ग्राहकको भीड थाम्न सकेन भाटभटेनीले - Pahilo Online

ग्राहकको भीड थाम्न सकेन भाटभटेनीले

हजारौं ग्राहक ओइरिएपछि २ बजेबाट सुपरमार्केटको गेट बन्द

writer

पहिलो अनलाइन

विराटनगर । करिब एक अर्ब रुपैयाँको लगानीमा विराटनगरको धरानरोडमा सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटको उद्घाटनको दिन उर्लिएको भीड थाम्न नसक्दा बिचमै बन्द गर्नुपरेको छ ।

नयाँ वर्षको अवसर पारेर शनिबार सञ्चालनमा आएको सुपरमार्केटमा नगरवासीहरु ओइरिएपछि अपरान्ह २ बजेबाट सुपरमार्केट बन्द गरिएको हो ।

उपभोक्ताहरुको भीड थाम्ने अवस्था नभएपछि कुनै अप्रिय घटना नहोस् भनेर बिचमै बन्द गरिएको व्यवस्थापन पक्षले जनाएको छ । बिहानैबाटै अबलोकनकर्ता र उपभोक्ताहरु अपेक्षा गरिएभन्दा बढि ओइरिएपछि सुपरमार्केटका सञ्चालक र आन्तरिक सुरक्षाकर्मीहरु अत्तालिएका थिए ।

सुरक्षाको लागि प्रहरीको साथ लिएपनि भीड थाम्न नसकेपछि सुपरमार्केट प्रवेश गर्ने गेट बन्द गरिएको थियो । हजारौं नगरवासीहरु सुपरमार्केटमा केन्द्रित भएपछि कोशी राजमार्गको सवारी आवागमनमा पनि समस्या देखिएको थियो ।

विराटनगरमा पहिलोपटक ठूलो सुपरमार्केट सञ्चालन भएको र नयाँ वर्ष तथा शनिबारको विदासमेत भएकोले उपभोक्ताहरु भाटभटेनीमा केन्द्रित भएका थिए । नयाँ वर्षमा घुम्नयोग्य ठाउँ विराटनगरमा कतै नभएकोले पनि नयाँ वर्ष मनाउनेहरु सुपरमार्केटमा केन्द्रित हुँदा समस्या देखिएको थियो ।

आइतबारबाट शनिबारजस्तो अवस्था नहुने र सहज रुपमा सुपरमार्केट सञ्चालन हुने व्यवस्थापन पक्षले जनाएको छ । साढे आठ कट्ठा क्षेत्रफलको १ लाख ४५ हजार वर्गफटमा निर्माण गरिएको भाटभटेनी सुपर मार्केटमा करिब १ लाख २५ हजार प्रकारका सामान राखिएको सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिनुभयो ।

सुपरमार्केटमा सामान खरिद गरेपछि विल भुक्तानी गर्दै मुख्यमन्त्री शेरधन राई । मार्केटमा उहाँले एउटा टावेल खरिद गर्नुभएको थियो ।

सुपरमार्केटको एक समारोहबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । काठमाडौंमा स्थापना भएको भाटभटेनीको विराटनगरमा सञ्चालनमा आएको १५ औं शाखा हो ।

एक नम्बर प्रदेश केन्द्रीत सुविधा सम्पन्न सुपरमार्केटको सेवा उपलब्ध गराउने सोचका साथ सञ्चालनमा ल्याएको सञ्चालकले जनाएको छ । उपभोक्ताहरुको सहजको लागि सुपर मार्केटभित्र लिफ्ट र एस्किलेटरसहितको व्यवस्था छ । विराटनगरमा एस्किलेटरको प्रयोग पहिलो पटक भएको हो ।

सुपर मार्केटको भूई तलामा खाद्यान्न सामग्री र पहिलो तलामा भान्साका सामग्री (किचन वेयर) र श्रृंगार–प्रशोधन (कस्मेटिक) का सामग्री राखिएका छन् । दोस्रो तलामा रेडिमेड गार्मेन्ट, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक्स तथा चौथो तलामा फर्निचर राखिएका छन् । त्यस्तै पाँचौं तला मनोरञ्जन सेवाका लागि दुई वटा सिनेमा हलको व्यवस्था गरिएको छ । साथै फुड कोर्ट

रेस्टुरेन्टको व्यवस्था पनि रहेको छ । सिनेमाको जिम्मा क्युएफएक्सले लिएको छ ।

भाटभटेनीले सम्पूर्ण ग्राहकका लागि हरेक सामानमा न्यूनतम १० प्रतिशत छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ । यो सुविधा सुपरमार्केट सञ्चालन भएको एक महिलासम्म लागू हुनेछ । सस्तो र सरल मूल्यमा सामाग्रीहरु विक्री गर्ने लक्ष्य राखिएको सुपरमार्केटका सिइओ पानु पौडेलले बताउनुभयो ।

भाटभटेनी सुपरमार्केटले जोगवनी जाने उपभोक्ताहरुलाई विराटनगरमै रोक्ने अपेक्षा गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes