विराट गोल्डकप उपाधि भिडन्त : आर्मी र थ्रीस्टार को बलियो ? - Pahilo Online

विराट गोल्डकप उपाधि भिडन्त : आर्मी र थ्रीस्टार को बलियो ?

भरत खवासको कप्तानीमा स्टार खेलाडी नवयुग श्रेष्ठ आर्मीमा छन् भने निराजन खड्काको कप्तानीमा चर्चित खेलाडी विमल घर्तीमगर थ्रीस्टारमा छन्

writer

विराटनगर । चिरप्रतिद्वन्द्वी विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि सोमबार मैदानमा उत्रँदैछन् ।

निरन्तरताको ३२ औं र विराट गोल्डकप नामाकरण भएपछिको पाँचौ संस्करणको उपाधि रक्षाका सहिद रंगशालामा दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् ।

आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या ५ पु¥याउने दाउमा छ । झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको थियो । संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले उपाधि होडमा आर्मीसँगको भेट पक्का गरेको हो ।

दुबै टिमले उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही अनुसारको तयारी गरेको बताएका छन् । यो सिजनमा यी दुई टिमबीच चौथो पटक भेट हुँदैछ । तेस्रो पटकसम्मको स्पर्धामा आर्मी दुईवटा र थ्रीस्टारले एउटामा जित हात पारेको अवस्था छ । खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले थ्रीस्टारलाई आर्मीले स्तब्ध बनाएको थियो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसँग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भएको थियो ।

यो सिजनमा ११ वटा प्रतियोगितामा सहभागी भएकोमा ७ वटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभिट्टा, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ । १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले ८ वटामा फाइनल पुगेपनि उपाधि भने इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको जितेको छ ।

वर्षमा राम्रो प्रस्तुती दिइरहेको आर्मीका सामु थ्रीस्टारलाई जित निकाल्न भने त्यति सहज छैन । खेलमा फर्किएपछि तीन महिनाको समयमा राम्रो प्रगति गरेको थ्रीस्टारको चुनौती पन्छाउनु पनि आर्मीलाई चुनौतिपूर्ण छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए । न्यौपानेले मजवुत टिम भएकाले दुबै टिमबीचको प्रतिष्पर्धा ५०/५० को अवस्थामा रहने उल्लेख गरे । आर्मी भरत खवासको कप्तानीमा स्टार खेलाडी नवयुग श्रेष्ठ लगायतलाई लिएर मैदानमा जाँदैछ ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँग यस अघि दुईवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिएको बताए । आर्मीका पूर्व प्रशिक्षकसमेत रहेका उनले थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने रणनीति रहेको बताए । सुरुवाती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने उनको बुझाइ छ । निराजन खड्काको कप्तानीमा मैदानमा जाने तयारीमा रहेको थ्रीस्टारका साथमा जापानीज खेलाडी ताकायु, स्टार खेलाडी विमल घर्तीमगर, बुद्ध चेम्जोङ र विदेशी खेलाडीहरु मार्टिन र पिटर लगायत छन् ।

प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिंदै आएको छ ।

म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताउनुभयो । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ । आयोजकले गोल्डकपमा सहभागि सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes