श्रीनिवासाचार्यमाथि गोली प्रहार घटना : थप दुई पक्राउ - Pahilo Online

श्रीनिवासाचार्यमाथि गोली प्रहार घटना : थप दुई पक्राउ

घटनामा कुनै प्रमाणका संकेतसम्म नभेटिँदा प्रहरीलाई अनुसन्धानमा कठिनाई भएको छ

writer

विराटनगर । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट १ जना र सुनसरीबाट १ जना पक्राउ गरेको जनाएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा संलग्न रहेको आशंकामा थप दुई जना पक्राउ परेको पुष्टि गरेको भएपनि नाम भने खुलाउन चाहनुभएन । ‘हामी अनुसन्धानको क्रममा रहेका छौं, थप दुई जनालाई पक्राउ गरिएको छ,’ एसपी बिसीले भन्नुभयो, ‘सत्यतथ्य पत्ता लागेपछि हामी सार्वजनिक गर्छौं ।’

यसअघि नै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा विराटनगरबाट २ जना पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विराटनगर–१६ जतुवाका राजनकुमार यादव र विनोद दास रहेका छन् । पक्राउ परेकाहरुलाई म्याद थप गरेर बयान लिने काम गरिरहेको एसपी बिसीले जानकारी दिनुभयो ।

विराटनगर–१४, जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेका स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका स्वामीको अवस्था खतरामुक्त रहेको न्यूरो अस्पताल प्रशासनले जनाएको छ । लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन् ।

घटना अनुसन्धानमा कठिनाई

आचार्यमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धान छिटो टुंग्याउने दबाब प्रहरीलाई छ । ज्ञापन पत्र बुझाउने र घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई दबाब दिन दिनहुँ मोरङको जिल्ला प्रशासन कार्यालय पुग्ने हुलको अझै कमि भएको छैन ।

आचार्यको उपचार भइरहेको स्थान न्यूरो अस्पतालमा उहाँका समर्थक र शुभचिन्तकको भीड त्यतिकै मात्रामा लाग्ने गरेको छ । प्रहरीले अनुसन्धानको क्रम काहाँ पु¥याएको छ भन्ने सबैलाई चासो छ । मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले घटनाको अनुन्धानमा आफूहरु गम्भीर भएर लागिरहेको बताउनु भयो ।

मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार अहिले प्रहरी इन्स्पेक्टर सुवास भट्टराईको नेतृत्वमा ५ सदस्यीय टोलीले २४ सै घण्टा घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । ‘हामीले अनुसन्धानका लागि टोली खटाएका छौं, टोलीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ,’ एसपी बिसीले भन्नुभयो, ‘त्यसबाहेक जिल्लाको पुरै प्रहरी पनि घटनाको अनुसन्धानमा सघाइ रहेको छ ।’

प्रहरीले घटनालाई दुईवटा कोणबाट हेरिरहेको बिसीले बताउनु भयो । ‘धार्मिक हिंसा फैलाउने उद्देश्यले भएको हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ भने अपराधिक गतिविधिमा संलग्नले गरेको हो कि भन्ने विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।

यद्यपि प्रहरीलाई घटनाको अनुसन्धान गर्न निक्कै समस्या भएको बिसीले बताउनु भयो । ‘राती भएको घटनामा संलग्नको हुलिया पनि पहिचान हुन सकेको छैन, भारतीय नम्बर प्लेटको मोटरसाइकल भएको बताइए पनि कति नम्बर भन्ने पत्ता लागेको छैन,’ बिसीले भन्नुभयो, ‘घटनामा कुनै प्रमाणका संकेतहरु पनि नपाउँदा अनुसन्धान अत्यन्तै जटिल भइरहेको छ ।’ बिसीले घटनामा संलग्नलाई ढिलो चाँडो पक्राउ गर्ने बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes