पुलिसलाई हराउँदै आर्मी बिजयी - Pahilo Online

पुलिसलाई हराउँदै आर्मी बिजयी

स्ट्राईकर नवयुग श्रेष्ठ चम्किन सकेनन्, भरत खवासलाई फापेन घरेलु मैदान

writer

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको बुधबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

सेमिफाइनलमा स्थान सुरक्षित गरेको आर्मीले आगामी शुक्रबार रमपम झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल हुन सकेन ।

खेल अवधि भर पुलिसले उत्कृष्ट प्रदर्शन गरेपनि फिनिसिङ फितलो हुँदा पराजय व्यहोर्नु प¥यो । पुलिसले गोल गर्नका लागि पाएको आधा दर्जन अवसर सदुपयोग गर्न सकेन भने चारवटा अवसरमा आर्मी पनि चुकेको थियो ।

आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रहयो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोक्न सफल भए । आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो । पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोस्टको दिशा लिन सक्यो । निरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भयो । राईको प्रहार गोलरक्षक कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरिँदा आर्मी भाग्यमानी ठहरियो ।

खेल टाईब्रेरकमा जाने निश्चित भएपछि अन्तिम समयमा पुलिसले गोलरक्षक परिवर्तन गरेको थियो । सत्रु चौधरीका ठाउँमा मैदान प्रवेश गरेका रोशन खड्काको भूमिका सन्तोसजनक रहेन । आर्मीको पेनाल्टी सुटआउटलाई उनले नियाल्नसम्म पनि भ्याएनन् ।

घरेलु मैदान आर्मीका कप्तान भरत खवासका लागि अफापसिद्ध भयो । खेलभरी नै उनी जम्न सकेनन् । स्ट्राईकर नवयुग श्रेष्ठ पनि चम्किएनन् । डटेर नखेलिरहेका उनलाई घाइते भएपछि ५३ औं मिनेटमा विवेक बस्नेतले पालो दिनु परेको थियो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आशा गरिए अनुरुपको नतिजा प्राप्त हुन नसकेको बताए । उनले पहिलो हाफमा धेरै खेलाडी परिवर्तन गर्नु पर्दा पुलिसको दबाब झेल्नु परेको बताए । रक्षापंक्ती र पोस्ट एट्याकलाई मात्रै ध्यान दिएर खेलाडी मैदानमा उत्रिएको बताउँदै न्यौपानेले भने, ‘सुरुमै राम्रा खेलाडी गुमाउँदा जित निकाल्न सकिएन ।’ पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि नजिता निकाल्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले अन्तिम समयसम्म संघर्ष गरे पनि फिनिसिङमा समस्या आउँदा विपक्षीको पोल्टामा नतिजा गएको बताए ।

खेलको म्यान अफ दी म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बिहीबारको अन्तिम क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes