विराटनगर । १ नम्बर प्रदेश सरकारले प्रदेशमा केन्द्र सरकारले कटौती गरेको सार्वजनिक विदामा २ दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विदा सम्बन्धी निर्णय गरेको हो ।
थप विदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ । यस्तै मन्त्रीपरिषद्को बैठकले छठ पर्वका दिन पनि प्रदेशभरी विदा दिने निर्णय गरेको छ । केन्द्र सरकारले भने छठ मनाउने जिल्लाहरुमा मात्रै विदा दिने निर्णय गरेको थियो ।
यस्तै मन्त्रीपरिषद्को बैठकले गाउँसभा र नगरसभा संचालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणिकरणका विधेयक पनि पारित गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय पनि गरेको छ । उक्त राजपत्रमा सरकारको अध्यादेश र ऐनहरू, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रोमा प्रकाशित गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।