वर्षेनी ५ हजार आमाको पेट चिरिन्छ - Pahilo Online

वर्षेनी ५ हजार आमाको पेट चिरिन्छ

नर्मल अवस्थामा जन्मने शिशु पनि दुखाइ कम हुने भन्दै पेट चिर्ने गरिएको छ

writer

फायल फोटो

विराटनगर । मोरङका विभिन्न अस्पतालमा प्रत्येक वर्ष ५ हजारको हाराहारीमा गर्भवती महिलाले आफ्नो पेट काटेर शिशु निकाल्ने गरेको पाइएको छ ।

गर्भवतीले नर्मल अवस्थामा शिशुलाई जन्म दिने दरभन्दा शल्यक्रिया गरेर प्रसुती गराउनको संख्या बढिरहेको छ । मोरङका विभिन्न अस्पतालबाट प्राप्त विगत २७ महिनाको तथ्यांक हेर्दा ३२ प्रतिशत अर्थात् १३ हजार १७ जना महिलाको पेट काटेर शिशु जन्मिएका छन् भने झण्डै ६८ प्रतिशत अर्थात् २७ हजार ५ सय ३० जना महिलाको नर्मल अवस्थामा शिशु जन्मिएको देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७२÷०७३ मा १७ हजार ७ सय २८ जनामध्ये ५ हजार ९ सय ५९ जना शिशु शल्यक्रिया गरेरै जन्माइएको थियो । यस्तै २०७३÷०७४ मा भने १७ हजार ४ सय ११ जना मध्ये ५ हजार ५ सय २९ जना शिशु शल्यक्तिया गरेर जन्माइएको थियो ।

चालु आर्थिक वर्ष ०७४/७५ को असोज मसान्तसम्ममा ५ हजार ४ सय ८ जना शिशु मध्ये १ हजार ५ सय २९ जना शल्यक्रियाबाट जन्माइएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक शाखाका कर्मचारी दिपक भट्टराईले जानकारी दिनुभयो । विश्वव्यापी मान्यताअनुसार १० प्रतिशत गर्भवती महिलाले अपरेशन गरेर शिशु जन्माउनुलाई सामान्य मानिन्छ । तर, मोरङमा बच्चा जन्माउनेको दरमा ३२ प्रतिशत हुनु असामान्य भएको स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञहरु बताउँछन् । तर, यो वास्तविक तथ्यांक नभएको उनीहरुको भनाइ छ ।

‘सामान्यतया विश्वव्यापी मान्यता भनेको १० प्रतिशत मात्रै महिलाले अपरेसन गरेर बच्चा जन्माउनु उत्तम मानिन्छ,’ प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले भन्नुभयो, ‘प्रतिशत त्योभन्दा माथि गए सहज मानिदैन ।’ डाक्टर साहको भनाइमा विराटनगरमा बाहिरी जिल्लाबाट क्रिटिकल केशका गर्भवतीलाई ल्याउने गरेका कारण शल्यक्रियाको प्रतिशत बढेको हुनसक्छ ।

‘अझै पनि ग्रामिण क्षेत्रका कतिपय गर्भवती महिलाहरु हस्पिटलसम्म आउँदैनन्, उनीहरु घरमै बच्चा जन्माउँछन्,’ साहले भन्नुभयो, ‘त्यसकारण पनि यो संख्या र प्रतिशतमा धेरै अन्तर छैन, होम डेलिभरीको तथ्यांक जोड्ने हो भने १० प्रतिशतभन्दा बढी गर्भवती महिलाको अपरेशन गरेर बच्चा निकालिएको छैन जस्तो लाग्छ ।’

अपरेशन गर्नु राम्रो होइन
डाक्टर साहका अनुसार दुखाइ हुने भएको कारण अपरेशनका लागि गर्भवती महिला र आफन्तको दबाब आउने गरेको छ । ‘नर्मल अवस्थामा डेलिभरी हुने खालका गर्भवती महिलाले पनि दुखाई कम हुने भन्दै अपरेसन गर्न दबाब दिन्छन्,’ उहाँले भन्नुभयो, ‘तर, नर्मल अवस्थामा डेभिभरी गर्न सकिने महिलाको हकमा हामीले काउन्सिलिङ गर्ने गरिएको छ ।’ मोरङ सहकारी अस्पतालमा मात्रै गत वर्ष झण्डै ६२ प्रतिशत गर्भवती महिलाले अपरेशन गरेर बच्चा निकालेका थिए ।

स्वास्थ्यको दृष्टिकोणले प्राकृतिक हिसावले नै बच्चा जन्माउनु राम्रो हुने चिकित्सकहरुको भनाइ छ । ‘अपरेशन गर्दा इन्फेक्सन हुनसक्छ, हस्पिटलमा हप्ता दिनसम्म बस्नुपर्ने बाध्यता हुन्छ, अर्को तिर पुनः गर्भवती भएमा नर्मल हुने अवस्था कम भएर जान्छ’ डा.साहले भन्नुभयो । उहाँका अनुसार सामान्य अवस्थामा डेलिभरी हुने महिलाभन्दा अपरेसन गरेर बच्चा जन्माउने महिलाको शारिरिक अवस्था पनि कमजोर हुन्छ ।

हस्पिटलमा प्रसुति गराउने घटे
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हस्पिटलमा बच्चा जन्माउने दर घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा १७ हजार ७ सय २८ जना बच्चा जन्मिएका थिए भने ०७३/०७४ मा १७ हजार ४ सय ११ जना मात्रै बच्चा अस्पतालमा जन्मिएका छन् । यो संख्या आर्थिक वर्ष ०७२/०७३ मा भन्दा आर्थिक वर्ष ०७३/०७४ मा ३ सय १७ जनाले कम हो ।

आर्थिक वर्ष ०७४/७५ को असोज मसान्तसम्ममा ५ हजार ४ सय ८ जना बच्चा अस्पतालमा जन्मिएका छन् । यही दरले बच्चा जन्मिने हो भने मोरङमा आर्थिक वर्ष ०७४/०७५ मा भने झण्डै ३ हजारले बढ्नसक्ने देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes