विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश समितिको निर्वाचनका लागि पत्रकारहरुको दौडधुप सुरु भएको छ ।
प्रदेशको अस्थायी राजधानी विराटनगरमा रहेको नेपाल पत्रकार महासंघ मोरङलाई प्रदेश पत्रकारको उमेदवारी मनोनयन गर्ने केन्द्र तोकिएपछि मोरङमा उमेदवारका आकांक्षीहरुको चहलपहल बढेको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशित गरेसँगै उमेदवारका आकांक्षीहरु मतदातासम्म छलफलमा लागेका छन् । पत्रकार सम्बद्ध संगठनहरुले उम्मेदवार छनौटको अन्तिम चरणमा छन् ।
पत्रकार महासंघलाई साझा संगठनको रुपमा स्थापित गर्न र संक्रमणकालिन प्रदेश संरचनालाई व्यवस्थापन गर्न भन्दै पत्रकारसँग आवद्ध मुख्य तीन संगठन नेपाल प्रेय यूनियन, प्रेस चौतारी र प्रेस सेन्टरबीच सहमतिय निर्वाचन प्रणालीमा जाने समझदारी बनिसकेको छ । साझा संस्थामा सहमतीय प्रणालीको नेतृत्व स्थापित गर्ने प्रयास केन्द्रीय तहबाटै भएको हो ।
प्रदेश नम्बर १ को अध्यक्षमा प्रेस चौतारीले बिक्रम लुईटेललाई पठाउने निर्णय गरिसकेको छ । यस्तै प्रेस सेन्टरको भागमा परेको महासचिवमा विवेक गौतमलाई पठाउने निर्णय उम्मेदवार छनौट समितिले गरेको छ । उम्मेदवारको औपचारिक घोषणा भने दुबै संगठनले गरेका छैनन् ।
औपचारिक घोषणा नभएपनि अहिलेसम्म प्रेस चौतारी र प्रेस सेन्टरले महासंघमा पठाउने उमेदवारको नाम टुङ्ग्याईसकेका छन् । प्रेस चौतारीको भागमा परेको अध्यक्षमा लुईटेलसहित समावेशी सचिवमा बुद्धबीर राई (सोलुखुम्बु) कोषाध्यक्षमा अम्बिका भण्डारी (झापा)ले उमेदवारी दिनुहुने भएको छ ।
यसैगरी सदस्यमा उपेन्द्र चाम्लिङ (सुनसरी), शशी कोइराला(सुनसरी), तिर्थ सिग्देल(झापा), सुमित्रा कोइराला (उदयपुर) र सन्तोष रुचाल(धनकुटा) लाई उठाउने निर्णय गरिएको छ ।
प्रेस सेन्टरले महासचिवमा गौतमसहित महिला उपाध्यक्षमा स्मिता निरौला (धनकुटा), खुल्ला सचिवमा हरीकुमार राई (उदयपुर)सहित सदस्यहरुमा जयकृष्ण यादव (सुनसरी), केशव लामा (ताप्लेजुङ), बिमल लामिछाने (झापा), रिता मोक्तान (सुनसरी) लाई उठाउने निर्णय गरेको छ।
प्रेस यूनियनको भागमा परेको खुल्ला उपाध्यक्षसहित बाँकी ६ सदस्यहरुको भने बिहीबार साँझसम्म टुङ्गो लागिनसकेको प्रेस यूनियनका उपाध्यक्ष लिलाबल्लभ घिमिरेले बताउनुभयो । युनियनबाट उपाध्यक्षमा घिमिरे र इलामका सोम सुसेली आकांक्षी छन् ।