सांसदको सवालमा प्रदेश सरकारको जवाफ - Pahilo Online

सांसदको सवालमा प्रदेश सरकारको जवाफ

संसदमा श्रीनावासाचार्यमाथिको आक्रमणकारीलाई कार्वाहीको माग

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश १ को प्रदेशसभा सदस्यहरुले सुन्य समयमा उठाएको विभिन्न सवालमा सरकारले नियमित रुपमा जवाफ दिने भएको छ ।

केन्द्रीय संसदमा सांसदहरुले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको गुनासो आइरहेको बेला प्रदेश सरकारले भने सांसदहरुले बैठकमा उठाएका सवालहरुमा आगामी बैठकमा जवाफ दिने भएको हो ।

यसअघि बसेको संसद बैठकको सुन्य समयमा प्रदेश सांसदहरुले उठाएका विभिन्न सवालमा सरकारको तर्फबाट बुधबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जवाफ दिनुभएको थियो । उहाँले उहाँले सांसदहरुले उठाएका समस्या समाधानको लागि प्रदेश सरकारले आफ्नो भूमिका खेल्ने र संघीय सरकारको मातहतका काम सम्पन्न गर्न पहल गर्ने बताउनुभयो ।

हुलाकी राजमार्गको काम छिटो अगाडि बढाउन संघीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले कामको अनुगमन गर्ने जानकारी दिँदै मन्त्री कार्कीले अबैध सुरपारीको कारोबार नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले पहिरो र बाढी पीडितको राहत र पुनस्र्थापनाको लागि पनि सम्बन्धित जिल्ला र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । मन्त्री कार्कीले प्रत्येक सांसदले यसअघिको बैठकमा उठाएका सवालबारे एक÷एक गर्दै जवाफ दिनुभएको थियो ।

सुन्य समयमा कसले के भने ?
त्यसअघि बुधबारको बैठकको सुन्य समयमा सांसदहरुले धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको निन्दासहित विभिन्न सवालहरु उठाएका थिए । सुन्य समयमा बोल्दै सांसदहरुले धर्मगुरुमाथि भएको आक्रमणको छानविन गरी दोषीलाई कार्वाही गरेर शान्ति सुरक्षा मजबुद बनाउन सरकारसँग माग गरे ।

राप्रपाका प्रदेश सांसद इन्दिरा राईले धर्मगुरुमाथिको आक्रमण र धार्मिक पर्वहरुको विदा कटौतीले सनातन धर्म संकटमा परेको बताउनुभयो । उहाँले धर्मगुरुमाथिको आक्रमण गम्भीर विषय भएको भन्दै दोषीलाई छिटोभन्दा छिटो कार्वाही गर्न माग गर्नुभयो । धार्मिक पर्वमा गरिएको विदा कटौती फिर्ता गर्न पनि उहाँले संघीय सरकारसँग माग गर्नुभयो ।

मोरङका नेपाली काँग्रेसकी सांसद शान्ता पौडेलले भने धर्मगुरुमाथिको आक्रमणले असुरक्षा बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले चैत १६ गतेको असिनापानीले दक्षिणपूर्वी मोरङका किसानको बालीमा क्षति पुगेको जानकारी दिँदै राहत दिन माग गर्नुभयो ।

मोरङकै एमाले सांसद राजकुमार ओझाले विराटनगरबाट विराटचौक जोड्ने सडक ४ लेनको बनाउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका सडकको स्तरोन्नती र कालोपत्रे गर्नुपर्ने विषय उठान गर्नुभएको थियो ।

संखुवासभाका एमाले सांसद तुलसी न्यौपानेले बसन्तपुर मुढे चैनपुर सडक निर्माणमा भएको अनियमितता छानविन गरी छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न प्रदेश सरकारले ध्यान दिनुभपर्ने बताउनुभयो । उहाँले सशस्त्र द्वन्द्वको क्रममा सरकारी कार्यालय आगजनी हुँदा कागजात जलेकोले संखुवासभाको जग्गाको तत्काल नापी गरेर नयाँ पुर्जा वितरण गर्न माग गर्नुभयो ।

मोरङका काँग्रेस सांसद लोकप्रसाद संग्रौलाले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज र सुविधायुक्त अस्पताल तत्काल सञ्चालन गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले गैरकानुनी रुपमा बैज्ञानिक वन व्यवस्थापनमा रोक लगाउँदा सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल त्यसलाई खुल्ला गर्न माग गर्नुभयो ।

इलामका माओवादी सांसद धिरेन्द्र शर्माले इलाममा हरेक वर्ष ९ लाख पर्यटक आउने गरेकोमा ६ लाख सुर्योदय नगरपालिकामा आउने भएकोले सो नगरपालिकालाई पर्यटकीय नगरपालिका घोषणा गर्न माग गर्नुभयो । यस्तै किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थान इलामकै मांसेबुङ गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्ने बताउनुभयो । उहाँले चिया खेती पूर्वी नेपालमा भएपनि चिया विकास बोर्ड काठमाडौंमा रहेकोले त्यसलाई प्रदेश सरकार मातहत ल्याउन सुझाब दिनुभयो ।

पहिले पटक विषेश समय
प्रदेशसभामा पहिलो पटक बुधबारको बैठकमा विषेश समय लिएर सांसदहरुले आफ्नो कुरा राखेका छन् । ओखलढुंगाका माओवादी सांसद मोहनकुमार खड्काले विषेश समय लिएर सम्बोधन गर्दै ओखलढुंगाको लिखु गाउँपालिकाका आध्यक्ष गोविन्दबहादुर पौडेलमाथि मंगलबार राति भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कार्वाहीको माग गर्नुभयो ।

जिल्लामा स्थानीय तहहरुमा प्रहरी युनिट नहुँदा शान्ति सुरक्षामा चुनौति थपिएको भन्दै सांसद खड्काले प्रदेश सरकारले यसमा तत्काल ध्यान दिनुपर्ने बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes