प्रस्तुत हुने गरेका छन् ।

कम्युनिष्ट आदर्श र सदाचार विपरीत ठूलठूला आन्दोलन र परिवर्तनका बाहक हजारौं कार्यकर्ताहरू कसैका निजी कम्पनीका दासजस्ता बन्न पुगेका छन् । यहाँ नेता, कार्यकर्ताको अघोषित वर्गीकरण गरिएको छ । वास्तविक सम्पत्तिको हकदार या अंशियार, खेतमा (पार्टीमा) काम गर्ने मोहीहरू र ज्यालाका लागि काम गर्ने ज्यालादारी कार्यकर्ता नेता गरी तीन भागमा बाँडिएको छ । पहिलोले जे गरे पनि अंश पाउँछ र तेस्रो पनि ज्यालाका लागि काम गरेकाले पार्टीमा तुरुन्तै ठूलो अवसर पाउँछ भने दोस्रो मोहीले भने मालिक खुशी भएको दिन पर्खेर बस्नुपर्ने बाध्यता छ । यी कुराहरू हाम्रा पार्टीहरूका विडम्बना नै हुन् ।

आफ्नो स्वार्थ पूरा हुने भएपछि एउटा गैरकम्युनिष्ट पनि राति प्रवेश गरेको रहेछ भने पनि बिहान ऊ पार्टीको उच्च तहमा सीधै पुग्छ, किनकि आजभोलि पार्टी, सरकार र सदनका कतिपय सिटहरू किनबेचको लागि आरक्षित गरी बुकिङ खुल्ला गरिएको हुन्छ रे ! मलाई थाहा छैन, यो सत्य वा असत्य के हो ? तर जेहोस् यो हाम्रो विकृतिको पराकाष्ठा नै मान्नुपर्छ । त्यसकारण मुलुकको समृद्धि, स्थायित्व र प्रगतिका लागि एकता गर्न खोजिएको हो भने उपरोक्त विकृति, विथितिको अन्त्य गर्नै पर्छ । यहाँ त विकृति र विसंतिकै नेतृत्व गर्नेहरू पार्टी एकताका सूत्रधार हौं भन्दै वल्लो घरको पल्लो घर र पल्लो घरको ओल्लो घर चहार्ने लर्काे लागेको स्पष्टै देखिन्छ । यसले पनि यो सच्चा एकता हो भन्ने कुरामा जनमानसमा ठूलो भ्रम परेको छ ।

आफ्नो भ्रष्ट आचरण, शैली र बदनियतलाई पार्टी एकताको नाममा सौदावाजी गर्नेहरूको हर्कत देखेर पनि नेताप्रति आक्रोश र घृणा पैदा भइरहेको छ । यसलाई सच्चाइनुपर्छ । आज यिनै भ्रष्टहरूको शैली पछ्याउँदै कतिपय कम्युनिष्ट कार्यकर्ता पुलिसको खोरदेखि सुँगुरको खोरसम्म र श्रमका लागि जीवन जिउन साउदीको मरुभूमिसम्म पुगेका छन् । के यसबारे नेतृत्व गम्भीर छ ? एकता प्रक्रियामा यस कुराको जवाफ खोजिनु पर्दछ ।

त्यसो भए अबको निकास के हो ?

पहिलो, वास्तविक एकता हुनु वा गर्नु आफैमा सकारात्मक कुरा हो । संसदीय व्यवस्थामा नै रमाउने भएपछि अलग–अलग बसिरहनुको खासै अर्थ छैन । वर्तमान गठबन्धनको सरकारले पनि बोल्नेबाहेक केही पनि कुरामा नयाँ कामको सुरुवात गर्न सकेको छैन । मन्त्रिपरिषद् जनताको करबाट चल्ने निरन्तरताको जागिर मात्र बन्न पुगेको छ ।

जसरी एउटै बजारमा एउटै माल उत्पादन गर्ने दुई निजी कम्पनी बजारको अभावमा चल्न नसकेर एकआपसमा मर्ज हुन्छन् ठीक त्यसरी नै यी दुई पार्टीहरूको एकआपसमा मर्ज हुने प्रक्रिया ढिलोचाँडो सम्पन्न हुने नै छ । तर पार्टी एकताको निर्णय लिँदा कतिपय बाहिरी शक्ति केन्द्रको प्रभावमा पर्नु राम्रो कुरा होइन, यसले नेपालको राजनीतिको निर्णय प्रक्रियासमेत परनिर्भरतामा गई आफैले लिन सक्ने निर्णयको स्वतन्त्र पहलकदमी गुम्ने र राष्ट्रियता झन् खतरामा पर्ने सम्भावना बढाउँछ ।

दोस्रो, एकताको आधार र उद्देश्य स्पष्ट हुनुपर्छ । दुई नेताको मनभित्र भएको कुरालाई आम सत्य ठानी त्यसैमा रमाउनु बेठीक हो । यसमा साझा सङ्कल्प सार्वजनिक हुनुपर्छ । कमसेकम मुलुकको समृद्धि, सुशासन र शान्ति प्रक्रियाको बाँकी कामको समग्र पूर्णता दिने गरी एकताको आधार खाका तयार गरिनुपर्दछ । आर्थिक समृद्धि, स्थायित्व र सुशासनलाई व्यक्तिगत स्वार्थमा केन्द्रित गर्ने र आफ्नो बारे मात्र सोचेर एकतामा लैजाने पद्धति वाम आन्दोलनका लागि घातक हुनेछ ।

तेस्रो, अबको कार्य्दिशा आर्थिक एजेन्डामा आधारित हुनुपर्दछ । आर्थिक समृद्धि, बहुदलीय जनवाद वा एक्काइसौं शताब्दीको जनवादको मिक्चरमा पिसेर निस्कने होइन । राष्ट्रको जीडीपीमा योगदान पुग्नेगरी आर्थिक समृद्धिको खाका तयार गरिनुपर्दछ । तत्काल भ्रष्टाचारी भनी ठहर गरेका केही व्यक्तिहरूको सम्पत्ति जफत र उनीहरूलाई कानुनी दायरामा ल्याउन पहल गरिनुपर्छ । अपारदर्शी क्रियाकलाप र निर्णय लिने राजनीतिक दलका नेताहरू नै किन नहोऊन्, सबैलाई छानविनको दायरामा ल्याउन सक्नुपर्छ ।

अन्त्यमा, एकताको सुरुवात खराब नियतले उठाइए पनि केही साझा सङ्कल्प सार्वजनिक गर्न सकिएमा यो एकतालाई वास्तविक एकतामा बदल्न सकिनेछ । अन्यथा बाहिरी शक्तिले एकता गर्न नदिएको भनेर मात्र उम्कन पाइने छैन । बाहिरी शक्ति त यहाँसम्म कि अबका २र३ वर्षमा नै यो सरकारले उसको हितमा काम गरेन भने मध्यावधि चुनावमा लैजाने संकेतसमेत गरेको हामीलाई कतै न कतै आभास भइरहेको छ ।

त्यसैले वाम गठबन्धनको असन्तुष्टिबाट फाइदा लिएर हिंसातिर लैजाने शक्तिहरूलाई टेवा दिने वा साँच्चै विकास र समृद्धिद्वारा हिंसालाई रोक्ने ? यो गहन जिम्मेवारी यो गठबन्धनको सरकारको काँधमा छ । त्यसैले आफ्नो मात्रै स्वार्थकेन्द्रित राजनीतिक, आर्थिक र सांगठनिक एकता होइन, मुलुकको कायापलट गर्न सक्ने क्षमताको केन्द्रीकरणसहितको एकता आजको वस्तुगत आवश्यकता हो ।

रातोपाटीबाट साभार

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes