विराटनगर । विराटनगरमा रहेका किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा वैशाखे पूर्णिमा अर्थात् उभौली पर्व मनाएका छन् ।
किराँती रिति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाइएको हो । पृथ्वीमा कृषि युगको सुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा, सुनुवारले फोलष्याँदर, लिम्बूले चासोक, दुमीले तोसी भन्ने चलन छ ।
अन्नबाली राम्रोसँग सप्रियोस, पानी परोस, किरा, फट्यांग्र्रा तथा जंगली जनावरले दुःख नदिउन, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाईने गरेको किरात राई यायोक्खा नगर कार्य समिति विराटनगरकी अध्यक्ष विष्णु राईले जानकारी दिनुभयो ।
तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङ्गी, किरा फट्यांग्र्रासमेत उँभो चिसो (लेक)तिर बसाई सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको किराँत धर्मका अगुवा बिबी थुलुङ राईको भनाइ छ । ‘पूजा सम्पन्न गर्नका लागि कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडलगायत सामग्री आवश्यक पर्छ,’ थुलुङ राईलेले भन्नुभयो, ‘पूजापछि थानकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ ।’ नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जिव, जनावर, पशुपंक्षी, चराचुरुङ्गीको नक्कल, गरि नाच्ने चलन रहेको छ ।
उभौली पर्वमा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरू कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौंरीको पुच्छर, सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै नाच्नेको विराटनगरमा पनि भीड थियो ।
पर्वको अवसरमा विराटनगर–११ मा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किराँत समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गको बाक्लो मात्रमा सहभागिता थियो । उभौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद विराटनगरका सचिव कुन्ता राईले जानकारी दिनुभयो ।
किरात जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुंगा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्षउल्लासका साथ यो पर्व १५ दिनसम्म मनाईने चलन छ ।
तस्बिरहरू : प्रेम देवान