बजार अनुगमन शून्य - Pahilo Online

बजार अनुगमन शून्य

अनुगमन गर्ने निकाय वाणिज्य कार्यालयमा कर्मचारी नै छैनन् भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वको आपूर्ति समिति सक्रिय छैन

writer

विराटनगर । मोरङको बजार अनुगमन र कालोबजारी नियन्त्रण गर्ने वाणिज्य कार्यालयमा १ वर्षदेखि ३ जना कर्मचारी मात्रै छन् ।

१ जना उपसचिव, २ जना शाखा अधिकृत, ३ जना नासुको दरबन्दी रहेको वाणिज्य कार्यालयमा यतिबेला न उपसचिव न शाखा अधिकृत नै छन् । त्यहाँ २ जना नासु छन् र करारमा राखेका १ जना प्राविधिक कर्मचारी मात्रै छन् । कार्यालयको निमित्त प्रमुख पनि नासुलाई नै दिइएको छ ।

अनुगमनका लागि अनुरोध गर्दै सर्वसाधरण कार्यालयमा पुगे पनि कार्यालयमा कर्मचारी नहुँदा बजारमा कालोबजारी मौलाएको छ । वाणिज्य कार्यालयका निमित्त प्रमुख कुमार प्रसाद दाहालले बजार अनुगमनको काम गर्न नसकिएको बताउनु भयो ।

‘अनुगमन चाहिं शून्य नै छ, अनुगमनका लागि बजारमा निस्कन जनशक्ति चाहियो, म मात्रै निस्किएर पनि भएन, अर्को एकजना साथी लिएर जानै प¥यो,’ दाहालले भन्नुभयो, ‘३ जना कर्मचारी बजार अनुगमनमा गएपछि कार्यालयमा ताला लगाउनु बाहेक अर्को विकल्प हुँदैन, त्यसपछि कार्यालय आउने सेवाग्राहीले कसरी सेवा पाउँछन् ।’

कर्मचारी अभावको विषयमा लिखित रुपमा जानकारी दिएको बताउँदै दाहालले सम्बन्धीत निकायले अहिलेसम्म कुनै जवाफ नदिएको बताउनु भयो । अनुगमन नभएको भएपनि मोरङमा बजारको अवस्था राम्रो रहेको दाहालको भनाइ छ ।

‘मोरङमा सबै राम्रो छ, देशभरको अन्य ठाउँको जस्तो मोरङमा कालोबजारी छैन,’ दाहालले भन्नुभयो, ‘१ वर्षदेखि अनुगमन चाहिं गरिएको छैन ।’

अनुगमनको जिम्मा पाएको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि कर्मचारी पठाउने पहल गरेको छैन । बजार अनुगमन गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको नेतृत्वको आपूर्ति समिति र वाणिज्य कार्यालयको हो ।

तर, विराटनगरलगायत मोरङमा आपूर्ति समिति निस्क्रिय हुँदा र वाणिज्य कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित भइरहेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलको भनाइ छ । ‘वाणिज्य कार्यालयमा साधन छ स्रोत छ खर्च गर्ने रकम पनि छ,’ ढुंगेलले भन्नुभयो, ‘कर्मचारीको अभावका कारण त्यहाँबाट अनुगमन हुन सकेको छैन ।’

संविधानमा बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई दिने भनेको भएपनि कसरी गर्ने भन्ने विषयमा कानून बन्न सकेको छैन ।

जसका कारण संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै कतिपय व्यापारीले कालोबजार गरिरहेको ढुंगेलको तर्क छ । मूल्य निर्धारण, विक्री वितरणको अनुगमन र नियमन गर्ने निकाय आफैं समस्याग्रस्त हुँदा आफ्नो अधिकारमाथि खेलवाड भइरहेको उपभोक्ता बताउँछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes