‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’ - Pahilo Online

‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’

राधजानी सार्ने हल्ला चलाएर मुख्यमन्त्रीलाई असफल बनाउने प्रयास भएको १ नम्बर प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीको भनाइ

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश राजधानी सार्न चलखेल भएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले त्यसको औपचारिक खण्डन गरेको छ ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रवक्ता हिक्मत कार्कीले प्रदेश राजधानीको विषयमा अनावश्यक विवाद सिर्जना गर्ने कोशिस भएको भन्दै राजधानी र प्रदेशको नामको विषय सरकारसँग मात्र सम्बन्धीत नभएको बताउनुभएको हो ।

‘प्रदेशको राजधानी र नामको विषय प्रदेश सरकारसँग होइन प्रदेशसभाको अधिकार क्षेत्रभित्र रहन्छ । त्यसैले सरकारले राजधानी सार्ने तयारी गरेको छ भन्ने हल्ला निराधार र मुख्यमन्त्रीलाई अनावश्यक विवादमा पार्ने उद्देश्यमा आधारित छ,’ प्रवक्ता कार्कीले भन्नुभयो, ‘प्रदेश सरकार त्यसको खण्डन गर्दछ ।’

विराटनगर हरेक दृष्टिले प्रदेश राजधानी बन्न योग्य र उपयुक्त रहेको मन्त्री कार्कीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो ‘विराटनगरबाट सारेर अन्यत्र लैजाने विषयमा सरकारले सोचेको छैन ।’

प्रदेश सरकारले राजधानीको विषयमा पहिलो पटक यति स्पष्ट ढंगबाट मुख खोलेको हो । यसअघि मुख्यमन्त्री तथा सरकारका मन्त्रीहरुले त्यसबारेमा कुनै प्रतिक्रिया दिने गरेका थिएनन् । संसदमा भने प्रदेश राजधानीको विषयमा फरक मत र धारणा देखिएका छन् । सुनसरीको इटहरी, धरान र विराटनगरमा राजधानी रहनुपर्ने मत संसदमा प्रस्तुत हुँदै आएको ।

मन्त्री कार्कीले राजधानी सार्ने हल्ला निराधार भएको भन्दै हल्लाका पछि लाग्न आग्रह गर्नुभएको हो । कार्कीले प्रदेश १ को राजधानी र नामको विषयमा समय लिएर सहमतिका आधारमा निर्णय गर्ने बताउनुभयो । ‘हतार गर्नुपर्ने अवस्था छैन’ मन्त्री कार्कीले भन्नुभयो ‘सहमतिकालागि हामी दुई तीन महिना छलफल गरेर निष्कर्षमा पुग्छौं ।’

प्रदेशको नाममा पनि छलफल

प्रदेशको नामको विषयमा सरकारले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी प्रवक्ता कार्कीले दिनुभएको छ । ‘छलफलका क्रममा पाँच/छ ओटा नाम प्रस्तावित भएका छन्’ प्रवक्ता कार्कीले भन्नुभयो ‘किराँत, लिम्बुवान, सगरमाथा, कोशी, विराट र मेची प्रदेश छलफलमा छ । व्यापक छलफल गरेर हामी सहमतिमै नाम तय गर्ने प्रयासमा छौं ।’

प्रदेश सरकारले आदिवासी जनजाती दिवस, जनै पूर्णिमा र छठ पर्वको दिन प्रदेशस्तरमा बिदा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरेर भगवान कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने रथयात्राको सन्दर्भमा मोरङ र सुनसरीमा र सिरुवा पर्वको सन्दर्भमा झापा, मोरङ र सुनसरीमा मात्र बिदा दिने निर्णय गरेर नयाँ क्यालेण्डर तयार पारेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारसँग सम्वन्धित समाचार प्रकाशन गर्दा सरकारको प्रतिक्रिया अनिवार्य राखिदिन पनि आग्रह गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes