जथाभाबी रुख काटिएको भन्दै मुख्यमन्त्रीको चासो - Pahilo Online

जथाभाबी रुख काटिएको भन्दै मुख्यमन्त्रीको चासो

वन कार्यालय भन्छः सरकारको नियमित कार्यक्रम हो, गलत भएको छैन

writer

विराटनगर । जिल्ला वन कार्यालयले चलाइरहेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको नाममा उत्तरी मोरङको चारकोसे जंगल फडानी भइरहेको भन्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले वन कार्यालयका कर्मचारीलाई स्पष्टिकरण लिनुहुने भएको छ ।

काठमाडौंमा रहनुभएका मुख्यमन्त्री राईले शुक्रबार प्रदेशका प्रमुख सचिब यादव कोइरालालाई फोन गरी वन फडानीको सूचना आएको भन्दै त्यसबारे बुझ्न वनका कर्मचारीलाई कार्यालयमा बोलाउन निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राई शनिबार विराटनगर फर्कने कार्यक्रम छ । जथाभाबी वन फडानी भइरहेको गुनासो आएपछि त्यसबारे बुझ्न वन कर्मचारीलाई बोलाइएको प्रमुख सचिब कोइरालाले जानकारी दिनुभयो ।

उत्तरी मोरङको वन कार्यालय र वन उपभोक्ता समितिसमेतको मिलेमतोमा जंगल फडानी भइरहेको सूचना आएपछि मुख्यमन्त्रीले त्यसबारे चासो लिनुभएको उहाँको सचिबालयले जनाएको छ । नियम विपरित वन फडानी भएको पाइएमा उपभोक्ता समितिहरुका पदाधिकारीसहित वन कर्मचारीमाथि पनि कार्वाही हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको निर्देशनपछि प्रमुखसचिब कोइरालाले त्यस बारेमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग जानकारी लिनुभएको थियो । आचार्यले पनि वन फडानीबारे जिल्ला वन अधिकृत डा. विनोद देवकोटासँग त्यसबारे जानकारी लिनुभएको थियो ।

जिल्ला वन कार्यालयले भने नेपाल सरकारको स्वीकृत कार्यक्रम र रेडबुकमा परेको योजना अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको बताएको छ । जिल्ला वन अधिकृत डा. विनोद देवकोटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत तोकिएको मापदण्डभित्र रुख कटान भइरहेको जानकारी दिनुभयो । जथाभाबी वन फडानी भएको र तस्कर तथा बन कार्यालयको मिलेमतो रहेको भन्ने कुरा झुटो भएको उहाँको भनाइ छ ।

‘सरकारको स्वीकृत कार्यक्रम अनुसार सामुदायिक वन र साझेदारी वनले वैज्ञानिक वन व्यवस्थापन गरिरहेका छन्’ अधिकृत देवकोटाले भन्नुभयो, ‘जथाभाबी बन फडानी भएको भन्ने गलत सूचना संप्रेशण भएकोले हामी त्यसबारे स्पष्ट पार्नेछौं ।’ सरकारको बजेट तथा नीति कार्यक्रम अनुसारको काम अगाडि बढेकोले त्यसमा कुनै गलत काम नभएको उहाँको स्पष्टोक्ति छ ।

वन कार्यालयका कर्मचारीहरुले कसैले दिएको गलत सूचनालाई सरकारका निकायले नै नबुझ्नु अनौठो भएको प्रतिक्रिया दिएका छन् । सूचना पाएपछि के हो भनेर मुख्यमन्त्रीको कार्यालयले सोध्न बोलाएको जानकारी दिँदै ति कर्मचारीले भने ‘त्यो सामान्य विषयलाई पनि ठूलो विषयको रुपमा प्रचार हुनु अनौठो हो ।’ प्रदेश सरकारमा वनमन्त्री भएपनि त्यसबारे मन्त्रालयले चासो नलिनु तर मुख्यमन्त्रीको कार्यालयले चासो लिनु पनि अनौठो देखिएको उनको भनाइ छ । वन फडानीको बारेमा प्रदेशका उद्योग, पर्यटन, वन वातावरण तथा पर्यटनमन्त्री जगदिश कुसियतले भने कुनै प्रतिक्रिया र चासो दिएको सार्वजनिक भएको छैन ।

वन मन्त्रालयले भने केही वर्ष अघिदेखि नै वैज्ञानिक वन व्यवस्थापन भन्दै पुराना रुखहरु कटान गर्ने र नयाँ रोप्ने नीति लिएको छ । जसअनुसार सुकेका, ढलेका र ८० वर्ष पुराना रुखहरु कटान गरेर नयाँ रोपिन्छ । यसैगरी बाक्लो भएमा स्थानका रुख पनि कटान गरिन्छ । वन कार्यालयले तोकेको मापदण्ड अनुसार अध्ययनपछि टाँचा लगाएका रुख मात्र काट्ने गरिएकोले गलत काम नभएको वन कार्यालयको दावी छ ।

जिल्ला वन अधिकृत देवकोटाका अनुसार हाल मोरङका २० वटा सामुदायिक वन र ४ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम चलिरहेको छ । यो प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र उदयपुरसहित देशभर सञ्चालन भएको कार्यक्रम हो । कार्यक्रम अनुसार कटान भएका काठ उपभोक्ताले प्रयोग गर्ने र बाँकी रहेमा मात्र लिलाम बिक्री हुने वन कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes