नागरिकको प्रश्न : ३३.५ किलो सुन कहाँ गयो ? - Pahilo Online

नागरिकको प्रश्न : ३३.५ किलो सुन कहाँ गयो ?

साढे ३३ किलो सुनकै कारण दुई युवाको हत्या भयो, तर सुन चाहिं कहाँ गयो ? प्रश्न प्रहरीतिर सोझिँदैछ

writer

पहिलो अनलाइन

विराटनगर । दुई हप्ताको बीचमा पूर्वको झापा र मोरङमा दुई जना सुन कारोबारीको हत्या भयो । हत्याको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीको प्रारम्भिक रिपोर्टमा उनीहरुको हत्या हुनुमा तस्करीको साढे ३३ किलो सुन हराउनु नै मुख्य भएको दाबी गरिएको छ ।

डेढ हप्ता अगाडि सुन कारोबारी भनिएका उर्लाबारीका सनम शाक्यको हत्या भयो । उनको हत्या भएको २४ घण्टापछि प्रहरीले विराटनगरबाट शाक्यको शवसहित ३ जनालाई पक्राउ गरेको थियो । ठिक त्यही दिनदेखि हराएका विर्तामोडका सुन व्यवसायी साजन मुखियाको पनि हत्या भएको सोमबार पुष्टि भयो । प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार मुखियाको हत्या हुनुमा पनि साढे ३३ किलो सुन हराउनु नै मुख्य कारण हो ।

मुखियाको हत्याको विषयमा प्रहरी के भन्छ ?

साजन मुखिया

मुखियाको शव फागुन २८ गते इलामको कोल्बुङमा फेला परेको हो । फागुन २० गते नै विर्तामोडमै हत्या गरी उनको शव इलाम लगिएको झापाका एसपी विष्णुबहादुर केसीले जानकारी दिएको खबर छ । ‘लेनदेनको विषयलाई लिएर मुखियाको हत्या भएको देखिन्छ,’ केसीले पत्रकार सम्मेलनमा भन्नुभएको छ, ‘थप विवरण पक्राउ परेकाबाट खुल्दै जानेछ ।’

प्रहरीले हत्याको अभियोगमा विर्तामोडको कृषिथोक लाइनमा ऋद्धिसिद्धि ज्वेलर्स सञ्चालन गर्ने पारस देवलाई पक्राउ गरेको छ । यस्तै उनको पसलमा काम गर्ने दिपेश पौडेल र चिरञ्जीवी ओलीलाई समेत पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार भारतबाट अवैध रुपमा सुन आयात गर्ने देव र मुखियाबीच कारोबारमा विवाद भएको थियो ।

प्रहरीका अनुसार अवैध सुन धन्दाका क्रममा देवले मुखियालाई ७० लाख रुपैयाँ बढी तिर्नुपर्ने भएपछि उनीहरूबीच विवाद बढेको थियो । त्यसक्रममा देवले मुखियालाई विर्तामोड–५ स्थित उनकै घरमा बन्धक बनाएर फागुन २० गते नैै हत्या गरेको प्रहरी सामु बयान दिएका छन् । यता इलाका प्रहरी कार्यालय विर्तामोडमा डिएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको हत्या अवैध सुनको तस्करीको लेनदेनकै क्रममा भएको हो । विर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुखिया फागुन २० गते श्रीमती रविनालाई बजार जाने भन्दै घरबाट हिँडेका थिए । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य मुखियाको हत्याको विरोध गर्दै मंगलबार विर्तामोडमा व्यवसायीले बजार बन्द गराएका छन् ।

सनमको हत्याबारे यस्तो थियो प्रहरीको भनाइ

सनम शाक्य

शाक्यको शव भेटेसँगै प्रहरीले घटना हुनुमा सुन तस्करी मुख्य कारण भएको भन्दै अनुसन्धानलाई अझै व्यापक बनाएको बताएको छ । ‘फागुन महिनाको पहिलो हप्तातिर चिनबाट साढे ३३ किलो सुन नेपाल हुँदै भारत लैजान ल्याइएको थियो,’ उच्च प्रहरी अधिकारीले भने, ‘मृतक सनम, पक्राउ परेका टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्ले भरिया भएको बेला सुन गायब भएपछि यो घटना भएको देखिन्छ ।’

प्रहरी स्रोतका अनुसार १५ गते सनम घरबाट हिंडेका थिए । ‘सुन गायव भएपछि, सनमसहित टेकराज, नरेन्द्र, मोहनलाई सुन तस्करका बोसद्वारा सिरहाको लाहान झिकाइयो,’ स्रोतले भन्यो, ‘लाहानमा पटकपटक सनम, नरेन्द्र र मोहनलाई यातना दिइएको थियो ।’ प्रहरीले दिएको जानकारी अनुसार यातना दिने क्रममा गाडीका ड्राइभरसमेत रहेका मल्लले पालैपाले ३ जनालाई कहिले करेण्ट लगाउने, कहिले कुटपिट गर्ने जस्ता यातना दिएका थिए । लाहानबाट सुन गायव भएको विषयमा कुनै सूचना प्राप्त गर्न नसकेपछि ‘बोस’ काठमाडौं फर्किएका थिए भने अन्य व्यक्तिहरु २ दिनसम्म इटहरी र धरानमा बसेका थिए ।

त्यसबीचमा पनि तस्करहरूले उक्त समूहलाई निरन्तर ‘टर्चर’ दिइरहेका थिए । १७ गते बेलुका तस्करीका नाइकेका केही व्यक्तिसहित सनमसहितको टोलीलाई लिएर हत्या भएको स्थान उर्लाबारी–१ स्थित सोल्टी खोला किनारको जंगलममा पुगेका थिए । त्यहाँ रातभर र भोलिपल्ट अबेरसम्म यातना दिने क्रममा समनको मृत्यु भएको प्रहरीको अनुमान छ ।

उर्लाबारीका स्थानीयले भने सनम शाक्य हत्यामा संलग्नलाई कारबाही गर्न मागसहित संघर्ष समिति नै गठन गरेका छन् । जनप्रतिनिधिसहितको भेलाले स्थानीय कृष्ण प्रधानको नेतृत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिले शाक्यको हत्यामा उर्लाबारी ७ घर भएका गोरे नामले चिनिने चुँडामणि उप्रेतीको मुख्य संलग्नता रहेको दाबी गर्दै आएको छ ।

शंका प्रहरीतिर पनि सोझिएको छ

‘मेरो विचारमा सुन गायब गर्नुमा प्रहरीको पनि हात हुनसक्छ,’ सनम शाक्यको हत्या भएको विषयमा नजिकबाट हेरिरहेका एक व्यक्तिले भनेका छन्, ‘यो काण्ड मत्थर नहुन्जेल तस्करीमा संलग्न थुप्रै अरु सुन व्यवसायीको हत्या हुनसक्छ ।’

यद्यपि प्रहरी संगठन सुन तस्करीमा लागेको आरोप बेलाबेलामा नलागेको होइन । नेकपा एमालेका नेता बामदेव गौतम गृहमन्त्री भएका बेला सुन तस्करी उनै गृहमन्त्रीले गरेको विषय अझै पनि राजनीतिक वृत्तमा चर्चा छ ।

प्रहरी उच्च स्रोतले नै साढे ३३ सुनको कारण सनम र साजनको हत्या भएको जानकारी दिएको भएपनि उक्त सुन काहाँ गयो भन्ने विषयमा केही बताउन सकेको छैन । स्रोतका अनुसार साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक भएको आशंका छ । उच्च पदस्थ प्रहरी अधिकारी, राजनीतिक दलका नेता तथा अन्तराष्ट्रिय दबाबका कारण उनलाई पक्राउ गर्न सकिएको छैन ।

तर, साढे ३३ किलो सुनको विषयमा हत्या भएको घटना सार्वजनिक गर्ने प्रहरीका लागि उक्त सुन काहाँ गयो र सुन तस्करका नाइके को हुन् भन्ने विषय सार्वजनिक गर्नुपर्ने दबाब उत्तिकै बढेको छ । सुन तस्कर र तस्करीको सुनको विषयमा सत्यतथ्य विस्तारै खुल्दै जाला तर यसको चर्चा र बहस भने विभिन्न कोणबाट भइरहेका छन् । नागरिकको अनुसन्धानको दायरामा सबै परिरहेकै छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes