१ नम्बर प्रदेशसभामा प्रदेश प्रमुखको सम्बोधन - Pahilo Online

१ नम्बर प्रदेशसभामा प्रदेश प्रमुखको सम्बोधन

सरकारको नीति तथा कार्यक्रमको झल्को

writer

विराटनगर । सरकारको नीति तथा कार्यक्रमको झल्को दिनेगरी १ नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभालाई सम्बोधन गर्नुभएको छ ।

डाक्टर तुम्बाहाङले २० बुँदामा समेटेको सम्बोधनमा सुसाशन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र समृद्धिका विषय उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नीति तथा रणनीतिहरु तयारी गरी सोको कार्यान्वयनमा जोड दिने बताउनु भयो । ‘सार्वजनिक प्रशासनलाई स्वच्छ र सक्षम तुल्याइनेछ,’ तुम्बाहाङले भन्नुभयो, ‘कर्मचारीतन्त्रमा शुद्धीकरण ल्याउन आवश्यक कदम चालिने छ । मानवअधिकारको संरक्षणमा जोड दिइनेछ, भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै, दण्डहिनता र अपराध नियन्त्रणमा प्रभावकारिता ल्याइनेछ ।’

कृषियोग्य भूमिको उत्पादकत्व वृद्धिका लागि भूउपयोगको संम्भाव्यता अध्ययन थालिने, खण्डीकरणलाई निरुत्साहित गरी चक्लाबन्दीको नीति अवलम्बन गरिने, साना तथा मझौला किसान सहकारीको माध्यामबाट आय आर्जन र जीवनस्तरमा सुधार ल्याउने निती अबलम्बन गरिने उहाँले बताउनु भयो ।

यस्तै प्रदेशको पहिचानको रुपमा रहेका बालिहरु चिया, अदुवा, अलैंची, जुट, अम्लिसो, रुद्राक्षलगायतको उत्पादकत्व वृद्धि गरी व्यवसायीक बनाइने, चिया र अलैंची जस्ता नगदे बालि विकासका लागि अर्गानिक जोन बनाउन अध्ययन कार्यको थालनी गर्ने, दूध, अण्डा र मासुमा आत्मर्भिर हुनेगरी स्वस्थ मासु र यसको बजारीकरणलाई सुदृढ र सबल बनाउने कार्यक्रम लागू गर्ने पनि सम्बोधनमा उल्लेख छ ।

प्रदेश प्रमुख डाक्टर तुम्बाहाङले दक्ष र उच्च दक्ष जनशक्तिको उत्पादनलाई प्राथमिकता दिन युनिभर्सिटीको व्यवस्था गर्ने, लोककल्याणकारी राज्यको अवधारणाबमोजिम रुपान्तरण गर्न सडक बालबालिका, जेष्ठ जागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, विधवा तथा एकल महिलालगायत अति विपन्न वर्गलाई व्यवस्थित गर्ने कार्यको थालनि गर्ने बताउनु भयो ।

यस्तै प्रदेशको विकासको मेरुदण्डको रुपमा रहेको जोगवनी–विराटनगर–धरान–किमाथांका सडकलाई उच्च प्राथमिकताका साथ यथाशिघ्र कार्यान्वयन गर्न संघीय सरकारसँग पहल गर्ने, वातावरणीय असन्तुलनलाई हटाउन ‘एक घर पाँच विरुवा’को कार्यक्रमलाई स्थानीय निकायसँग समन्वय गरी अनिवार्य कार्यान्वयन गर्ने, जनता आवास कार्यक्रम अन्तर्गत मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा आवास इकाई स्थापना गर्ने, नयाँ सहरको विकास तथा स्मार्ट सिटी निर्माणको लागि उपर्युक्त ठाउँहरुको पहिचान गर्न विस्तृत अध्ययन कार्यको थालनी गर्ने पनि सम्बोधनमा उल्लेख छ ।

यस्तै सम्बोधनमा अरुण तेस्रो, माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण, विराटनगरको एयरपोर्टलाई स्तरोन्नती गरी अन्तराष्ट्रिय उडानको लागि पहल गर्ने, कर तिरे विकास हुन्छ भन्ने भावनाको विकास गराउँदै करको दायरा फराकिलो पार्ने, सुरक्षित प्रदेश पर्यटनको आधार बनाउने, मापदण्ड विपरीतका प्लाष्टिकका झोला र वातावरण प्रतिकूल असर पार्ने सामाग्रीको प्रयोगलाई निषेध गर्ने नीति लिने उल्लेख छ ।

प्रदेश प्रमुखको सम्बोधन पारित

बिहिबार दिउँसो बसेको पहिलो बैठकमा प्रदेश प्रमुखले प्रस्ताव गरेको सम्बोधन प्रदेशसभाको दोस्रो बैठकले पारित गरेको छ ।

प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखको सम्बोधन संसदमा टेबुल गर्नुभएको थियो । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङले प्रदेश प्रमुख तुम्बाहाङलाई धन्यवाद दिनुभएको थियो ।

त्यसलगत्तै एमालेका तर्फबाट राजकुमार ओझाले सर्मथन गरेसँगै सम्बोधन प्रदेशसभाबाट पारित भएको घोषणा गरियो । प्रदेशसभाको पहिलो बैठक १५ मिनेट चलेको थियो भने दोस्रो बैठक ५ मिनेटमा सकियो ।

आजै दिउँसो ४ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक वर्ष २०७४/०७५ को बजेट पेश गर्ने कार्यक्रम छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes