मेयर खड्ग फागोकै अगुवाईमा प्राकृतिक स्रोतको दोहन : स्थानीय - Pahilo Online

मेयर खड्ग फागोकै अगुवाईमा प्राकृतिक स्रोतको दोहन : स्थानीय

अवैध तरिकाले गिट्टी बालुवा विक्री गरेको रसिद सार्वजनिक

writer

पहिलो अनलाइन

अवैध तरिकाले निकालिएको ढुंगा–गिट्टी विक्रीका लागि लैजाँदै ट्रिफर ।

उर्लाबारी । प्राकृतिक स्रोत र सम्पदाको संरक्षणमा लाग्नु पर्ने व्यक्तिहरू नै नदीजन्य पदार्थको दोहनमा लागेको पाइएको छ ।

पूर्वी मोरङको उर्लाबारीका खोलाबाट नदीजन्य वस्तुको अवैध निकासी भइरहेको पाइएको हो । स्थानीय सोल्टी र मिक्लुक खोलाबाट नदीजन्य पदार्थको चरम दोहन भएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको एकल निर्णय र संलग्नतामा प्राकृतिक स्रोतको दोहन भएको भन्दै स्थानीयले शनिबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीसँग गुनासो राखेका छन् ।

स्थानीयले प्रदेशका मन्त्रीसँगै नगरप्रमुख फागोको मनोमानीविरुद्ध रोष प्रकट गरेपछि प्राकृतिक स्रोतको दोहन भएको खुलासा भएको हो । शनिबार अपरान्ह मन्त्री कार्कीसँगै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य पनि सोल्टी खोलामा भएको दोहनको अनुगमनमा पुगेका थिए । मन्त्रीसहितको अनुगमन टोलीले सोल्टी खोलामा भइरहेको स्रोत उत्खनन् मापदण्ड विपरित भएको भन्दै त्यसलाई रोक्न सिडियोलाई निर्देशन दिएका थिए ।

‘च्यानल’ खोल्ने नाममा नगरप्रमुख फागोले प्राकृतिक स्रोतमा मनोमानी गरेको भन्दै स्थानीयले सत्यतथ्य छानविन गर्न मन्त्री कार्कीसँग माग गरेका छन् । मन्त्रीसहित अनुगमन टोलीमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारी पनि थिइन् । यद्यपि, उनले सोल्टी र मिक्लुक खोलाको दोहनका बारेमा अनभिज्ञता जाहेर गरिन् । उनले कार्यपालिकाको बैठकले ‘च्यानल’ खोल्नका लागि ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णयबाहेक अरू केही नभएको दाबी गरिन् ।

कौडीको भाउमा प्राकृतिक स्रोतको दोहन भएको र मानव वस्ती नै जोखिममा परेको अवगत गराउँदै स्थानीयले मन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई प्रतिप्रश्न गरे, ‘यस्तो वेथिति भइरहँदा तपाईंहरू कहाँ हुनुहुन्थ्यो ?’ अबैध रुपमा खोलाका वालुवा र मिसगिट्टी निकासी भईरहेकाले रोक्न खोज्दा नगर प्रमुख फागोले हप्किदप्की गर्दै थर्काएकोे उर्लाबारी–४ का खेम ढकालले बताए ।

अवैध तरिकाले निकालिएको ढुंगा–गिट्टी विक्री गरेको रसिद

सोल्टी खोलामा ब्याक लोडर र स्काभेटरको प्रयोग गरी दैनिक ४ सय बढी ट्रिफरले नदीजन्य पदार्थ निकासी गर्दै आएको छन् । नगरप्रमुख फागोले पूर्वका नामुद ठेकेदार भीम पौडेललाई निकासीका लागि विना टेण्डर स्वीकृति दिएको र ‘च्यानल’ खन्ने नाममा अबैध तरिकाले निकासी भएको बुझिएको छ । सोल्टी खोलाको उत्खनन्ले प्रभावित क्षेत्रको बेतिनी सामुदायिक वन र वस्तीलाई समेत क्षति पुग्ने भएको बेतिनी सामुदायिक वनका सदस्य मिलन दाहालले भने ।

‘वस्तीलाई क्षति पु¥याउने स्थानमा जिल्ला समन्वय समितिसँग अनुमति लिएर च्यानल खन्न सकिन्छ’’ स्थलगत अनुगमन गर्दै प्रजिअ आचार्यले भने, ‘च्यानल खन्ने नाममा यहाँ अबैध निकासी भएको पाईएको छ, यसको उचित छानविन गरी दोषीलाई कारबाही गर्छौं ।’

जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति ल्याएर निकासी गरिएको भन्ने हल्ला चलाइएको रहेछ भन्दै उनले थपे, ‘ठेक्का नलागेको क्षेत्रमा निकासीका लागि स्वीकृत दिनै मिल्दैन, यो सरासर अवैध हो ।’ यस्तै, मन्त्री कार्कीले ‘च्यानल’ खन्ने नाममा अवैध तरिकाले निकासी भएको प्रमाणित भए कसैलाई उन्मुक्ति नदिने चेतावनी दिए ।

निकासीबाट संकलित रकमका विषयमा पनि छानविन गर्ने मन्त्री कार्कीले स्पष्ट पारे । सोल्टी खोलामा करिब ३ किलोमिटर र मिक्लुकमा ५ सय मिटर क्षेत्रबाट अबैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । बालुवा र मिसगिट्टी प्रति टिफरको ६ सय ७५ रुपैयाँ कर र ८ सय रुपैयाँ लोडिङ बापत रकम लिइएको स्थानीयले मन्त्री र सिडियोलाई जानकारी गराएका थिए ।

गुरागाईले ती रुख कहाँ पु¥याए ?

उर्लाबारी–७ स्थित आमा मिलन केन्द्र र स्थानीयको निजी जग्गाका रुख एक समूहले दिनदहाडै फँडानी गरी निकासी गरेको पाइएको छ । झापा मोरङ सीमावर्ती मावा खोलाको कटान नियन्त्रणका लागि लगाइएका एक हजारभन्दा बढी रुख फँडानी गरिएको हो ।

लाखौं मूल्य बराबरका सिसौ, खयर र मसलाका रुखहरु उर्लाबारी–७ का खगेन्द्र गुरागाईको अगुवाईमा कटान गरिएको स्थानीय कृष्ण लिम्बूले जानकारी दिए । प्रदेश नं. १ का आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले शनिबार रुख कटान भएको स्थानको स्थलगत निरीक्षण गरेका छन् । केही अघि हराभरा रहेको सो ठाउँ रुख कटान भएर उजाड बनेपछि मन्त्री कार्कीसहित प्रदेश नं. १ का सांसद कुशल लिम्बू, उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीको टोलीले निरीक्षण गरेको हो ।

कुनै कानूनी प्रक्रिया नपु¥याएको र सम्बन्धि व्यक्तिको सहमति विना अबैध रुपमा रुख कटानी भएको विषयमा छानविन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउने मन्त्री कार्कीले स्थानीयलाई वचनबद्धता जाहेर गरे । खोलाधार क्षेत्रको संस्था र ब्यक्तिको जग्गामा लगाइएको रुख ‘तस्करी शैली’ मा काटिएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

रातारात ब्याक लोडरको प्रयोग गरी रुखका जरासमेत निकालिएको लिम्बूको भनाई छ । उर्लाबारी नगरपालिकाले खरिद गर्ने भनिएको आमा मिलन केन्द्रको डेढ विघा जग्गा र स्थानीयको एक विघामा लगाइएको झण्डै एक हजारभन्दा बढी रुखहरू काटिएको पाइएको हो ।

खयर, मसला, सिसौलगायतका रुख काटेर कता गायब पारियो भन्ने बारेमा स्थानीय नै अनभिज्ञ छन् । एक जग्गाधनीले भने, ‘मेरो जग्गामा लगाइएका रुख रातारात काटिएछ, मलाई नै यस बारेमा थाहा छैन ।’ आफूले रुखको वापतको रकम पनि नपाएको उनको भनाइ छ । आमा मिलनको जग्गा अझैसम्म उर्लाबारी नगरपालिकाले खरिद गरि नसकेको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेबी भण्डारीले बताइन् । आफूलाई रुख कटानका बारेमा कुनै जानकारीसमेत नभएको उनको भनाइ छ ।

स्रोतका अनुसार उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको रोहवरमा आमा मिलन केन्द्रका केही पदाधिकारी र रुख कटान गरी गायब पार्ने गुरागाइँबीच डेढ लाख रुपैयाँको घटना गुपचुप गराइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes