जनयुद्ध स्वीकार नगरे समस्या आउँछ - Pahilo Online

जनयुद्ध स्वीकार नगरे समस्या आउँछ

पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई । आ–आफ्नो ठाउँमा, आ–आफ्नो भूमिकामा रहन सक्नुप¥यो । यदि ऐतिहासिक सच्चाईलाई स्वीकार्न गा¥हो लाग्छ भने किन जबर्जस्ती गर्नुपर्यो ?

writer

प्रचण्ड, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

नयाँ वर्षलाई हामीले स्वागत गर्दैगर्दा २०७४ लाई कसरी समिक्षा गर्नुहुन्छ ?
२०७४ साल अविस्मरणीय वर्षको रूपमा नेपालको इतिहासमा रहन्छ । किनभने गत वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन होला कि नहोला भन्ने निकै ठुलो सन्त्रास नेपाली जनताको मनमा थियो । एउटा शङ्का व्याप्त थियो । समस्या र चुनौतीहरू पनि धेरै थिए । ती सबैको सामना गरेर देशलाई निर्वाचनतिर लैजाने चुनौति हामीसामु थियो । मैल प्रधानमन्त्रीको रूपमा स्थानीय तह निर्माण गर्ने कुरा र स्थानीय तहको निर्वाचनतिर देशलाई लैजाने कुरालाई प्राथमिकतामा राखेर कैयन् अप्ठ्यारा र जटिलताका पहिलो निर्वाचन मेरो नेतृत्वमा गर्न सफल भएको थियो ।

पहिलो चरणको निर्वाचन सकेर मैले जतिबेला प्रधानमन्त्री पद हस्तान्तरण गरेँ नेपाली काँग्रेसका सभापतिलाई पुरै आत्मविश्वासको साथ गरेको थिएँ । अब यो रोकिँदैन, बीचमा अड्किने ठाउँ कतैपनि छैन भनेर नै मैले हस्तान्तरण पनि गरेँ । साँँच्चै मैले परिकल्पना गरेजस्तै, मैले सोचेजस्तै रोकिएन पनि र अहिले तीनै तहको निर्वाचन पनि सम्पन्न भयो ।

भनेपछि यसलाई सफल वर्षका रुपमा लिनुहुन्छ ?
हो, २०७४ साललाई हामीले बिदा गर्दै गर्दा एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी चरित्रको संविधान कार्यान्वयनको एउटा असाध्यै महत्त्वपूर्ण वर्षका रूपमा नेपालको इतिहासले सम्झनेछ । अहिले हामी २०७५ मा प्रवेश गरेका छौं । अब यो २०७५ चाहिँ स्थिरता र विकासको वर्ष हो । विकासले एउटा नयाँ गति लिएको वर्ष हो । यो वर्षलाई अहिलेसम्म नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न राज्यको तर्फबाट विशेष पहलको वर्षको रूपमा सम्पन्न गर्ने हाम्रो इच्छा र प्रयास छ।

गत वर्ष ऐतिहासिक राजनीतिक परिघटना विकास गर्नुभएको छ । २०७५ मा यहाँको आफ्नो सङ्कल्प के छ ?
देशमा राजनीतिक स्थायीत्व र सुशासन, पारदर्शी, भ्रष्टाचारमुक्त शासनको शुरुवात तथा विकासका दीर्घकालीन, मध्यकालीन र अल्पकालीन परियोजनाहरू अगाडि बढाउने वर्षको रूपमा यो जाओस् भन्ने मैले चाहेको छु। दोस्रो, त्यही उद्धेश्यको निम्ति नै हामीले कम्युनिस्ट एकता, वामपन्थी एकताको कुरा गरेका हौं ।

साझा घोषणा र साझा उम्मेदवार बनाएर चुनाव लड्यौँ । हाम्रो घोषणालाई र सङ्कल्पलाई नेपाली जनताले भरोसा गरेर अत्यधिक बहुमत दिएपछि हामीले सोचेजस्तै त्यो आधार तयार भएको छ । यो आधारलाई सुदृढ गर्ने र वामपन्थी एकतालाई अझ सफलतापूर्वक सम्पन्न गराउने र विकासलाई अझ गति दिने नै हाम्रो २०७५ को मोटामोटी परिकल्पना छ ।

अब पार्टी एकतापछिको नयाँ बाटोको अवसर र जोखिमलाई कसरी हेर्नुहुन्छ ?
जतिबेलादेखि मैले एउटा पार्टीको नेतृत्व सम्हालेँ, त्यतिबेलादेखि नै बस्तुगत परिस्थितिको आँकलन गरेर भविष्य यस्तो होला भन्ने परिकल्पना गरेर थोरै जोखिम उठाउने नै मेरो विशेषता रहँदै आयो । मेरो स्वभाव भनौँ, मेरो चरित्र भनौँ, त्यस्तो हुँदै आयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको समयमा म भर्खरै पार्टीको महासचिव भएको थिएँ । हामी सानो भएपनि त्यो परिस्थितिको सबै आँकलन गरेर एकताकेन्द्र बनाउने, अनि पाँच वर्षपछि फेरि माओवादी बनाउने, त्यसपछि जनयुद्धमा जाने, त्यसपछि शान्ति प्रक्रिया, त्यसपछि संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र अहिले फेरि वामपन्थी एकतामार्फत देशमा स्थिरता र विकास ल्याउने भनेर यी परिकल्पना र जोखिमहरू श्रृङ्खलाबद्ध रूपले अगाडि आएका छन् ।

अहिले जनताको मुख्य चाहना विकास र समृद्धि रहेको छ । तीव्र विकास होस, छिटोछिटो गाउँघरमा सबैतिर विभिन्न खालका विकास र परियोजनाहरू आउन भन्ने छ । यही प्रक्रियाबाट नै त्यो विकास सम्भव छ भनेर नै कम्युनिष्ट एकता र वामगठबन्धनको नयाँ अध्यायको शुरुआत गर्न चाहेका हौं ।

विकास, समृद्धि र न्यायको संघर्षमा यो नयाँ मोडप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
मैले एउटा कुरा के भन्ने गरेको छु भने राजनीतिमा चालिने कुन पहल (स्टेप)ले राष्ट्र र जनताको बढी हितगर्छ भन्ने कुरा परिस्थिति अनुसार हेरफेर भईराख्छ । एउटै भईराख्दैन । मान्छेहरूले एउटा मात्रै परिकल्पना गरेर हिँडे भने त्यसैमा यथास्थितिमै चलिराख्न बढी सजिलो मान्छन् । तर, नेतृत्वको विशेषता परिस्थितिले माग गर्ने बित्तिकै फड्को हान्ने हुनुपर्छ । दायाँ हान्नुपर्ने हो कि, बायाँ हाँन्नु पर्ने हो कि, अघि बढेर जानुपर्ने हो कि, अलिकति पछि हट्नुपर्ने हो कि ? भन्ने निर्णय गर्ने त्यस्तो काम पार्टी र लिडरले गर्छन् । विज्ञानले र इतिहासले हामीलाई सिकाएको पनि त्यही कुरा हो ।

अहिले पनि हामी एउटा प्रक्रियाबाट अघि बढेका छौं, हाम्रो लक्ष चाहिँ एउटै रहन्छ– राष्ट्रको र जनताको हित, स्थायीत्व र विकास । तर, त्यसलाई प्राप्त गर्ने विधिमा यदि बाटोमा अवरोध आयो भने, अहिले हामीले चाल्न खोजेको बाटोमा अवरोध देखियो भने त्यसलाई पन्छाएर फेरि अर्को ढङ्गले पहल लिन पनि तयार हुनुपर्छ भन्ने लाग्छ मलाई ।

राजनीति सम्भावनाको खेल पनि हो । भन्नुको तात्पर्य त्यसलाई विशुद्ध खेलको रूपमा नभएर परिस्थितिमा हेरफेर भयो भनेपछि त्यो हेरफेर भएको कुरालाई ठिक ढङ्गले आँकलन गर्ने, मूल्याङ्कन गर्ने र अर्को कदम चाल्न जरुरी प¥यो भने अर्को कदम चाल्न पनि तयार हुने कुरा भन्न खोज्ने हो मैले । अहिले पनि ती संभावनाहरुतिर मेरो ध्यान चाहिँ छ ।

राजनीतिलाई दशकौंदेखि आफ्नो वरिपरी केन्द्रित गर्न सक्नुभएको छ । अबको बाँकी राजनीति कसरी अगाडि बढ्ला ?
हो, झन्डै ३० वर्षदेखिनै मैले लिएको पहल वा अगाडि सारेका मुद्दहरु राष्ट्रिय राजनीतिको केन्द्रमा हुनु, विद्रोह हुनु, शान्ति हुनु, संविधान बन्नु, एउटा ठुलो यूग नै परिवर्तन हुने गरी राजनीतिक परिवर्तन हुनु, राजतन्त्रबाट गणतन्त्रमा जानु सामान्य कुरा होइन । यो सबै हुनु र त्यो सबै प्रक्रियामा म नेतृत्वमा रही राख्नु मेरो लागि गर्वको कुरा हो । बिरलै एउटै मान्छे विद्रोहको पनि नेता, शान्तिको पनि नेता, संविधानको पनि नेता, सबै भूमिकामा निरन्तर रहिराख्ने र टिकिराख्ने भन्ने सामान्य कुरा होइन । यो गौरव मलाई प्राप्त भयो । नेपाली जनताले मेरो पार्टीले मलाई त्यो जिम्मेवारीमा राखिराख्यो, त्यो भरोसा गरिराख्यो । मेरो लागि यो खुसीको कुरा हो ।

अर्को पाटोमा जाँदा मेरो स्वभाव, मेरो प्रवृत्ति, मेरो राजनीतिक इतिहासले अर्को १० वर्ष म सक्रिय राजनीति गर्छु भन्ने विश्वास छ । म ६४ भएँ, ७४÷७५ सम्म म सक्रिय रहन्छु भन्ने प्रण छ । अहिले कतिपयले पार्टी एकता, वाम गठबन्धनबाट तुलनात्मकरुपमा एजेन्डा त माओवादीकै छ, प्रचण्ड नेतृत्वकै एजेन्डाहरूमा देश त चलेकै छ। तर, संख्या सानो भएको हुनाले अब प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न उठाएका छन् । तर, मेरो स्वभावले दिँदैन तल बस्न । तल पर्नै दिँदैन, मेरो चरित्रले दिँदैन ।

यदि मैले त्यहाँ अवरोध देखेँ, यी एजेन्डा कमजोर पार्ने, नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्नपर्छ जस्तो लाग्दैन मलाई । त्यो भत्काएर पनि अगाडि बढिहाल्छु । तर, अहिले भत्काउनपर्ने स्थिति चाहिँ बन्या छैन । मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ ।

दुईवटा भिन्न स्कुलिङ्ग र फरक कार्यशैली भएको सङ्गठनहरू एक हुने क्रममा जाँदा तपाईले भनेजस्तो होला र ?
पार्टी र आन्दोलनमा अन्ततः विचार र राजनीतिक मुद्दा नै प्रधान हुन्छ । विचार कस्तो र प्रवृत्ति के भन्ने कुरा नै मूल राजनीतिक मुद्दा पनि हो । अहिले नेपालमा जुन राजनीतिक परिवर्तन भएर नयाँ संविधान कार्यान्वयनमा गएको छ, त्यसमा हाम्रो छाप छ, माओवादीको छाप छ । यो कुरालाई सबैले स्वीकारेका छन् र स्वीकार्नुपर्छ । यो कम्युनिस्ट एकताको प्रक्रियामा पनि यो कुरा स्वीकारिनु पर्दछ ।

माओवादी आन्दोलनको त्याग, तपस्या, बलिदान, एजेन्डा, सबैका कारणले नै मुख्य रूपमा यो परिवर्तन भएको हो भन्ने कुरा स्वीकार्ने बित्तिकै समस्या आउँछ जस्तो लाग्दैन । तर, यसलाई स्वीकार्न कसैलाई गाह्रो लाग्छ भने समस्या आउनसक्छ। पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई । आ–आफ्नो ठाउँमा, आ–आफ्नो भूमिकामा रहन सक्नुप¥यो । यदि ऐतिहासिक सच्चाईलाई स्वीकार्न गा¥हो लाग्छ भने किन जबर्जस्ती गर्नुपर्यो ? रोईरोई त एकता हुँदैन नि । हाँसिखुसी हुने हो एकता । मलाई विश्वास छ, माओवादी केन्द्र र नेकपा एमालेका साथीहरू पनि सबै हाँसीखुसीमा नै दुईवटैको सम्मान हुने गरी इतिहासको सच्चाईलाई पनि स्थापित गर्ने गरी नै एकता हुन्छ भन्ने मेरो विश्वास छ ।

एकताको प्रक्रियामा देखिएका जटिलताहरु के हुन् ?
एकताको प्रक्रियामा दुर्इवटा कार्यदलले आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको स्थिति छ । हामी दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र मैले पढेर त्यसलाई अन्तिम रुप दिन सकेका छैनौं । अहिले उहाँले पक्कै पढ्नुभएको होला । मैले पढेँ । अब एकचोटी पार्टी एकता संयोजन समिति बसेर ती विषयमा छलफल गरेर अन्तिम निर्णय गर्नु बाँकी छ ।

एकता प्रक्रियामा अबरोध आएको र विादका सिर्जना भएको चर्चा छ । के हो वास्तविकता ?
अब एउटा कुरा के हो भने दुईवटा पार्टी, दुईवटा वैचारिक धारा र दुईवटा आन्दोलनको विकासबाट आएका छौँ । त्यसकारण त्यसलाई सम्मानजनक एकताको मोडालिटी खोज्ने चुनौति छ । केही कुरा हामीले टुंग्याई नै सकेका छौँ । दुईवटा अध्यक्ष रहने प्रणालीबाट जाने भनेर । अहिलेलाई महाधिवेशनसम्मका लागि । तर, त्यो दुईवटा अध्यक्ष वास्तवमा नै दुईवटै अध्यक्ष कार्यकारी हुन्छन् कि एउटा अध्यक्ष सेरेमोनियल, एउटा अध्यक्ष एक्जुकेटिभ हुने अवस्था हो भन्ने कुरा निक्र्यौल भएको छैन । दुबै कार्यकारी भन्दा समस्या पार्छ । त्यसको मोडालिटी कसरी प्रयोगमा आउँछ भन्ने पनि कुरा छ ।

त्यसैगरी हिजोको इतिहासलाई कसरी मूल्याङ्कन गर्ने, जनयुद्धको भूमिका, जनयुद्धलाई, जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि छ । त्यसपछि एकता गर्दाखेरी ठ्याक्कै केन्द्र र तलका कमिटीहरू के आधारमा निर्माण गर्ने भन्ने कुरा छ । हामीले सम्मानजनक र बराबरीको सिद्धान्तमा टेकेर एकताको मोडल तय गर्नुपर्छ भन्ने कुरा छलफल भैराखेको छ । त्यसपछि निर्वाचन चिन्ह कस्तो हुने भन्ने कुरा पनि छलफलमै छ ।

मुख्य कुरा मैले अघि भने नि अहिलेको परिवर्तनको बिचार र आन्दोलनको यथोचित सम्मान र मूल्याङ्कन धेरै महत्त्वपूर्ण कुरा छ । यो सम्मानजनक भएको जस्तो लागेन यो वा त्यो पक्षलाई भने फेरि एकता जटिल हुनसक्छ । एकतामा केही ढिलाइ हुन सक्छ । फर्किने कुरा त सोच्दै नसौँचौँ, अगाडि नै जाने हो अहिले । छलफल पनि सकारात्मक नै छ फेरि, नकारात्मक भयो भन्ने पनि होइन । तर केही विषय प्रतिवेदन आईसकेपछि टुङ्गो लगाउनुपर्ने चाहिँ पक्कै पनि छ ।

भनेपछि छिटै पार्टी एकता हुन्छ भनेर विश्वास गर्न सकिने अवस्था हो ?
आशामात्रै होइन त्यसमा भरोसा नै गर्नुपर्ने हुन्छ । मैले फेरि भने नि राजनीति सम्भावनाको खेल हो भन्ने कुरालाई पनि ब्याक अफ द माईण्ड, दिमागको एउटा कुनामा त त्यो पनि राखिराख्नु पर्छ । अन्धो भएर एकतातिर भन्ने चाहिँ हुँदैन ।

२०७५ को सुरुवातमा नेपाली जनतालाई तपाईको सन्देश के छ ?
म आम नेपाली जनतालाई पहिला त बधाई र शुभकामना भन्न चाहन्छु । आम नेपाली जनताको सक्रिय सहभागितामा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर त्यो संविधान कार्यान्वयनको निम्ति जुन निर्वाचन भयो त्यसको निम्ति म विशेष रूपले आम नेपाली दिदीबहिनी दाजुभाइहरूलाई बधाई दिन चाहन्छु ।

पहिलो कुरा नेपाली जनाताको सक्रिय सहभागिता बिना यो ऐतिहासिक कार्य सम्पन्न गर्न सम्भव थिएन । दोस्रो कुरा देशलाई स्थायीत्व र विकास पनि आम जनताको सङ्कल्प र सक्रियताबिना सम्भव छैन । त्यसको निम्ति म हार्दिक अपिल पनि गर्न चाहन्छु ।

 एभरेष्टदैनिक अनलाईनबाट साभार तथा संपादित

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes