काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन ‘पासाङ’ निर्विरोध निर्वाचित हुनुहुने भएको छ । उपराष्ट्रपति पदको लागि बहालवाला उपराष्ट्रपति पासाङले शनिबार उम्मेदवारीको मनोनयन दर्ता गर्नुभएको छ ।
यसअघि राष्ट्रपति पदमा उम्मेदवारी दिएको नेपाली काँग्रेसले उपराष्ट्रपति पदमा उम्मेदवारी नदिने बताएकोले पासाङ निर्बिरोध हुने निश्चित भएको छ ।
राष्ट्रपतिमा वाम गठबन्धनले विद्यादेवी भण्डारीलाई दोहोर्याएपछि उपराष्ट्रपतिमा पनि पासाङलाई नै दोहोर्याउन लागेको हो । उहाँको उम्मेदवारी दर्तामा एमालेका सुवासचन्द्र नेम्वाङ, भानुभक्त ढकाल, पर्शु मेघी गुरुङ तथा माओवादीका पम्फा भुषाल र रेखा शर्मा प्रस्तावक रहनुभएको छ । यस्तै माओवादीका देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र एमालेका राजेन्द्रप्रसाद गौतम समर्थक रहनुभएको छ ।
उपराष्ट्रपतिको निर्वाचन चैत ९ गतेको लागि तोकिएको भएपनि एकल उम्मेदवारी परेकोले पासाङ निर्बिरोध निर्वाचित हुने देखिएको छ । उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ।
उता राष्ट्रियसभाको उपाध्यक्षको लागि पनि शनिबार नै मनोनयपत्र दर्ता भएको छ । अध्यक्षमा नेकपा एमालेका गणेश तिम्स्निालाई निर्बिरोध निर्वाचित गरेको राष्ट्रियसभाले उपाध्यक्षको चयन भने निर्वाचनबाटै गर्नुपर्ने भएको छ ।
उपाध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले रानाको उम्मेदवारी दर्ता भएको हो । काँग्रेसले उम्मेदवारी दिएको भएपनि बाम गठबन्धनको भारी बहुमत रहेकोले दाहाल उपाध्यक्ष निर्वाचित हुने निश्चित छ ।
दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन भोलि आइतबार हुनेछ ।