बम विष्फोटबाट छियाछिया बालक - Pahilo Online

बम विष्फोटबाट छियाछिया बालक

उपचारका लागि छैन रकम

writer

पहिलो अनलाइन

विराटनगर । त्रियुगा नगरपालिका–१३ का मनिकुमार राई चैत २८ गते साँझ घरमा बसिरहेका थिए । एक्कासी उनलाई खबर आयो साथीहरुसँग खेल्न निस्किएको छोरो बम खेलाउने क्रममा विस्फोटमा परेर सख्त घाइते भयो ।

गम्भिर घाइते भएका १४ वर्षे छोरो पारस राईको अहिले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको छ । पैसाको अभावले परिवारलाई भने बालकको उपचार पुरापुर हुँदैनकी भन्ने चिन्ताले सताएको छ । ‘उपचार गराउने विषयमा सबैले सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ पीडित बालकका बुबा मनिकुमार राईले भन्नुभयो, ‘म सँग पैसा छैन, निर्दोश छोरा भेन्टिलेटरमा राखेको छु, औषधिको पैसा, अस्पतालको पैसा दिन सकेको छैन ।’

उदयपुर त्रियुगा नगरपालिका–१३ पुरानो हवाईफिल्डस्थित थरुहट–त्रियुगा रंगशाखामा बम पड्किएर पारस घाइते भएका थिए । पारसको घाँटीदेखि मुनि बमका छर्राले नलागेको ठाउँ छैन । निम्न आर्थिक अवस्था राईले आफ्नो छोरा पारसको उपचारका लागि सरकारी पक्षबाट सहयोग हुने आशा राखेका छन् ।

‘सहयोग गर्छु भन्दै सांसद र मन्त्री पनि आए’, उनले भने, ‘तर, अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन् । औषधि, आइसियु भेन्टिलेटर चार्ज, अपरेसन चार्ज र खाने बस्ने खर्चको जोहो गर्न मलाई गाह्रो भइरहेको छ ।’

बालकलाई ल्याउँदा एम्बूलेन्समा लागेको ९ हजार ५ सय बाहेकको खर्च दिनसक्ने अवस्थामा आफून भएको राईको भनाइ छ । उपचारमा संलग्न डाक्टर अभिषेक चौधरीका अनुसार उनलाई अझै डेढ देखि ३ महिनासम्म उपचारको समय लाग्नेछ । जसका लागि पुरापुर उपचार गर्न ४ देखि ५ लाख रुपैयाँसम्म लाग्छ । ‘बालकको उपचारका लागि अझै ३ महिनासम्म लाग्न सक्छ,’ चौधरीले भन्नुभयो, ‘अपरेसन चार्ज, भेन्टिलेटर चार्ज देखि औषधिको सम्म जोड्दा उपचार सकिँदासम्ममा ४/५ लाख खर्च लाग्न सक्छ ।’

अस्पतालले उपचारको क्रम नसकिएसम्म पैसा नमाग्ने बताएको भएपनि औषधिको व्यवस्था भने आफैं गर्न भनिसकेको छ । अस्पतालका अध्यक्ष डाक्टर कैलाश श्रेष्ठले आफूहरुले उपचार अवधिभर रकम नमागे पनि डिस्चार्ज गर्ने बेलामा रकम दिनुपर्ने बताउनु भयो । ‘हामीले बालकका परिवारलाई अहिलेसम्म कुनै रकम मागेका छैनौं,’ श्रेष्ठले भन्नुभयो, ‘औषधिको जिम्मा भने हामी लिन सक्दैनौं ।’ उनको उपचारमा पुरै फ्रि गराउन भने आफूले नसक्ने उहाँको भनाइ छ ।

गरिबिले पिरोलिइरहने राईलाई बमको शिकार भएको छोरा बचाउने अर्को पीर थपिएको छ । गत चैत २८ गते साँझ बम विष्फोटमा परेका पारसको घाँटीदेखि मुनिका विभिन्न भागमा बमका छर्रा लागेको छ ।

उपचारमा संलग्न चिकित्स चौधरीका अनुसार बम विष्फोटले बालकको कलेजोमा असर गरेको छ, करङको हड्डी भाँचिएको छ, ठूलो आन्द्राको बोसो बाहिर निस्किएको छ, पेटको दाहिने पट्टि एपेन्डिक्स फुटेको छ र पेटको देब्रेतर्फ ठूलो आन्द्रामा पनि असर देखिएको छ । बिना कारण राखिएको बम विष्फोटमा परी घाइते बालकको उपचारमा सरकारी तबरबाटै सहयोग हुनुपर्ने पीडित राई बताउँछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes