एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष चयन - Pahilo Online

एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष चयन

एक जना मात्र महिला केन्द्राध्यक्ष

writer

पहिलो अनलाइन

विराटनगर । चैत ८ गतेदेखि हुन लागेको एसइइ परीक्षाको केन्द्राध्यक्ष मोरङमा टुंगो लागेको छ । राजनीतिक भागबण्डा नमिल्दा यसअघिका परीक्षाका केन्द्राध्यक्षभने परीक्षा हुने अघिल्लो दिन मात्रै टुंगो लाग्ने गरेको थियो ।

परीक्षाका लागि केन्द्राध्यक्ष चयनको निर्देशिका स्पष्ट आएका कारण केन्द्राध्यक्ष चयनमा विवाद नदेखिएको हो । यसपटकको परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो । ‘प्रधानाध्यापकको मापदण्ड नपुगेको अवस्थामा अन्य विद्यालयका प्रअ तथा स्थायी माविस्तरका शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको छ,’ पुरीले भन्नुभयो ।

शिक्षा कार्यालयका अनुसार एसइइ परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । ‘परीक्षाका लागि प्रश्नपत्र र आवश्यक डकुमेन्ट सबै केन्द्रमा पुगेको छ,’ पुरीले भन्नुभयो, ‘अब परीक्षा सुरु भएर सम्पन्न गर्न हामी पूर्णरुपमा तयार छौं ।’

मोरङमा ६९ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये ६७ वटा नियमित विद्यार्थीका लागि र पुरक परीक्षाका लागि २ वटा केन्द्र तोकिएको छ । मोरङमा ५७ जना सम्बन्धित विद्यालयका प्रअलाई केन्द्राध्यक्ष तोकिएको छ भने अन्यलाई अन्य विद्यालयका प्रअ तथा शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको छ ।

मोरङमा यस पटक १७ हजार ७ सय ५९ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुँदैछन् । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत गरी १ सय ८९ वटा गरी ३ सय ६८ वटा विद्यालय रहेका छन् । यस पटकको परीक्षामा नियमिततर्फ १७ हजार १ सय ४० र इक्जाम्टेडतर्फ ६ सय १९ जना विद्यार्थी सहभागी हुनेछन् ।

सहायक केन्द्राध्यक्ष भने जिल्लामा बढीमा ७५ जना मात्रै राख्ने शिक्षा कार्यालयले जनाएको छ । विगतका परीक्षामा चिट चोराउने, विभिन्न अवान्छित गतिविधि हुने गरेको थियो । यस पटकको परीक्षा विगतभन्दा व्यवस्थित हुने शिक्षा कार्यालयको दाबी छ । चैत ८ गतेदेखि सुरु हुने एसइइ परीक्षा २० गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म गराउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एक जना मात्रै महिला केन्द्राध्यक्ष
परीक्षाका लागि मोरङमा १ जना मात्रै महिला केन्द्राध्यक्ष चयन भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । समावेशीताको कुरा उठिरहँदा मोरङमा ६८ जना पुरुष केन्द्राध्यक्ष चयन हुँदा एक जना महिलालाई मात्रै केन्द्राध्यक्ष तोकिएको हो ।

रतुवामाई नगरपालिकास्थित सरस्वती मावि कल्याणपुरकी प्रअ नर्वदा अधिकारीलाई सोही केन्द्रको केन्द्राध्यक्ष तोकिएको छ । मोरङमा उनी मात्रै महिला केन्द्राध्यक्ष हुन सफल भएकी हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes