बेहुला भागेपछि ३५ लाख जरिवाना - Pahilo Online

बेहुला भागेपछि ३५ लाख जरिवाना

विवाहकै भोलिपल्ट भाग्नुको कारण यस्तो

writer

पहिलो अनलाइन

विर्तामोड । झापाको बुद्धशान्तिका एक युवाले बिबाहको भोलिपल्टै बेहुली छाडेर भागेपछि परिवारले ३५ लाख रुपैयाँ जरिवाना तिरेको छ ।गएको फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि परिवारले बेहुली फिर्ता गर्दै ३५ लाख रुपैयाँ जरिवाना तिरेको हो ।

बिबाह गरेको भोलिपल्टै बेहुला फरार भएपछि त्यसको उजुरी बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा पुगेको थियो । गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि राकेशका बाबु लालप्रसाद रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत रकम दिने सहमति गरेको न्याययिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो ।

राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । उनीहरुको बिबाह भने १० महिना अगाडि नै टुंगो लागेर टिकाटालो गरिएको थियो । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम सम्पन्न भएपछि राकेश बेहुली छाडेर भागेका थिए ।

बेहुली छाडेर भारत पुगेका राकेशलाई आफन्तको सहयोगमा झापा ल्याएपछि अहिले उनी इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा छन् । हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताएको प्रहरीले जनाएको छ । १० महिना अगाडि नै बिहे छिनेर टिकाटालो गरेर विवाहपछि भाग्नुले आपूmहरुको बद्नामी भएको बेहुली पक्षले जिकिर गरेका छन् ।

राकेशका बाबु लालप्रसाद रेग्मीले पनि छोरामा शारीरिक समस्या रहेको कारण उसले बेहुली छाडेको स्वीकार गरेका छन् । उनले बेहुलीको भविश्य नबिग्रियोस् भनेर भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख दिने सहमति गरेको बताए ।

आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि बेहुला पक्षले रकम दिने लिखित सहमति भएको थियो । तर, उनीहरुबीचको बैबाहिक सम्बन्ध कसरी अन्त्य गर्ने भन्ने निश्चित भइसकेको छैन । बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ ।

यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ दिनभित्र दिने सहमति रेग्मी परिवारले गरेको छ ।

दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी युवतीले केटा विदेशमा रहेको र टिकाटालोपछि फोनमा आफूहरुको सामान्य कुरा भएको बताएकी छन् । बिहेको दिन केटाको घर पुगेपछि राकेशले श्रीमतिको मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएका थिए । त्यसपछि दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको बेहुलीको भनाइ छ ।

केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको पीडितले न्याययिक इजालसमा बताएकी थिइन् । दुई दिनसम्म राकेश घर नफर्किएपछि उनले माइतमा जानकारी गराएकी थिइन् ।

तीन वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीमा रहेका राकेश विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए । प्रहरी हिरासतमा रहेका उनको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes