सशस्त्रलाई हराउँदै संकटा सेमिफाइनल प्रवेश - Pahilo Online

सशस्त्रलाई हराउँदै संकटा सेमिफाइनल प्रवेश

writer

पहिलो अनलाइन

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जिब्रेल नायक बने ।

६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । बंगलादेशको बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । ३० यार्ड टाढाबाट जिब्रेलले गरेको पावर सुटिङ प्रहारले पोष्टको दिशा लिँदा सशस्त्र दबाबमा प¥यो ।

पहिलो हाफसम्म दुबै टिमले बराबरी खेलेका थिए । २०७० सालको विराट गोल्डकप विजेता संकटाले जित निकाल्नका लागि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । २८ औं मिनेटमा जिब्रेलको प्रहार क्रस बारमा लागेर फकिंदा संकटाले अग्रता लिने अवसर गुमायो । रिबाण्ड बललाई विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरे पनि त्यसले सही दिशा लिन नसक्दा कठिन जितका लागि संकटाले ६१ औं मिनेटसम्म कुर्न प¥यो । ७९ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिँदा संकटाले दोस्रो गोल थप्न सकेन ।

पहिलो हाफमा एउटा पनि पोष्ट एट्याक गर्न नसकेको सशस्त्रले दोस्रो हाफपछि सुधारिएको प्रदर्शन गरे पनि नजिता आफ्नो पक्षमा पार्न सकेन । ७६ औं मिनेटमा हरि कार्कीको हेड प्रहारमा संकटाका गोलरक्षक सागर पिया बाधक बने । ८० औं मिनेटमा कार्कीकै सशक्त प्रहारलाई गोलरक्षक पियाले उत्कृष्ट ढंगले बचाएर आफ्नो टिमको संकट टारे । अन्तिम ८९ मिनेटमा सशस्त्रका विश्वास उदासको मध्य भागदेखिको प्रहारलाई पनि गोलरक्षकले विफल पार्दा संकटाको जित निश्चित बन्यो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो दर्जाका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताए । उनी २०७० सालमा संकटाले विराट गोल्डकप जित्दा टिम कप्तान थिए । खड्गीले मैदानमा जुनियर खेलाडी उत्रिए पनि उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘आगामी दिनको प्रतिष्पर्धाका लागि अर्को टिमको खेल हेरेर रणनीति बनाइने छ,’ उनले भने ।

सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले नयाँ खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिए । खेलाडीले रणनीति अनुसार कौशलता प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ‘केही राम्रा अवसर सिर्जना भएका थिए,’ उनले भने, ‘ती अवसरको सदुपयोग हुन नसक्नु हारको मुख्य कारण बन्यो ।’ महर्जनले फिनिसिङ टच दिन पनि आफ्ना खेलाडी चुकेको बताए । नयाँ मैदान हुँदा र खेलाडीबीच आपसी तालमेल नमिल्दा नतिजा विपक्षीको पोल्टामा परेको उनको प्रतिक्रिया छ ।

खेलको म्यान अफ् दी म्याच संकटाका जीब्रेल घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes