राजधानी भएसँगै सुरक्षा चुनौति थपियो - Pahilo Online

राजधानी भएसँगै सुरक्षा चुनौति थपियो

विप्लव कार्यकर्ता पक्राउ गर्न विशेष प्रहरी, नाम खुलिसकेका विप्लव माओवादीका सबैजसो नेता कार्यकर्ता भूमिगत

writer

पहिलो अनलाइन

विराटनगर । मोरङमा पछिल्लो समय अपराधिक गतिविधि बढिरहेको छ । सुनकाण्डमा सनम शाक्यको फागुन १८ गते हत्या भयो । त्यही समयमा मिक्लाजुङमा एक महिलाको पनि हत्या भयो । त्यसयता केही दिन बिराएर अपराधिक घटना भइरहेकै छन् ।

मोरङको पछिल्लो ठूलो अपराधिक घटना भनेको धर्मगुरु श्रीनिवासाचार्यमाथिको गोली प्रहार र विराटनगरमा रहेको भारतीय दुताबासमा भएको बम विष्फोटको घटना हो । मोरङमा बढीरहेको अपराधिक गतिविधिले प्रहरी चिन्तित बनेको छ ।

‘फागुन अन्तिमदेखि हालसम्म केही अपराधिक घटना बढेको पाइएको छ,’ मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भन्नुभयो, ‘यस विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराएका छौं ।’

विराटनगरलाई अस्थाइ राजधानी घोषणा गरिएको छ । त्यसै कारण पनि अपराधिक गिरोहले टार्गेट गरेको जस्तो पनि देखिएको प्रहरीको दाबी छ । ‘राजधानी घोषित भएपछि अपराधिक गतिविधि बढ्दा हामीलाई चुनौति भएको छ,’ एसपी बिसीले भन्नुभयो, ‘अहिले जिल्लामा भएको प्रहरीको जनशक्ति र साधन स्रोतमा केही थप गर्नुपर्ने देखिएको छ ।’

मोरङ प्रहरीले केन्द्रसँग समन्वय गरेर आवश्यक जनशक्तिको व्यवस्थापन मिलाइदिन अनुरोध गरेको एसपी बिसीले जानकारी दिनुभयो । ‘अहिले भइरहेको अपराध नियन्त्रणका लागि माथिल्लो निकायको कोर्डिनेसन र सहयोग आवश्यक भएको छ,’ उहाँले भन्नुभयो ।

धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटना नियन्त्रणका लागि केन्द्रबाटै टोली परिचालन गरिएको छ । एसपी बिसीका अनुसार काठमाडौंबाट इन्स्पेक्टरको नेतृत्वमा छानविन गर्न टोली खटाइएको छ । अनुसन्धान टोलीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

विप्लव कार्यकर्ता पक्राउ गर्न विशेष प्रहरी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपराधिक क्रियाकलाप गर्न थालेपछि पक्राउ गर्न प्रहरीले विशेष प्रहरी परिचालन गरेको छ । ‘बम विष्फोट, धाक धम्की, चन्दा आतंकलगायतका अन्य विभिन्न अपराधिक घटनामा संलग्न हुन थालेपछि विशेष प्रहरी परिचालन गरेका छौं,’ एसपी बिसीले भन्नुभयो ।

प्रहरी स्रोतका अनुसार उनीहरूलाई पक्राउ गर्न अभियान चलाइएको थाहा पाएपछि जिल्लाबाट पार्टीमा आवद्ध भएको भनेर नाम खुलिसकेका विप्लव माओवादीका सबैजसो नेता कार्यकर्ता भूमिगत बनेका छन् ।

‘घरघरमा र उनीहरू बस्ने ठाउँको समेत पहिचान गरेर पक्राउ गर्ने योजना अनुरुप प्रहरीको विशेष टोली परिचालन गरिएको थियो,’ प्रहरी अधिकारीले भने, ‘तर त्यसको सुइँको पाउन साथ सबै नेता कार्यकर्ता भूमिगत भइहालेछन् ।’ मोरङमा नेकपामा आवद्ध भएको भनेर नाम खुलेका धेरै नेता कार्यकर्ता प्रहरीको खोजी सूचीमा रहेका छन् ।

भूमिगत बनेपछि उनीहरूको गतिविधि प्रहरीको पहुँच कम भएको ठाउँमा बढेको पाइएको एसपी बिसीले बताउनु भयो । ‘प्रहरीको उपस्थिति कम भएको ठाउँमा उनीहरूको ‘मुभमेन्ट’ बढेको पाइयो,’ बिसीले भन्नुभयो, ‘अहिले जिल्लाका सबै ठाउँमा प्रहरीको उपस्थिति बलियो बनाउँदै लगेका छौं ।’ मोरङ प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न सादा पोशाकमा विशेष प्रहरी परिचालन गरेको बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes