विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आगामी वर्ष १ नम्बर प्रदेश स्वस्थ्य प्रदेश हुने बताउनु भएको छ । सामाजिक विकास मन्त्रालयले घोषणा गरेको ‘मेरो वर्ष–२०७५’ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले ७ वटा प्रदेशमध्ये १ नम्बर प्रदेश नमूना हुने दावी गर्नुभयो ।
मुख्यमन्त्री राईले सबैलाई स्वस्थ्य रहनका लागि गरिएका ८ प्रतिबद्धता पालना गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट गरिएका ८ प्रतिबद्धतामा हस्ताक्षर पनि गरिएको छ ।
प्रतिबद्धताहरुमा म प्रदूषण नियन्त्रणमा सजग गर्दै आफ्नो घार आँगन, चर्पी र समुदाय सफा राख्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म स्वस्थ्य र पोषिलो खाना खान्छु, म नियमित व्यायाम गर्छु, म रक्सी, चुरोट र सूर्तिजन्य पदार्थबाट टाढै रहन्छु, म तनावरहित जीवनशैली आत्मसाथ गर्छु र म ट्राफिक नियमको पालना गर्छु भन्ने रहेको छ । विराटनगरस्थित रामजानकी सेवा सदनमा आयोजित कार्यक्रममा योगअभ्यास पनि गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ पदाधिकारी, कर्मचारी, उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो ।