कहाँ होला साढे ३३ केजी सुन ? - Pahilo Online

कहाँ होला साढे ३३ केजी सुन ?

तीन जनाको रहस्यमय मृत्यू भैसक्दा पनि किन खुलेन गायब भएको सुन तस्करी प्रकरणको रहस्य ?

writer

गणेश लम्साल

विराटनगर । साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अरोपि गोरे भनिने मोरङ उर्लाबारी ७ का ३५ वर्षीय चुँडामणी उप्रेतीलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।

तीन जनाको मृत्यु भइसकेको र हालसम्म २३ जना पक्राउ परिसकेको साढे ३३ केजी सुन प्रकरणको संगठित रहस्य पत्ता लगाउन प्रहरीले हालसम्मका मुख्य आरोपि गोरेलाई संसारको जुनसुकै देशमा लुकेर बसे पनि पक्राउ गर्नकालागि इन्टरपोल मार्फत नेपाल प्रहरीले डिफियुजन नोटिस जारी गरेको हो ।

इन्टरपोल मार्फत गरिने डिफ्युजन नोटिस अन्तराष्ट्रियस्तरका ‘मोस्ट वान्टेड’ अपराधीलाई खोज्नका लागि जारी गरिन्छ । मोरङका एसपी अरुणकुमार बिसीका अनुसार सुन प्रकरण काण्डमा ४४ सालदेखिका कारोबारी संलग्न रहेका छन् । छानबिनको दायरामा आरोपि बनाइएका ३८ जनामध्ये २३ जना पक्राउ परिसके पनि अझै संगठित सुन तस्करीको मुख्य योजनाकार को हो भन्ने खुलेको छैन । यसैले हालसम्मका मुख्य आरोपि गोरे पक्राउ परेमा सबै रहस्य बाहिर आउने भएकोले उसलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको हो ।
गोरे पक्राउ परेमा गायब सुन कहाँ छ भन्ने मात्रै खुल्दैन मुख्य योजनाकार को–को हुन र तीन जनाको हत्या किन गरियो भन्ने रहस्य सबै खुल्ने एसपी बिसीको दाबी छ ।

उर्लाबारी–७ पशुपति टोल घर भएका गोरे पूर्व प्रहरी (असई) का छोरा हुन् । उनी भारतीय आर्मीमा जागिरे थिए । स्थानीय तहका फुटबल खेलाडीसमेत रहेका गोरे आर्मीको जागिर छाडेर कुबेत गएपछि रातारात धनी र रहस्यमय व्यक्ति बनेका थिए । उनी पहिलेदेखि नै प्रहरीको मोस्ट बान्टेड सूचीमा थिए । प्रत्यक्ष आफ्नो नाममा सम्पत्ती नराख्ने गोरेले दुई दर्जन महँगा जिप अरू मार्फत चलाउने गरेका थिए । धेरै राजनीतिक व्यक्तिले पनि गोरेले दिएको जिप प्रयोग गर्ने र चुनावी खर्च लिने गरेका थिए । रातारात धनी बनेका गोरे निर्धक्क दान दिन पनि खप्पिस थिए ।

२३ जनालाई तीन–तीन मुद्दा

तेस्रो मुलुकबाट भित्रिएको साढे ३३ केजी सुन गायव प्रकरणमा मोरङ प्रहरीले पक्राउ परेका २३ जनालाई तीन प्रकारको अपराधमा अदालतमा अन्तिम म्याद थप गराएको छ ।

१८ फागुनमा मोरङको उर्लाबारी–१ स्थित जंगलमा उर्लाबारी–७ का युवा सनम शाक्यको हराएको साढे ३३ केजी सुन प्रकरणमा हत्या गरेको खुलेपछि प्रहरीले खोजी सूचीमा राखेका ३८ जना आरोपिमध्ये पक्राउ परेका २३ जनालाई संगठित अपराध, मानव अपहरण र कर्तव्य ज्यान आरोपमा मंगलबार अन्तिम ८ दिनको लागि मोरङ अदालतमा म्याद थप गराएको हो ।

उक्त मुद्दाको अनुसन्धानको म्याद ६० दिनको हुने भएकोले प्रहरीले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला र राप्रपा एकीकृतका नेता भुजुङ गुरुङसहित थाई र नेपाल एयरलायन्सका कर्मचारी, सुन व्यापारी, भरिया र सवारी चालक गरि २३ जनालाई पक्राउ गरि तीन प्रकारको अपराध आरोपमा अदालतमा अन्तिम भ्याद थप गराएको हो । प्रहरीले १९ वैशाखमा सम्पूर्ण अनुसन्धान पुरा गरि सरकारी वकिलको कार्यालय मार्फत् अभियोगपत्र अदालतमा दर्ता गराउनु पर्नेछ ।

कहाँ होला साढे ३३ केजी सुन ?

३३ केजी सुन गायव भएको रहस्यम घटनामा १८ फागुनमा मोरङ उर्लाबारी नगरपालिका–७ का युवा समन शाक्यको सुन पत्ता लगाउने क्रममा गिरोहले जंगलमा करेन्ट लगाएर निर्ममता पूर्वक हत्या गरेको थियो । त्यसछि उक्त घटनामै संलग्न रहेको भनिएका काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरी र अर्का व्यक्तिको पनि रहस्यम मृत्यु भइसकेको छ । तर तीन जनाको मृत्यु भइसके पनि प्रहरीले गायब भएको साढे ३३ केजी सुन कहाँ छ भनेर खुलाउन सकेको छैन ।

कानुन व्यवसायीका अनुसार जबसम्म गायब भएको सुन पत्ता लाग्दैन तबसम्म अनुसन्धान पुरा नहुने भएकोले गायब सुन प्रकरण झन्–झन् रहस्यम बन्दै गइरहेको छ । पक्राउ परेका आरोपि र उनका आफन्तले चाहीं गायब भएको सुन पत्ता नलगाई प्रहरीले खाली आरोप लगाउँदै रिसिइबी साँध्न खोजेको बताएका छन् । यसैले अब प्रहरीलाई अबैध सुन कारोवारमा संलग्नसहित गायव भएको सुन समेत बरामद गरेर देखाउनुपर्ने चुनौती थपिएको छ ।

३३ केजी सुन गायब प्रकरणले झन् अपराध बढाएको र रहस्य पेचिलो बन्दै गएपछि गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेलेको संयोजकत्वमा विशेष अनुसन्धान समिति खटाएको थियो । उक्त टोलीको अनुसन्धान प्रतिवेदन अनुसार घटनामा पञ्चायत कालदेखिका सुन माफिया संलग्न रहेको खुलेको थियो । सुन तस्करीको वर्षौदेखिको जालो पहिल्याएर ध्वस्त बनाउन एकै चोटी अन्त्यमा सबैलाई पक्राउ गर्ने योजना बनाए पनि सुचना चुहिएकोले पूर्वमा रहेका सुन तस्कर भाग्न सफल भएका छन् ।

१८ फागुनमा सुन तस्करीका भरिया भनिएका उर्लाबारीका सनम शाक्यको शव विराटनगर–३ मा बा २ च ५९६३ नम्बरको स्कारपियो भित्र फेला परेको थियो । शाक्यको शव महानगरिय अपराध महाशाखा मोरङ प्रहरीको टोलीले घेराबन्दी गरेर आकस्मिक चेकजाँच गर्ने क्रममा बोरा राखेर डिकीमा लुकाएको अवस्थामा फेला पारेको थियो । त्यसपछि मोरङ प्रहरीले जिप चालक काभ्रेका टेकराजमल्ल ठकुरी र त्यसपछि उर्लाबारीका मोहन काफ्ले, नरेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान थालेको थियो ।

महानगरिय अपराध महाशाखाको टोलीले सनमको हत्या सिरहाको लहानतर्फ भएको भनेर प्रचार गराए पनि हत्या उर्लाबारी–१ को जगलमा सुन पत्ता लगाउन यातना दिँदा भएको खुलेको थियो ।

को छन् अझै फरार

पक्राउ परेका १७ सहित प्रहरीको खोजी सूचीमा रहेका चुँडामणी उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, संदीप खडका, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतम अझै फरार छन् । फरार भएकामध्ये ५ जना हालसम्म मुख्य आरोपि भनिंदै आएका चुँडामणी उप्रेती उर्फ गोरेका आफन्त रहेका छन् ।

फरार मात्र नभएर हालसम्म हत्या काण्डमा संलग्न भनिएका ३८ जना सबै आरोपिको सम्पत्ती प्रहरीले रोक्का गरेको छ । उनीहरूलाई सम्पत्ती शुद्धीकरण अयोगमा पनि मुद्दा दर्ता गराउने योजना प्रहरीको छ । प्रहरीको निवेदन अनुसार मोरङ अदालतले २६ चैतमा संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार आरोपिहरू सबैको बैंक खाता, जग्गालगायत सम्पती रोक्का गर्न अनुमति दिइसकेको छ ।

प्रहरी भित्रैबाट गुपचुप बनाउन खोजिएको उक्त घटनामा महानगरिय प्रहरीका एसपी दिपेश लोहनी र डिएसी प्रति केजीलाई मिलेमतोको आरोप लागिसकेको छ । दुवैलाई अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालयमा तानी सकिएको छ ।

को हुन् २३ आरोपि ?

मोरङ प्रहरीका अनुसार आरोपि बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्र्कीे, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्यान(चाचाजी), राजन थापा, राजेन्द्र कुमार शाक्य, गोविन्द निरौला, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, माधव घिमिरे भनिने मदनप्रसाद घिमिरेलाई मंगलबार मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान, मानव अपहरण तथा संगठित अपराधमा अन्तिम ८ दिनको म्याद थप गरिएको छ ।

एसपी अरुणकुमार बिसीका अनुसार प्रस्तुत मुद्दामा अनुसन्धानको म्याद ६० दिन भएकोले १९ वैशाखसम्ममा सरकारी वकिलको कार्यालयमार्फत अभियोगपत्र अदालतमा दर्ता गराइसक्नु पर्नेछ ।

नयाँ पत्रिका

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes