मृत्युमाथि विभेद किन ? - Pahilo Online

मृत्युमाथि विभेद किन ?

writer

विष्णु पौडेल

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा अन्यन्तै हृदयविदारक घटना भयो । मृत्यु हरेक पल कण कणमा लुकेर बसेको हुन्छ । चाहे त्यो प्राकृतिक होस्, चाहे आकस्मिक । युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । घटनाको खबर क्षणभरमै संसारभरी फैलियो । संसारका अधिकांश मिडियामा बे्रकिङ न्यूज बन्यो । मृत्युलाई अड्कलबाजी गर्दै समचारको होडबाजी विगतजस्तै यसपाली पनि देख्न पाइयो । ह्दयविदारक भिडियो, फोटोहरु सामाजिक संजालमा यसरी हालियो कि मानौ ठूलै सफलता हात परेको थियो । नहुनु थियो, घटना भयो । चिनेका, नचिनेका, स्वदेशी, विदेशी सबैमा हार्दिक श्रद्धाञ्जली ।

प्रसंग सुरु गर्नुपूर्व नै क्षमा चाहन्छु कसैको पीडामाथि खेल्न खोजेको होइन । कसैको पीडालाई कम आँकलन गर्न चाहेको पनि होइन । मात्र देखेको, भोगेको केही घटना र प्रवृत्तिको उजागर गर्न मात्र खोजेको हो । नेपालमा दिनहुँजसो दुर्घटना हुन्छन् । दुर्घटनाका खवरहरु नआएको दिन सायदै होला । मानवीय पीडा सबैका उस्तै हुन् । कसैको पीडा धेरै, कसैको थोरै हुनै सक्दैन । अनि यसलाई तराजुमा राखेर तुलना गर्ने हैसियत देखाउने काम राज्यको होइन । म कठोर र अमानवीय बन्न खोजेको हुँदै होइन । कसैको मृत्युमा रमाउन चाहेको पनि होइन । मृत्यु सत्य हो । तर, दुर्घटनामा परी भएको मृत्यु सामान्य मृत्युभन्दा बढी पीडादायी हुन्छ सबैको लागि । त्यो पीडाले झुपडीमा बस्ने र महलमा बस्नेको तुलना गर्दैन । उच्चवर्ग र तल्लोवर्गबीच असमानता देखाउँदैन । पीडामात्र बन्छ । जब त्यो पीडालाई हेर्ने दृष्टिकोण फरक हुन्छ, अनि मानिसको मृत्युलाई तुलनात्मक रुपमा देखिन्छ । अनि स्वाभाविक रुपमा एउटा प्रश्न उठ्छ मृत्यु अर्थात् पीडामाथि यो विभेद किन ?

विष्णु पौडेल

मृत्यु र बेपत्ताको पीडालाई हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक पर्छ । समाज मात्र होइन, राज्यले यसलाई तुलना गरिदिन्छ । मापन गरिदिन्छ । अनि मिडियाले राज्यको हेराइलाई आम मानिसमा सत्य हो भन्ने भ्रम छरिदिन्छ । दुर्घटना दुर्घटना नै हो । त्यसबाट उत्पन्न हुने पीडाले सानो–ठूलो, गरिब–धनी भन्दैन । आर्थिक हैसियत, लोकप्रियता पीडाको मलम बन्नै सक्दैन । यो यथार्य हो । थाहा छैन, त्रिशुली नदीमा कतिजना बेपत्ता भए ? कति जनाको ज्यान गयो ? कतिजना सकुशल भेटिए ? कति जना घाइते भए ? कतिजना अपांग र अंगभंग भए ? कतिको सिन्दुर पुछियो ? कतिले अभिभावक गुमाए ? कति जीवनभर अपांग भएका होलान् ? यसको लेखाजोखा छैन । यी प्रश्नसँगै अर्काे प्रश्न उठ्छ, के राज्यले बेपत्ता सबै जनालाई खोज्नको लागि चासो दियो त ? अहँ दिएन ।

गत वर्ष त्रिशुली नदीमा बेपत्ता भएका पूर्वमन्त्री माधव घिमिरेको खोजी कार्यमा सरकारले जुन चासो दिएको थियो । राज्यको माथिल्लो निकायका मानिसहरु त्रिशुलीमा बेपत्ता हुँदा सरकारले दिने चासोप्रति धन्यवाद । तर, अर्काे पाटो सामान्य नागरिकले राज्यबाट अपेक्षा गर्ने यही चासो हो । तर, त्यो हुन सकेको छैन । भएको छैन । हरेक नागरिकको सुरक्षा राज्यको उत्तरदायित्वभित्र पर्दछ । राज्यको उपस्थिति मात्र भयो भने पनि नागरिकले सुरक्षित भएको महसुस गर्छन् । सानो उदाहरण । जहाज दुर्घटना हुन्छ, यात्रुहरुको मृत्यु हुन्छ । दुर्घटना भएको एक घण्टा नबित्तै छानविन समिति बन्छ । प्रधानमन्त्री र मन्त्रीहरु घटनास्थल पुग्छन् । सान्त्वना दिन्छन्, मिडिया अगाडि भावुक बन्छन् अनि फर्कन्छन् । भोलिपल्ट सबै सञ्चारमाध्यममा पाइलटको जीवनी छापिन्छ । प्रेमका कथाहरु बुनिन्छन् । फेसवुकमा अपलोड भएको अन्तिम स्टाटसलाई आधार मानी लामा–लामा कथाहरु बन्छन् ।

घटनास्थलमा राज्यको उपस्थिति हुनु राम्रो पक्ष हो । छानविन समिति बन्नुपर्छ । मिडियामा खबर आउनुपर्छ । अब अर्काे पक्ष हेरौं । राजमार्गबाट यात्रुवाहक बस नदीमा दिनहुँजसो खस्छन् । दिनहुँजसो एक दुईजनाको मृत्यु नभएको खबर सायदै होला । यात्रुवाहक बस दुर्घटना हुँदा न त सरकारका मन्त्रीहरु पुग्छन्, न त छानविन आयोग नै बन्छ । न त पीडितलाई सात्वना नै दिइन्छ । आम मानिस भन्ने गर्छन् ‘साला डाइभर’ले रक्सी खाएर चलाएको थियो अनि दुर्घटना भयो । त्यहाँ भौगोलिक अवस्थाको बारेमा कोही बोल्दैनन् । सडकको अवस्थाबारे कोही बोल्दैनन् । मिडियामा कुनै पेजमा औपचारिकता जस्तो गरी सामान्य समाचार बन्छ । दुर्घटनामा परी मरेर जाने गए, बेपत्ता भएकाहरुको खोजिनिति कसले गरिदिने ? आखिर आम मानिस नै परे । त्यत्ति चासोको विषय कसैको लागि बन्दैन । हो यही हो विभेद । सबै नागरिक राज्यको नजरमा समान हुन् । पीडा सबैको बराबर हो । उच्च तहका व्यक्तिहरु बेपत्ता हुँदा राज्यको सम्पूर्ण शक्ति लगाइन्छ । नभए विदेशबाट गोताखोर मगाइन्छ । सहयोग मागिन्छ । ठीक हो त्यही चासो किन सामान्य मानिसहरु बेपत्ता हुँदा दिइँदैन ? किन मानिस मानिसबीच राज्यले विभेद गर्छ ?

पीडाको पनि दररेट हुन्छ र ? जसलाई ट्याग लगाइन्छ । प्लेन दुर्घटनामा परी मृत्यु भएका यात्रु र बस दुर्घटना हुँदा मृत्यु भएका यात्रुहरुको मृत्युजन्य पीडा फरक छ र ? एउटा आम मान्छे दुर्घटना उसको आफन्तले झेल्नु परेको सास्ती र उच्चवर्गको मान्छे दुर्घटना हुँदा उसको आफन्तले झेल्नुपरेको सास्तीमा कहाँनिर फरक पर्छ ? राज्यको चासो सामान्य मान्छेहरुमा र अरुमा फरक किन पर्छ ? नारायणगढ मुग्लिङ काठमाडौं सडकखण्ड निर्माण भएको करिब ३ दशक पुरा भएको छ । २०३६ सालमा चीन सरकारको सहयोगमा सो सडक निर्माण भएको हो । पाँच वर्षभन्दा बढी समय लगाएर सडक निर्माण गरिएको थियो । सडक निर्माण भएसँगै हरेक तीन दिनमा एकजनाको दुर्घटना परी ज्यान जाने गरेको छ । तथ्यांक यस्तै बोल्छ । दुर्घटनामा बेपत्ता भएकाहरुको खोजिनीति गरिनुपर्छ । विमान दुर्घटनामा परेकाहरुको पीडा र सडक दुर्घटनामा परेकाहरुको पीडा एउटै हो ।

उच्च ओहदामा व्यक्तिहरुको परिवारमात्र होइन सामान्य मानिसहरुको पीडालाई सम्बोधन गरिनुपर्छ । खोज्दा खोज्दै नभेटिनु अर्काे पक्ष हो । तर, पहल नै नगर्ने परिपाटी राज्यको छ । बेपत्ता भएका आफन्तहरुले कुशको शव बनाएर तवमात्र जलाउन, जब सरकारले भेटिएन भनेर पुष्टि गरोस् । तर, यथार्थ यही हो । चाहे त्रिशुलीमा होस् वा कालिगण्डकीमा होस बस, ट्रक खसेर सयौंको ज्यान गएको छ । हजारौ अपांग भएका छन् । सयौ बेपत्ता भएका छन् । घटनाका उच्च ओदाहाको व्यक्तिको मृत्यु भयो भने मात्र छानविन समिति बन्ला, रिपोर्टहरु आउँलान् सामान्य नागरिकहरुको मृत्यु समाचार बन्ला अरु केही हुँदैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes