काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको लागि एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित कार्यदलले २ बुँदा बाहेक अन्य सबै विषयमा सहमति जुटाउँदै प्रतिवेदन तयार गरेको छ ।
बुधबार बसेको कार्यदलको बैठकले पार्टी विधानको प्रस्तावनामा जनयुद्ध राख्ने कि नराख्ने र चुनाब चिन्ह सूर्य राख्ने कि फेर्ने भन्ने विषय बाहेक सबै विषयमा सहमति जुटाएको हो ।
विधानको प्रस्तावनामा जनयुद्ध राख्ने माओवादीको प्रस्तावमा एमाले सहमत भएको छैन भने एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने कुरामा माओवादी सहमत भएको छैन । माओवादीले सूर्य चिन्हभित्र हँसिया हथौडा राख्न प्रस्ताव गरेको छ भने एमालेले प्रस्तावनामा जनयुद्धको साटो संविधानमा प्रयोग भएजस्तै सशस्त्र संघर्ष राख्न प्रस्ताव गरेको छ ।
सहमति नजुटेको दुईवटा विषयलाई पार्टी एकता संयोजन समिति बैठकले टुंगो लगाउनेगरी कार्यदलले प्रतिवेदन तयार गरेको कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो । एमाले नेताहरुले भने चुनाब चिन्हमा यसअघि माओवादी सहमति भइसकेको भन्दै संयोजन समितिले टुंगो लगाउने बताएका छन् ।
के छ प्रतिवेदनमा ?
कार्यदलले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने र ९ तहका संरचना निर्माण गर्ने सहमति जुटाएको छ । पार्टीमा सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हुनेछ । त्यस्तै एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनको बीचमा काम गर्ने राष्ट्रिय परिषद बन्ने भएको छ ।
कार्यदलमा २९९ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय भएको छ । यस्तै पोलिटव्यूरो ९९ सदस्यीय र ३३ सदस्यीय स्थायी कमिटी हुनेछ । पार्टीमा महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी (प्रतिनिधिसभा र प्रदेशसभा अलग–अलग), स्थानीय तह, वडा र प्रारम्भिक कमिटी रहनेछन् । केन्द्रीय कमिटीभन्दा तल प्रदेश कमिटी रहनेछन् ।
प्रदेश कमिटी १५० सदस्यीय रहने प्रस्ताव गरिएको छ । प्रदेशपछि जिल्ला कमिटी रहनेछन् । जिल्ला कमिटीको संख्या न्युनतम ७५ देखि अधिकतम १२५ सम्म रहनेछ । जिल्लामा निर्वाचन क्षेत्रको संख्याका आधारमा कमिटीको संख्या घटी बढी हुनेछ ।
जिल्लामुनी निर्वाचन ७५ सदस्यीय क्षेत्रीय कमिटी हुनेछन् । त्यस्तै महानगर कमिटी पनि ७५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । उपमहानगर कमिटी ६१ सदस्यीय हुनेछन् । कार्यदलले नगरपालिका कमिटी र गाउँपालिका कमिटीहरु ५१ सदस्यीय हुने गरी प्रस्ताव गरेको छ । यस्तै वडा कमिटी २५ सदस्यीय हुनेछन् भने प्रारम्भिक कमिटी १५ सदस्यीय हुनेछन् ।
नेकपा एमाले र नेकपा माओवादीबीच प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता गर्ने समझदारी भएपनि सहमति नजुटेका विषयको कारण एकताको मिति अन्यौलमा छ ।