विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता - Pahilo Online

विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता

writer

सरोज बस्नेत

उर्लाबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धिको लागि शब्दमा मात्र नभई जनताले अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको छ ।

मोरङकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसको १८ औं चुनाबी क्याम्पस सभा तथा ३० औं बार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले अबको मुख्य मिसन नै विकास र समृद्धि रहेकोले त्यसमा सबै लागिपर्नुपर्ने बताउनुभयो ।

विगतमा राजनीतिक अस्थिरताका कारण देशले विकास र समृद्धिको बाटो समाप्त नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले तीन तहको निर्वाचनपछि स्थायी शान्ति र स्थिरता कायम भएकोले अब समृद्धि र विकासको एजेण्डामा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । जनताले चाहेको समृद्धिको चाहना पूरा गर्ने तीनवटै तहका सरकारबीच सहकार्य हुनुपर्ने पनि उहाँले बताउनुभएको छ ।

१ नम्बर प्रदेश आफैमा धेरै संभावनायुक्त रहेकोले थोरै पहल गरेपछि समृद्ध बन्ने मुख्यमन्त्रीको भनाइ छ । ‘हामीसँग संसारकै अग्लो हिमाल सगरमाथा छ । अन्य अग्ला हिमाल पनि छन् । थुप्रै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व बोक्ने त्यस्ता केन्द्र पनि छन् । पर्यटकीय गन्तव्य छन् । हामीले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘तीव्र गतिको सडक सञ्जालले प्रदेशलाई भारत र चीनसँग जोड्ने तथा सूचना र प्रविधिको विकासमा ध्यान दिनुनेगरी काम गर्नुपर्छ ।’

स्मार्ट सिटीको अवधारणाअन्तर्गत काम प्रदेश सरकारले काम गर्ने बताउँदै मुख्यमन्त्री राईले अहिले कानुन निर्माण र योजना निर्माणको चरण भएको बताउनुभयो । सरकारले विकास र समृद्धिको लागि ठोस नीति तथा कार्यक्रम निर्माण गरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले सामुदायिक क्याम्पसले भौतिक पूर्वाधार तथा शैक्षिक र आर्थिक सुधार गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अबको शिक्षा ब्यवहारिक र बैज्ञानिक हुनुपर्ने बताउँदै उहाँले युवाहरु बैदेशिक रोजगारमा पलायन हुने क्रम रोक्नका लागि पनि ब्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने मानबहादुर फागो, गंगाप्रसाद बाँस्तोला, दुर्गाप्रसाद भट्टराई, जीवनाथ लुइँटेल, शिवप्रसाद ढकाल र तेजेन्द्र दुलाललाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes