विराट गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा - Pahilo Online

विराट गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा

थ्री स्टारका बिमलले २ र अनन्त तामाङले गरे १ गोल

writer

पहिलो अनलाइन

विराटनगर । विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा सम्पन्न विराट गोल्डकप च्याम्पियन बनेको छ ।

सहिद रंगशालामा फ्लडलाइटमा सोमबार भएको डे–नाइट फाइनल खेलमा ३–० को फराकिलो गोल अन्तरले सिजनकै सर्वाधिक उपाधि जितेको टिम आर्मीलाई निराश बनाउँदै थ्रीस्टारले उपाधि कब्जा गरेको हो । थ्रीस्टारको जितमा अनन्त तामाङले एक र विमल घर्तीमगरले दुई गोल गरे । विराट गोल्डकपसँगै थ्रीस्टारले सिजनमा पाँचौं उपाधि उचालेको छ । सन्तोसजनक खेल पस्कन नसक्दा आर्मी सिजनको आठौं उपाधिबाट विमुख बन्यो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५६ औं मिनेटमा गोलको खाता खोलेको थ्रीस्टारले त्योसँगै आर्मी विरुद्ध तीन गोल वर्षायो । थ्रीस्टारका रजिन धिमालको कर्नर प्रहारमा अनन्त तामाङले हेडमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाउँदा आर्मी दवावमा प¥यो । ७६ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–० को अवस्थामा आयो ।

आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र विदेशी खेलाडी मार्टिनलाई तानेर लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाउँदा विमल चुकेनन् । ८८ औं मिनेटमा विमलले अन्तिम गोल थप्दै खेललाई ३–० को अवस्थामा ल्याएपछि आर्मी सम्हालिन सकेन । डिबक्स नजिकैबाट उनले गरेको सिधा प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले ‘क्याच’ गर्न नसक्दा कुथुकै हातमा ठोक्किएर बलले जाली चुम्यो ।

खेललाई पूरै नियन्त्रणमा लिएको थ्रीस्टारले गोल गर्नका लागि पाएका अरु आधा दर्जन अवसरको सदुपयोग गर्न सकेन । ३८ औं मिनेटमा आर्मीका भरत खवासको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार बाहिरिएपछि आर्मीले खेलमा लय गुमायो । त्यस लगत्तै आर्मीका स्टार खेलाडी नवयुग श्रेष्ठले थ्रीस्टारका खेलाडीलाई विट गर्दै गरेको प्रहारमा गोलरक्षक न्यौपाने बाधक बन्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ७५ औं मिनेटमा नवयुगको प्रहारलाई सुमन अर्यालले उत्कृष्ट हेडिङ गरे पनि गोलरक्षक न्यौपानेले ‘क्लियर’ गरिदिँदा आर्मीले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।

घरेलु मैदान आर्मीका कप्तान भरत खवासका लागि अफापसिद्ध भयो । स्टार खेलाडी नवयुग श्रेष्ठले प्रदर्शन पनि सन्तोशजनक रहेन । आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीलाई ‘मार्किङ’ गर्न नसक्दा निराशाजनक नतिजा हात पारेको बताए । ‘सुरुदेखिनै थ्रीस्टारले प्रेसर दिएर खेल्यो,’ उनले भने, ‘हाम्रा मिडफिल्डरले स्ट्राईकरलााई बल ‘सप्लाई’ राम्रोसंग गर्न सकेनन् ।’ न्यौपानेले पाएका मौकालाई सदुपयोग गर्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आत्मावल नगिराईकन र विपक्षीलाई प्रेसर दिएर खेल्दा नजिता आफ्नो पक्षमा परेको प्रतिक्रिया दिए ।

यी दुई टिमबीच सिजनमा विराट गोल्डकप चौथो भेट थियो । चौथो भेटमा एकअर्कामा बराबरी जित हारको अवस्था रहयो । यस अघि खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले आर्मीले थ्रीस्टारलाई स्तब्ध बनाएको थियो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसंग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भयो ।

सिजनको अन्त्य हुँदा थ्रीस्टारले विराट गोल्डकपसंगै पाँचवटा उपाधि हात पारेको छ । यसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि यस अघि नै जितिसकेको छ । आर्मीको सिजनमा आठौं उपाधि हत्याउने इच्छा विराट गोल्डकपमा भने पूरा हुन सकेन । उसले यस अघि विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन भम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ ।

गोल्डकप विजेता टिम थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेता आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यानअफ दी म्याच थ्रीस्टारका मार्टिनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । म्यान अफ दी टुर्नामेन्ट घोषित थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए । उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवार, डिफेन्समा आर्मीका विमल पाण्डे घोषित भए । उनीहरुले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता विमल घर्तीमगरले पनि २५ हजार पाए । उनले प्रतियोगिता भर चारवटा गोल गरेका छन् ।

विजयी टिम तथा उत्कृष्ट खेलाडी, टिम, प्रशिक्षक र व्यवस्थापकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार लगायतले पुरस्कार वितरण गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes