साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा - Pahilo Online

साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा

एसएसपी दिपेश लोहनी बयानका लागि हाजिर, बुधबार २८ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर हुने

writer

पहिलो अनलाइन

विराटनगर । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्याको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीसहित २८ जनाकोे अनुसन्धान पुरा गरेपछि प्रहरीले बुधबार मोरङ अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि उनीहरूको मंगलबार साँझसम्ममा अभियोग पत्र तयार पारी तीन प्रकारको मुद्दा दर्ता गर्ने भएको हो ।

शाक्यको हत्याको आरोप र सुन तस्करी प्रकरणमा पक्राउ पर्नेहरूलाई मानव अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपि अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त चुणामणि उप्रेती गोरेलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टा–छुटै मुद्दा दर्ता गर्नेछ ।

सुन तस्करीलाई सहयोग गरेको आरोपमा पक्राउ परेका ६ जना प्रहरी अधिकारी र नेपाल एयरलाइन्स, थाइ एयरलाइन्सका कर्मचारी गरी १३ जनालाई संगठित अपराधमा मुद्दा दर्ता हुनेछ । शाक्यको शवसहित पक्राउ परेका तीन जना र केहीलाई कर्तव्य, संगठित अपराध तथा मानव अपहरण मुद्दा दर्ता गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

पक्राउ परेर प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी गाविन्द निरौला, बहालवला डिएसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सही बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु बहादुर खड्कालाई संगठित अपराधमा मुद्दा दर्ता गर्ने स्रोतको भनाइ छ ।

त्यस्तै एयरलाइन्सका कर्मचारी सम्बीरप्रसाद तोलाङ्गे, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, पुन्यप्रसाद लामा, एलबी मगर, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु र राजन थापासमेत सोही मुद्दा दर्ता गर्ने बताइएको छ ।

त्यसैगरी शनम शाक्यको शवसँगै पक्राउ परेका मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, हत्यमा संलग्न लाक्पा शेर्पालाई कर्तव्य ज्यान, संगठित अपराध तथा मानव अपहरण्मा मुद्दा दर्ता गर्ने बताइएको छ । पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, भारतीय व्यापारी चाचाजी भन्ने महाविर गोल्याल, मदन घिमिरे, राजेन्द्र शाक्य र राजकुमार समेत संगठित अपराधमा मुद्दा गर्ने भएको छ ।

यसबाहेक उप्रेतीलगायतका केही अभियुक्तलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि मुद्दा चलाइने भएको छ । बुधबार मुद्दा दायर गर्नुपर्ने अन्तिम म्याद भएकाले पक्राउ परेका र फरारविरुद्ध समेत अभियोग दायर गर्ने बताइएको छ ।

संगठित अपराध निवारण ऐन २०७० मा आरोपीलाई बढीमा ६० दिनसम्म राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । सोही अनुरुप प्रहरीले अदालतमा म्याद थप गरी अनुसन्धान गर्दै आएको थियो ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेण्ट लगाएर फागुन १८ गते हत्या गरेको थियो । शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो । सुन तस्करी र शाक्यको हत्याको आरोपमा पक्राउ पर्ने आइतबारसम्म २८ जना पुगेका छन् । उनीहरू अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।

एसएसपी दिपेश लोहनी बयानका लागि हाजिर

यसैबीच साढे ३३ किलो सुन काण्डमा बयानको लागि बहालवाल एसएसपी दिवेश लोहनी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आइपुगेका छन् । छानबिन समितिले एसएसपी लोहनीलाई पत्र काटेको भोलपल्ट मंगलबार दिउँसो मोरङ कार्यालय आइपुगेका हुन् ।

घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो । गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेल नेतृत्वको घटना छानविन समितिले लोहनीलाई झिकाउन मोरङ प्रहरीलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार मोरङ प्रहरीले उपस्थितिका लागि लोहनीलाई पत्र पठाएको थियो ।

उनीसँगै सुरुमै विवादमा तानिएका महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसँग ‘कनेक्सन’ देखिएको भन्दै यसअघि अवकाश प्राप्त पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का पक्राउ परिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes