छोरी जन्मिइन् : भत्ता लिन महानगर जानुहोस् - Pahilo Online

छोरी जन्मिइन् : भत्ता लिन महानगर जानुहोस्

भ्रुणहत्या रोक्न र छोराछोरीमा हुने विभेद कम गर्न प्रोत्साहन रकम प्रदान

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिकाले छोरीमाथि गरिने विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ प्रोत्साहन रकम दिन थालेको हो ।

महानगरपालिकाको सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गरी पहिलो सन्तान छोरी जन्माउने १४ जनालाई प्रोत्साहन रकम वितरण गरियो । महानगरको गएको २३ साउन बसेको महानगरको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो ।

महानगरले छोरी बचाउन अभियान स्वरुप निश्चत दायारा पूरा गर्नेहरुलाई प्रोत्साहन रकम प्रदान गर्नेछ । प्रोत्साहन रकम पाउन विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसुति गराएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाएको हुनुपर्ने प्राबधान राखिएको छ ।

छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालेको महानगरका प्रमुख भीम पराजुलीले बताउनुभयो । प्रोत्साहन रकम प्राप्त गर्न महानगरमा निवेदन दिनुपर्छ । पहिलो चरणमा ३१ निवेदन परेको भएपनि १४ जना मात्र कार्यक्रममा सहभागी थिए । उनीहरुलाई महानगर प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

अन्य बाँकी रहेका र अब नाम दर्ता हुनेहरुलाई महानगरपालिको १९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण हुनेछ । समाजमा अझैपनि छोरा र छोरी भनेर विभेद हुने गरेको भन्दै महानगर प्रमुख पराजुलीले यो अभियानले विभेद कम गर्न सहयोग पुग्ने दावी गर्नुभयो । छोरा जन्मिँदा मात्रै खुशी हुने हाम्रो समाजका लागि महानगरपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी ल्याउने उपप्रमुख कार्कीको जिकिर छ ।

‘छोरी बचाउ गर्न यो अभियान सुरु गरेका हौं,’ उपप्रमुख कार्कीले भन्नुभयो, ‘महानगरपालिकाको पहिलो परिषद बैठकले निर्णय गरी छोरी जन्माउने आमालाई प्रोत्सान भत्ता दिन सुरु गरेका हौं ।’ गर्भावस्थामै छोरी भए गर्भ फाल्ने र भ्रुणहत्या कम गर्न पनि यो अभियान थालिएको उहाँको भनाइ छ ।

छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको विराटनगर–१८ की सुदिनदेवी मण्डलले बताउनुभयो । ‘मेरो छोरी जन्मिँदा ३ हजार मिल्यो,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाको यो कार्य निकै राम्रो लाग्यो । महानगरपालिकाले दिएको भत्ता छोरीको नाममा खाता खोली बचत गरिदिन्छु’ उहाँले भन्नुभयो । सुदिनदेवी जस्तै अन्य १३ जना आमा बनेकी महिलाहरुले प्रोत्साहन भत्ता पाएपछि हर्षित देखिन्थे ।

मा प्रकाशित

1 thought on “छोरी जन्मिइन् : भत्ता लिन महानगर जानुहोस्

  1. धेरै राम्रो काम !! धेरै राम्रो रिपोर्टिङ्ग !!!

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes