न्याय नपाए आत्मदाह गर्ने चेतावनी - Pahilo Online

न्याय नपाए आत्मदाह गर्ने चेतावनी

न्यूरो हस्पिटल विराटनगरको लापरबाहीले बिरामीको मृत्यु भएपछि आफन्तको आक्रोश

writer

विराटनगर । उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै विवाद उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् ।

देब्रे तिघ्राको हड्डी भाँच्चिएर उपचार गराउन आएकी सिरहा नगरपालिका छारपट्टिकी २५ वर्षीया रंजीता साहको उपचारको क्रममा मृत्यु भएपछि विवाद भएको हो । गएको फागुन २८ गते जनकपुरबाट एउटा विवाह समारोहमा सहभागी भएर फर्किने क्रममा श्रीमान वीरेन्द्रसहित जीप दुर्घटनामा परेकी मृतक साहको देब्रे तिघ्राको हड्डी भाँच्चिएको थियो ।

उनलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्यूरो अस्पताल ल्याइएको थियो र अर्कोदिन उनको तिघ्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया अघिसम्म सामान्य अवस्थामा रहेकी साहको शल्यक्रिया भएपछि अवस्था बिग्रिँदै गएको र मंगलबार बिहान उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

सिकारु चिकित्सकहरुले शल्यक्रिया गरेकै कारण बिरामीको स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको मृतकका श्रीमान विरेन्द्र साहले बताए । हड्डी भाँच्चिएकै कारण मात्रले बिरामीको मृत्यु हुन नसक्ने मृतक पक्षले आरोप लगाइरहँदा अस्पताल प्रशासनले भने घटनामा चिकित्सक र अस्पतालको कुनै पनि लापरवाही नभएको दाबी गरेको छ ।

बिरामीको विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डाक्टर सिलवन्त श्रीवास्तवले अपरेशन गरेको अस्पताल पक्षले जनाएको छ । विरामीलाई फ्युमर फ्याक्चर भएको र सोहीबाट फ्याटी इम्बोलिज्म भएर बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । तिघ्राको मोटो हड्डी भाँच्चिएपछि हड्डीभित्र रहने बोनम्यारो नशामार्फत किड्नीमा गएको र सोही कारणले किड्नी फेल भएर बिरामीको मृत्यु भएको अस्पतालका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईको भनाइ छ । उहाँले विधि र प्रक्रियाअनुसार नै विरामीको उपचार गर्दागर्दै बचाउन नसकिएको दाबी गर्नुभयो ।

अस्पताल पक्षले गरिरहेको दाबीलाई मृतक पक्षले भने अस्वीकार गरेको छ । उनीहरुले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अपरेशनमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिरामीको उपचारमा लापरबाही गरेर अस्पतालले आफूमाथि अन्याय गरेकाले न्याय नपाए आफूले आत्मदाह गर्ने मृतकका श्रीमान वीरेन्द्रले चेतावनी दिएका छन् ।

मृतक र अस्पताल पक्ष दुवैले आ–आफ्नो पक्षमा दाबी गरिरहेकाले घटनाको बिषयमा छानबिन आवश्यक छ । घटनामा लापरबाही भएन भएको विषयमा विज्ञहरुको टोली गठन गरेर सत्यतथ्य पत्ता लगाउनु आवश्यक छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes