प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप - Pahilo Online

प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप

सोल्टी र मिक्लु खोलाबाट अवैध ढुंगा–गिट्टी विक्री प्रकरण, नगरप्रमुख फागोले भने : नदीजन्य पदार्थ बिक्री भएको छैन, उपप्रमुख भण्डारीले भनिन् : फागोले नदीजन्य पदार्थ बेचे

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलामा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री नगरेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले दाबी गर्नुभएको छ । मंगलबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरी उहाँले सो दाबी गर्नुभएको हो । विभिन्न सञ्चारमाध्यमले आइतबार ‘मेयर फागो नै प्राकृतिक स्रोतको दोहनमा’ भन्ने विषयमा समाचार प्रकाशित गरेका थिए ।

प्रमुख फागोले नदीजन्य पदार्थ निकासीका लागि कार्यपालिकाले निर्णय गरेको उल्लेख गर्नुभएको छ । उहाँले कार्यपालिका बैठकमा भएका निर्णयको माइन्युटको फोटोकपीसमेत सार्वजनिक गर्नुभएको छ । मेयर फागोले बामगठबन्धनको नाममा बेनामा उजुरी गरेर पत्रिका र पत्रकारलाई प्रयोग गरेर एकपक्षीय ढंगले समाचार प्रकाशित भएको आरोप लगाउनु भयो ।

जिल्ला समन्वय समितिले जोखिम न्यूनीकरणका लागि खोला क्षेत्रमा डिपोजिसन हटाउनका लागि नगरपालिकालाई पत्र काटेको र सोही बमोजिम काम गरेको उहाँले बताउनु भयो । सञ्चारमाध्यममा आफूविरुद्ध प्रकाशित भ्रामक समाचारको प्रभावमा नपर्नसमेत नगरप्रमुख फागोले आग्रह गर्नुभएको छ ।

च्यानललाइज भएको बालुवा र गिट्टी ठेकेदार भीम पौडेललाई विक्री वितरण गरेको भन्ने विषयमा पनि प्रमुख फागोले खण्डन गर्नुभएको छ । च्यानलाइजका लागि निकालिएको बालुवा र गिट्टीमध्ये उर्लाबारी वडा नम्बर ४ मा ७ सय टिफर प्रयोग भएको उहाँले दाबी गर्नुभयो ।

यस्तै, अन्य वडामा त्यही अनुसार गिट्टी र वालुवाको प्रयोग भएको उहाँले पत्रकार सम्मेलनमा बताउनु भयो । नदीजन्य पदार्थको विक्री वितरण नभएको पनि उहाँले दाबी गर्नुभयो । च्यानलाइज गर्नका लागि उर्लाबारी नगरपालिकाले ४५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

वडा नम्बर–७ मा रुख काटेको भन्ने विषयमा रुख नकाटेको पनि उहाँले दाबी गर्नुभयो । आमा मिलन केन्द्रको जग्गा लिने प्रक्रियामा उर्लाबारी नगरपालिकाले तयारी गरेको बताउनु भयो ।

यता उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले भने फागोले अवैध ढंगले ढुंगा गिट्टी विक्री वितरण गरेको आरोप लगाउनु भएको छ । ‘च्यानलाइज गर्ने भन्ने विषयमा मिटिङले पास गरेको हो बाहिर बेच्ने दिने भनेर निर्णय भएको छैन,’ भण्डारीले भन्नुभयो, ‘१० हजार घनमिटर नदीजन्य पदार्थले उर्लाबारीलाई पुग्ने र बाँकी नदीजन्य पदार्थ प्रमुख फागोले बेचेको हामीले पाएका छौं ।’

बाम गठन्धनका नेता गंगाप्रसाद बाँस्तोलाले जिल्ला विकास समितिले च्यानल खोल्ने भनेर अनुमति ल्याएपनि नदीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने बताउनु भयो । नगरप्रमुख फागोले एकलौटी रुपमा इटहरीका ठेकेदार भीम पौडेललाई मिलेमतो गरी बेचेको र सीमाना बाँधसम्म निकासी गरेको आरोप लगाएका छन् । यता, उर्लाबारी वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मी धिमालले च्यानलाइजबाट निकासी भएको गिट्टी वडामै प्रयोग भएको बताउनु भएको छ ।

खोलाको करबापत करिब ७ सय टिफरको जनही ६ सय ७५ रुपैयाँ पैसा खोला ठेक्का पाएको ठेकेदारबाट लिएको र लोड कर तिर्न बाँकी रहेको उहाँले बताउनु भयो । लोडिङ बापत ८ सय लाग्ने ठेकेदार पौडेलले आफूलाई भनेको बताउनु भयो । पौडेलबाट रकम लिएको आरोप तपाइँलाई लागेको छ नि भन्ने विषयमा वडाध्यक्ष धिमालले आफू वडा कार्यालमा बसिरहेको बेला ठेकेदार पौडेलले फोन गरेर ‘ल दाई मलाई पनि हुन्छ, तपाईलाई पनि हुन्छ लोडिङ शूल्क चाहिँ लिनुपर्छ है’ भनेको र आफूले अस्वीकार गरेको जानकारी दिनुभयो ।

धिमाललाई पौडेलबाट पैसा खाएको भन्ने आरोप एमालेबाटै निर्वाचित जनप्रतिनिधिले लगाउँदै आएका छन् । ‘पैसा वडाध्यक्ष धिमाल, जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेल वा अन्य कोहीले पैसा खाएको पुष्टि भए कारबाही गरिन्छ,’ बामगठबन्धनका नेता बाँस्तोलाले भन्नुभयो, ‘यो विषय त्यतिकै टुगिंनेवाला चाँही छैन । हामी निरन्तर लागि पर्छाै । गैरकानूनी काम गर्ने जोकोहीलाई कारबाही गर्नुपर्छ ।’

‘रुख कटान विरुद्ध उजुरी’

यसैबीच आमा मिलन केन्द्रको १ विघा १० कठ्ठा र केन्द्र आसपासको २ विघा १० कठ्ठा जग्गाको रुख अवैध ढंगले कटान गरिएको भन्दै स्थानीयले सेक्टर वन कार्यालय मंगलबारे, मोरङमा उजुरी दिएका छन् ।

उर्लाबारीका स्थानीय अग्नी प्रसाद भट्टराई, पदम बहादुर राई, तोर्ण बहादुर श्रेष्ठ र गंगा प्रसाद बाँस्तोलाले संयुक्त रुपमा चोरी निकासीमा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । उर्लाबारी नगरपालिका वडा नम्बर ५ मा कार्यालय रहेको आमा मिलन केन्द्रको नाममा दर्ता कायम रहेको जग्गा र त्यस आसपासको गरी ४ विघाहा जग्गामा रहेका १६ सय रुखहरु कसैलाई थाहै नदिई कटान गरिएको उजुरीमा उल्लेख छ । आमा मिलन केन्द्रलाई समेत जानकारी नदिएको र कुनै पनि निकायसँग समन्वय नगरी राती राति रुख काटेर वेपत्ता बनाएको उजुरीमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes