शान्ति सम्झौता विरुद्ध सर्बोच्चको अर्को आदेश - Pahilo Online

शान्ति सम्झौता विरुद्ध सर्बोच्चको अर्को आदेश

कमाण्डरले उपराष्ट्रपतिको सपथ लिँदैगर्दा सिपाही जेल चलान

writer

पहिलो अनलाइन

विराटनगर । राज्य विरुद्ध १० वर्षे सशस्त्र विद्रोह गरेको माओवादीका विद्रोही फौजका कमाण्डर नन्दबहादुर पुन दोस्रो कार्यकालको लागि उपराष्ट्रपति पदमा चुनिएका छन् । विद्रोहका राजनीतिक कमाण्डर प्रचण्ड २ पटक प्रधानमन्त्री भइसके । एक जना कमाण्डर वर्षमान पुन हाल उर्जामन्त्री छन् भने अर्का कमाण्डर महेन्द्र बहादुर शाही ६ नंं प्रदेशको मुख्यमन्त्री छन् । तर, तिनै कमाण्डको आदेश पालना गर्ने एक सिपाही भने थुनामा छन् ।

मोरङको सिद्राहा स्थित घरबाट गत मंसिर ८ गते निर्वाचन विरोधी गतिबिमिा लागेको भन्दै पक्राउ गरिएका माओवादीका पूर्वलडाकु झलकुमार भगत अहिले थुनामा छन् । माओवादी विद्रोहमा लागेको आरोपमा शान्ति सम्झौता विपरित उनलाई नेपाली सेनाले जेल चलान गरेकोमा सर्बोच्च अदालतले त्यसलाई सदर गरेको छ ।

तत्कालिन शाही नेपाली सेनामा कार्यरत रहेका भगत माओवादी विद्रोह चर्किएको बेला २०६२ साउन ८ गतेका दिन विद्रोह गरी माओवादीको जनमुक्ति सेनामा समाहित भएका थिए । त्यसबेला भगतलाई माओवादीका कमाण्डहरुले भव्य स्वागत गरेका थिए । सेनाको विष्णुदल गुल्मबाट हतियारहरुसहित माओवादी जनमुक्ति सेनाका सामेल भएका उनलाई शान्ति सम्झौता भएको ११ वर्षपछि नेपाली सेनाले भगौडा सैनिक भन्दै गत पुस १४ गते सर्बश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

भगतको मुद्दा शान्ति सम्झौता अनुसारको विषय रहेको भन्दै सेनाको फैसला विरुद्ध उनका दाजु नन्दुलालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकोमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आइतबार रिट खारेज गर्दै सैनिक अदालतको फैसला सदर गरेको हो ।

निर्वाचन विरोधी गतिबिधिमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेका भगतलाई सेनाको जिम्मा लगाएको थियो । सेनाले शान्ति सम्झौता अनुसारको विषय भएपनि सैनिक ऐन अनुसार फैसला गर्दै भगतलाई जेल चलान गरेको हो । भगत अहिले केन्द्रीय कारागार जनगन्नाथदेवलमा छन् ।

यो फैसलाले प्रचण्डहरुले आव्हान गरे अनुसार तत्कालिन शाही सेनाबाट हतियार सहित विद्रोह गरी जनयुद्धमा सामेल भएका सबैलाई मुद्दा चलाउँदै थुनामा राख्ने बाटो खोलिदिएको छ । यो फैसलाले एकातिर २०१६ सालको राजासर्वोच्च कमाण्डर भएको सैनिक ऐनलाई ब्युँत्याएको छ भनें अर्कातिर बिस्तृत शान्ति सम्झौता समेतलाई इन्कार गरेको छ । शाही सेनालार्ई विद्रोह गर्न आव्हान गर्ने तत्कालीन जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डलाई पनि यस आधारमा मुद्दा लगाई थुन्नसक्ने बाटो खुलेको छ ।

भगतको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, मुक्ति प्रधान, रमणकुमार श्रेष्ठ, तुलसी भट्ट, एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, दीनमणि पोखरेल, डा. पुन्यप्रसाद खतिवडा, कान्तिराम ढुङ्गानालगायतले बहस गरेका थिए । रिट खारेज गर्ने सर्वोच्चको फैसलाले जनयुद्धमा सामेल भएका सबैलाई मुद्दा चलाउँदै थुनामा राख्ने बाटो खोलिदिएको कानुनविद्हरुले टिप्प्णी गरेका छन् ।

यसअघि शान्ति सम्झौतासँगै जोडिएको ओखलढुंगाको एक घटनामा सर्बोच्चले कैदको फैसला गरेपछि बालकृष्ण ढुंगेलसहितका माओवादी नेताहरु जेलमै छन् । सो मुद्दामा पनि मृतक भनिएकाको शवसमेत फेला नपरेको अवस्थामा सर्बोच्चले कैदको आदेश दिएको थियो ।

भगतलाई हिरासतमा राख्ने सेनाको कामको विरोध गर्दै आएको नेकपा माओवादी केन्द्रले सर्बोच्चको यो फैसलाबारे कुनै प्रतिक्रिया दिएको छैन । विद्रोहका आह्वान गर्नेहरु सत्तामा रहेको बेला विद्रोहमा सामेल हुनेहरुलाई जेलमा बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण देखिएको छ ।

भगतका ९ र ३ वर्षीय छोराहरु वृद्ध हजुरबुवासँग बस्दै आएका छन् भने श्रीमती वैदेशिक रोजगारीमा छन् ।

मा प्रकाशित

1 thought on “शान्ति सम्झौता विरुद्ध सर्बोच्चको अर्को आदेश

  1. In my openion he has to be freed and he has not done any crime he is just followed the rule which command has been given to him

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes