भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको प्रतिक्रिया - Pahilo Online

भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको प्रतिक्रिया

त्रिभुवन विमानस्थलमा ओलीले भन्नुभयो, ‘मेले केही भनिरहनै पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगारेन भने नेपाल–भारत सम्बन्ध सँधैका लागि सुधारिएको छ ।’

writer

पहिलो अनलाइन

काठमाडौं । तीनदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आइतबार साँझ स्वदेश फर्किनुभएको छ । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा जानुभएको थियो ।

स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो भ्रमण सफल भएको दाबी गर्नुभयो । ‘मेले केही भनिरहनै पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगारेन भने नेपाल–भारत सम्बन्ध सँधैका लागि सुधारिएको छ,’ उहाँले भन्नुभयो, ‘हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् । नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण कुनै बनावटी र देखावटी नभएको दाबी गर्दै एक मित्रको निमन्त्रणामा लोकतान्त्रिक प्रणाली र जनमत लिएर गएको र भारतले स्वागत गरेको बताउनु भयो ।

‘काठमाडौं रेल आउने कुरा भएको छ । नदीबाट आवागमनको प्रबन्ध मिलाउँदै छौं । सीमा विवादलगायतका विषयमा गम्भीर कुरा भएको छ । कृषिको आधूनिकीकरणको विषयमा कुरा भएको छ,’ ओलीले भन्नुभयो ।

आफूले मित्रता खुलस्त, खुलापन, पारस्पिरिक सम्बन्ध, सर्वभौमिता, दुवै देशको हित र पारस्पिरिक लाभको आधारमा हुने पनि भारतीय पक्षसँग खुलस्त राखेको बताउँदै ओलीले न्यायोचित बाहेक अरु ढंगबाट सञ्चालन गर्न खोजे राम्रो नहुने भनेर भारतीय प्रधानमन्त्रीलाई बताएको जानकारी दिनुभयो ।

एक्काइसौं शताब्दीमा छिमेकी मुलुक र अन्य विश्वसँग कसरी सम्बन्ध राख्ने भनेर प्रष्टसँग राखेको पनि ओलीले बताउनु भयो । प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सम्बन्ध सुधारका विविध आयामका विषयमा विषयमा कुरा गरिएको बताउँदै भूकम्पपछिको पुननिर्माणको लागि भारतीय प्रतिवद्धता, पञ्चेश्वर जस्ता परियोजना अघि बढाउने विषयमा पनि छलफल गरिएको जानकारी दिनुभयो ।

विगतका परियोजना अघि बढाउन सरकारले भारतसँग गम्भिर वार्ता गर्दै अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको उदघाटन गरिएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गर्नुभयो भने मोतिहारी अमलेखगञ्जसम्मको पेट्रोलियम पाईपलाईन विस्तारको पनि उद्घाटन गरिएको थियो ।

भारत भ्रमणकै अवसरमा प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि एवम प्रोद्योगिक विश्वविद्यालयले विद्यावारिधिको उपाधि समेत प्रदान गरेको थियो । भारत बसाईका क्रममा प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुसँग सामूहिक छलफल गरी नेपालमा लगानी भित्र्याउन पनि आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रहँदा समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, व्यापारी र विभिन्न राजनीतिक दलक नेतासँग भेटघाट गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes