
विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई विराटनगरमा अज्ञात समूहले गोली हानेको छ ।
गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आचार्यको दाहिने पट्टिको माथिल्लो भागमा गोली लागेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
विराटनगर–१४, जतुवास्थित श्री राम जानकी मन्दिरमा आजदेखि हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन आचार्य हिजो विराटनगर आउनु भएको थियो । आचार्यलाई आज बिहानको राती पौने २ बजे गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँले गोली प्रहार गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको बताउनुभयो । गोली प्रहार भएको घटनास्थलमा चेतावनीयुक्त पर्चा भेटिएको छ ।
पर्चामा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ । श्रीनिवास आचार्य हिन्दूराज्य नेपालको स्थापनार्थ अभियान चलाउँदै आउनुभएको छ ।

यो जातिय द्वन्द निमत्यायर देशलाई विखन्डनको दल्दलमा लैजाने माफिया जस्ले बाइबलको नाममा डलरको खेती गरि परापुर्व कालदेखी कायम हिन्दुहरु माथिको आक्रमन हो।यस्तो कार्यको सबैमिलेर प्रतिकार गरौ।