तस्करीको सुन गायव र हत्यामा एसएसपी मुछिए - Pahilo Online

तस्करीको सुन गायव र हत्यामा एसएसपी मुछिए

शनम शाक्य हत्यामा नयाँ मोड, अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनी हेडक्वाटर तानिए

writer

पहिलो अनलाइन

विराटनगर। मोरङको उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानको क्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनी नै घटनामा मुछिएका छन् ।

तस्करीको सुन गायब भएपछि मारिएका भरिया शाक्यको हत्या र गायब भएको साढे ३३ केजी सुनको बारेमा गरिएको अनुसन्धानको क्रममा घटनामा एसएसपी लोहनीको संलग्नता देखिएपछि गृह मन्त्रालयले उनलाई प्रहरी मुख्यालय तान्न पत्राचार गरेको छ ।

शाक्यको हत्या र तस्करीको सुन गायब प्रकरणमा लोहनीको संलग्नता भेटिएको गृहस्रोतले जनाएको छ । घटनाको छानिवन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सो प्रकरणमा लोहनीसँग पटक–पटक बयान लिएको थियो । सुन तस्करी र सनम हत्या प्रकरणमा कार्यक्षेत्र उल्लंघन गर्दै धरान र बिराटनगर आएर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लोहनीमाथि लागेको थियो ।

छानबिन समितिले मंगलबार र बुधबार एसएसपी लोहनीको बयान लिएपछि उनलाई दोषी ठहर गर्दै थप अनुसन्धानको लागि हेडक्वाटर तानेको हो । लोहनीलाई कस्तो कारबाही गर्ने भन्नेबारेमा छानविन समितिले निर्णय गर्न बाँकी नै छ । एसएसपी लोहनीसँगै महाशाखाका डीएसपी प्रजित केसी र प्रनानि बालकृष्ण संजेल पनि ३३ किलो सुन प्रकरणमा मुछिएका छन् ।

मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठन भएको समितिले लोहोनीलाई फिर्ता बोलाउन बिहीबार पत्राचार गरेको हो । लोहनी महाशाखामा हुँदा छानविन प्रभावित हुनसक्ने भन्दै समितिले उनलाई हेडक्वार्टर तानेको हो । प्रहरी प्रधान कार्यालयले भने पत्र हेडक्वार्टर आइनसकेको जनाएको छ ।

गएको फागुन १८ गते हत्या गरिएका सनम शाक्यको शव विराटनगरबाट गायब पार्ने प्रयासमा रहेको बेला प्रहरीले फेला पारेको थियो । उनको शवसँगै हत्यामा संलग्न ३ जना पक्राउ परेका थिए ।

घटनाको बारेमा प्रहरी मुख्यालयले अवकाशको मुखमा रहेका डीआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा पनि ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा एसएसपी बसन्त लामा, डीएसपी सुदीपराज पाठक र इन्स्पेक्टर भीष्म हुमागाई सदस्य थिए ।

फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा बरामद गरेको शाक्यको शवलाई दिउँसो बिराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको निश्कर्ष छ । अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगरमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा शाक्यको शव भेटिएको बताएको थियो ।

शाक्यको शवसँगै काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । तर, मुख्य सुन तस्करसम्म भने प्रहरी अझै पुग्न सकेको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes