सोल्टी खोलामा व्यापक अवैध उत्खनन् - Pahilo Online

सोल्टी खोलामा व्यापक अवैध उत्खनन्

वातावरणीय परीक्षण नगरेको स्थानबाट ढुंगा–गिट्टी उत्खनन् गरेर विक्री गरेको पाइएको छ : प्रजिअ आचार्य

writer

पहिलो अनलाइन

विराटनगर । पूर्वी मोरङमा रहेको उर्लाबारीमा अवैध ढंगले खोला उत्खनन् तथा वन फँडानी भएको पाइएको छ ।

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले अवैध उत्खनन् भएको पाएको हो ।

उर्लाबारीको वडा नम्बर ४ को सोल्टी खोला, उर्लाबारी १ को मिक्लु खोलामा अवैध उत्खनन् भएको तथा उर्लाबारी ७ मा रहेको वन व्यापक फडानी भएको अनुगमन टोलीले फेला पारेको हो । अनुगमनमा मन्त्री कार्कीसहित प्रदेशसभा सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतको सहभागीता थियो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले वातावरणीय परीक्षण नगरेको स्थानबाट सोल्टी खोलामा ठेकेदार कम्पनीले ढुंगा गिट्टी उत्खनन् गरेको र विक्री गरेको पाइएको बताउनु भयो । उहाँका अनुसार खोलामा थुप्रिएको गिट्टी बालुवा साइड गर्न अनुमति दिइएको भएपनि सामाग्री विक्री वितरण गर्न दिइएको थिएन ।

तर, उक्त ठेकेदार कम्पनीले ढुंगा गिट्टी व्यापक मात्रामा बिक्री गरेको स्थानीय सरकारी प्रतिनिधि र जनप्रतिनिधिले जानकारी दिएको आचार्यले बताउनु भयो । ‘विक्री गरेको रसिदको खोजी गरि पाइएको खण्डमा तुरुन्त ठेक्का प्रक्रिया रद्ध गर्न मैले सम्बन्धीत निकायमा आवश्यक निर्देशन दिएको छु,’ आचार्यले भन्नुभयो, ‘च्यानलाइजका नाममा गिट्टी बालुवा बिक्री गरेको पाइएको छ ।’ उक्त ठेकेदार कम्पनीका मालिक इटहरीका व्यवसायी भीम पौडेल हुन् ।

स्रोतका अनुसार सोल्टी खोलामा मापदण्ड विपरीत ३ किलोमिटरसम्म ढुंगा गिट्टी उत्खनन् गरेको र विक्री गरिएको छ । यस्तै मिक्लु खोलामा पनि ५ सय मिटरसम्म अवैध ढंगले ढुंगा गिट्टी निकालेर विक्री गर्ने गरेको पाइएको छ । यस्तै उर्लाबारी ७ मा ३ विगाहा क्षेत्रफलमा रहेको आमा मिलन केन्द्रको नीजि जंगल फडानीको नाममा सरकारी पर्ती जग्गाका रुख पनि कटान गरेको पाइएको बताइएको छ ।

‘नीजि जंगल फडानी गर्न वन कार्यालयको अनुमति पनि लिएको देखिएन,’ स्रोतले भन्यो, ‘सरकारी पर्ती जग्गाका रुख कटान गरेको उजुरी पनि परेको छ ।’ प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नीजि जंगलको नाममा सरकारी जग्गाका रुख काटिएको विषयमा अनुगमन गर्न जिल्ला वन र स्थानीय सरकारी निकायलाई निर्देशन दिइएको छ । त्यस्तो पाइए जो सुकैलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes